एड्सबाट डेढ महिनामा ६ को मृत्यु
मेचीनगर अनलाइन
|
Wednesday, June 30, 2010
|
0 comments
झापा/ एड्सबाट झापामा डेढ महिनामा ६ को मृत्यु भएको छ । दुई महिला र चार पुरुषको मृत्यु भएको जिल्ला एड्स समन्वय समिति झापाले जनाएको छ । मृतक भद्रपुर, बाहुनडाँगी, दुवागढी र अर्जुनधारा गाविसका छन् ।
काँकरभिट्टास्थित नाइट चेस क्लबका अनुसार जेठमा गरिएको रक्त परीक्षणका क्रममा झापामा २२ जनामा एचआइभी भेटिएको छ । आठ सय ७३ को रक्त परीक्षण गर्दा नौ महिलासहित २२ मा एचआइभी फेला परेको हो । गत वर्ष दुई हजार सात सय ४० को रगत परीक्षण गर्दा २९ मा एचआईभी भेटिएको थियो ।क्लबले तीन सय ४४ पुरुष र पाँच यस २९ महिलाको रगत परीक्षण गरेको हो । एचआइभी भेटिनेमा अधिकांश वैदेशिक रोजगारमा गएर फर्किएकाहरू छन् । उनीहरूबाट श्रीमती हुँदै छोराछोरीमा समेत एचआइभी सरेको पाइएको क्लबका कार्यक्रम अधिकृत गोविन्द न्यौपानेले बताए ।
स्वेच्छिक परामर्श तथा रक्त परीक्षण केन्द्रमार्फत क्लबले रगत परीक्षणको व्यवस्था मिलाएको उनले जानकारी दिए । त्यसका लागि नेपाल परिवार नियोजन संघले पनि सहयोग उपलब्ध गराएको छ । 'यो जेठको मात्र तथ्यांक हो,' कार्यक्रम अधिकृत न्यौपानेले भने, 'नियमित रगत परीक्षण गर्ने हो भने यो संख्या बढ्न सक्छ ।' एचआइभी भेटिएकामध्ये २१ झापाका हुन् ।
जोखिमपूर्ण व्यवहारमा प्रत्यक्ष संलग्न नभएका गृहिणीमा पनि एचआइभी पाइएको क्लबले जनाएको छ । चार गृहिणी यसको सिकार भएका छन् । परीक्षण गरिएकामध्ये दुईमा सिरिन्जको साझा प्रयोग भएको पाइएको छ । एक बच्चा आमाबाट संक्रमणको सिकार भएका छन् । १७ संक्रमित विवाहित छन् । उनीहरूमध्ये सातका श्रीमान्-श्रीमती दुवै संक्रमित छन् । कार्यक्रम संयोजक सोमराज ढकालका अनुसार अहिले झापाका दुई नगरपालिका र १३ गाविसमा मोबाइल रक्त परीक्षणको व्यवस्था मिलाइएको छ । लागूऔषधको लतमा फसेका पाँच हजारभन्दा बढी युवा पनि एचआइभीको जोखिममा छन् I
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed