एनसेलले ल्यायो तिव्र इन्टरनेट सेवा
मेचीनगर अनलाइन
|
Wednesday, September 29, 2010
|
0 comments
काठमाडौ, आश्विन १४ - एनसेल (स्पाइस नेपाल) ले उच्च गतिको इन्टरनेट चलाउन मिल्ने सेवा सुरु गरेको छ । कम्पनीले एनसेलको सिम लिएर युएसबी डाटा कार्डबाट तारविहीन उच्च गतिको इन्टरनेट सेवा लिन पाउने भएका हुन् । भ्वाइस सेवाका साथै कम्पनीले पछिल्लो समयमा डाटा सेवा पनि तीव्र रूपमा विस्तार गरेको छ ।
गत महिनामा थि्रजी सेवा सुरु गरेको एनसेलले त्यसअघि डाटा सेवा प्रयोगकर्ताका लागि उपयोगी ब्ल्याकबेरी सेवा सुरु गरेको थियो ।'जुनसुकै स्थानमा सहज रूपमा इन्टरनेट सेवा पुर्याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो,' कम्पनीका प्रमखु कार्यकारी अधिकृत पासी कोइस्टिनेनले भने, 'व्यस्त दैनिक र प्रतिस्पर्धामा इन्टरनेटको पहुँच महत्त्वपूर्ण भएको छ । अब तारबिना जहाँसुकै तीव्र गतिको इन्टरनेट चलाउन सकिन्छ ।' यस सेवाअन्तर्गत कम्पनीको थि्रजी नेटवर्क भएको क्षेत्रका उपभोक्ताले ३ दशमलव ६ मेगावाइट्स प्रतिसेकेन्डका गतिमा इन्टरनेट चलाउन सक्छन् । बिहीबारदेखि ल्याएको यो सेवामा तीन वटा प्याकेज छन् ।
जसमा एक महिनामा ५ सय, १ हजार र ५ हजार मेगावाइट्स डाटा प्रयोग गर्न सकिन्छ । एक महिनामा ५ सय मेगावाइट्स डाटा प्याकेजको मूल्य ५ सय रुपैया तोकिएको छ । त्योभन्दा बढी प्रयोग गरिए प्रति मेगावाइट २ रुपैयाँ तिर्नुपर्छ ।
'यस्तै १ हजार मेगावाइट्स डाटा प्रयोग गर्ने प्याकेजका लागि महिनामा ८ सय ९९ रुपैयाँ बुझाउनुपर्छ,' उनले भने, '५ हजार मेगावाइट्सको डाटाका लागि ३ हजार ९ सय ९९ रुपैयाँ बुझाउनुपर्छ ।' यी सबैमा प्याकेजभन्दा बढी डाटा प्रयोग गरे प्रतिमेगावाइट डाउनलोड गरेको २ रुपैयाँ लाग्छ ।
यो सेवा लिन आवश्यक डाटा कार्डको किन्न १ हजार ९ सय ९९ रुपैयाँ र सिमको मूल्य ९९ रुपैया पर्छ । जसमा ५० रुपैयाँ ब्यालेन्स हुन्छ । 'डाटा सेवा प्रयोग गर्ने सिम रिचार्ज सामान्य सिम रिचार्ज कार्डबाट गर्न सकिन्छ,' कम्पनीकी कर्पोरेट सञ्चार अधिकृत सञ्जु कोइरालाले भनिन्, 'यी प्याकेजहरू पि्रपेड र पोस्टपेडमा पाइन्छ ।' कम्पनीले पहिलो सिम प्रयोग गरिरहेको उपभोक्ताले पनि उच्च गतिको सेवा लिन सक्ने जनाएको छ । तर अहिलेको सस्तो शुल्कमा सेवा लिन उनीहरूले माथिको प्याकेज लिनुपर्छ । यो सेवा
अहिले काठमाडौं उपत्यकाबाट सुरु गरिएको हो । छिट्टै मुलुकका अन्य भागमा पुर्याउने लक्ष्य रहेको उसले जनाएको छ ।
समाचार स्रोत :कान्तिपुर
Filed Under: प्रबिधि

0 comments
Trackback URL | Comments RSS Feed