• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

झापामा ४० प्रतिशत सहकारी पसल मापदण्डविपरीत सञ्चालन

                                
@
सुब्रत न्यौपाने, झापा


झापा, २३ असार

जिल्लामा सञ्चालन हुँदै आएका सुपथ मूल्यका सहकारीमध्ये ४० प्रतिशत मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । सहकारी डिभिजन कार्यालय झापाले गरेको अनुगमनका क्रममा ४० प्रतिशत सहकारी विद्यमान प्रावधानविपरीत सञ्चालन भएको पाइएको हो ।

गाउँमा खुलेका सहकारी पसललेे सहुलियत नदिएको सर्वसाधारणले गुनासो गरेपछि डिभिजन कार्यालयले सुपथ मूल्यका सहकारी पसलको अनुगमन गरेको थियो । कतिपयले अत्यावश्यक उपभोग्य सामान नराखी पसल सञ्चालन गर्दै आएको अनुगमनका क्रममा फेला परेको थियो ।

सार्वजनिक आपूर्ति तथा वितरण प्रणाली सहज बनाउन माओवादी नेतृत्वको सरकारले अघि सारेको 'गाउँगाउँमा सहकारी घरघरमा भकारी' कार्यक्रमअन्तर्गत ती सहकारी पसल खुलेका हुन् । त्यसका लागि सरकारले १ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको थियो । कार्यक्रमअन्तर्गत झापाका ३ नगरपालिका र ४७ गाविसमा ५२ सुपथ मूल्यका सहकारी पसल खुलेका थिए ।

आर्थिक वर्ष ०६५/६६ को बजेटमार्फत सरकारले १ लाखका दरले ३२ सय ६० वटा सुपथ मूल्यका सहकारी पसल खोल्न बजेट उपलब्ध गराएको थियो । तीमध्ये अझै ५१ जिल्लाका ८ सय ७५ गाविसमा पसल खुल्न सकेका छैनन् । प्रतिगाविस एउटा र नगरपालिका क्षेत्रमा ३० हजार जनसंख्याबराबर एउटा सहकारी पसल खोल्न अनुदान दिने कार्यक्रम ल्याइएको थियो ।

'झापामा खुलेकामध्ये ४० प्रतिशत सुपथ मूल्यका सहकारी पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइयो,' डिभिजन कार्यालय झापाका प्रमुख नेत्रप्रसाद घिमिरेले भने, 'मापदण्डअनुसारको कारोबार नगर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।' अनुगमनका क्रममा केही सहकारी पसल मौसमी पाइएको उनले बताए ।

सुपथ मूल्यका सहकारी पसलले बजारभन्दा सस्तो मूल्यमा उपभोग्य सामान उपलब्ध गराउनुपर्ने प्रावधान छ । ती सहकारी पसललाई दैनिक उपभोग्य सबै सामान राख्नुपर्ने, उपभोक्ताले देख्ने गरी मूल्य सूची टाँस्नुपर्नेलगायतका मापदण्ड तोकिएको छ । धेरैजसो सहकारी पसलमा साइनबोर्ड पनि राखिएको छैन ।

सरकारी अनुदानमा खोलिएका ती सहकारी पसल उपभोक्तामुखीभन्दा पनि बढी नाफामुखी भएका छन् । तोकिएको मापदण्डविपरीत सञ्चालन गरिएका कारण तिनमा उपभोक्ता आकर्षण बढ्न सकेको छैन । आवश्यक उपभोग्य सामान नपाउँदा उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ । 'दाल र चिनी किन्न गयो, सहकारी पसलमा नुन मात्रै छ,' झापा महेशपुरका सुरज श्रेष्ठले भने, 'सहकारीले उपभोक्तालाई सुविधा दिने गरी पसल सञ्चालन हुनुपर्यो ।'

सुपथ मूल्यको सहकारी पसलमा दैनिक उपभोग्य वस्तु बिक्रीको सट्टा सहकारी संस्थाले मनोमानी रुपमा अन्य वस्तुको व्यापार गरिरहेका छन् । उपभोक्तालाई सहुलियत दरमा सामान उपलब्ध गराउन खोलिएका केही सहकारी पसलले मोबाइलको रिचार्ज कार्ड र पेट्रोलियम पदार्थ मात्र राखेर कारोबार गरिरहेका छन् ।



Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply