• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बेचिएकी चेलीलाई खुट्टा भाँचेर फर्काइयो


                                
@
सुब्रत न्यौपाने, झापा


झापा, २३ असार

कुबेतमा बेचिएकी झापाकी चेलीलाई दुवै खुट्टा भाँचेर नेपाल फर्काइएको छ । जेनर नाम गरेकी घरमालिक्नीले चरम कुटपिट गर्दा खुट्टा भाँचिएकी राजगढ-६ की हिमा गिरीलाई एक महिनासम्म मानसिक अस्पतालमा राखेर घर फर्काइएको हो । शारीरिक तथा मानसिक यातना दिई जबर्जस्ती कुबेतकै अस्पतालमा भर्ना गरिएकी ३० वषर्ीया गिरी अशक्त अवस्थामै घर फर्केकी हुन् ।

झापाको सदरमुकाम चन्द्रगढीभन्दा झन्डै २० किलोमिटर टाढा पर्ने देहातकी यी महिलाको दुवै खुट्टामा स्टिल लगाइएको छ । हिँडडुल गर्न नसकेपछि उनी एक महिनादेखि आफ्नै घरमा थलिएर बसेकी छन् । स्टिल लगाइएको ठाउँको घाउ पाकेर पिप बग्न थाले पनि आर्थिक अभावका कारण उनले उपचार गर्न सकेकी छैनन् । उपचारखर्च जुटाउन नसक्दा उनको घाउ जटिल बन्दै गएको शक्ति समूहकी पूर्वाञ्चल संयोजक भद्रकला पाठकले बताइन् ।

'उपचार गर्न जाऊँ पैसा छैन,' मलीन स्वरमा गिरीले भनिन्, 'कतैबाट सहयोग भइदिए उपचार मात्रै गर्न पाए पनि हुन्थ्यो ।' आर्थिक रूपले विपन्न गिरी परिवारलाई बिहान-बेलुकाको छाक टार्न पनि समस्या छ । उनका श्रीमान् राजन गिरी मजदुरी गर्छन् । उनका तीन नाबालक छोरा छन् । एक कठ्ठा ऐलानी जग्गामा बस्दै आएको गिरी परिवार अहिले खाए भरे के खाऔँ भन्ने अवस्थामा छ ।

भारतीय बाटो हुँदै कुबेत पुर्‍याइएकी गिरीले राम्रोसँग खानसमेत नपाएको बताइन् । 'एउटा रोटीका भरमा बिहानदेखि बेलुकासम्म काम गर्नुपथ्र्यो,' उनले भनिन्, 'खानसमेत नदिई मालिक्नीले कुट्थिन ।' रोजगारीको प्रलोभनमा पारेर गिरीलाई स्थानीय दिवस राईले भारतीय बाटो हुँदै कुबेतमा लगेर बेचेका थिए । राई हाल झापामै छन् । गिरी परिवार उनीविरुद्ध उजुरी गर्न सक्ने हैसियतमा छैन ।

भारतको दिल्लीमा आफू पहिलोपटक बेचिएको उनले बताइन् । राईले ९ मंसिरमा पूर्वीनाका काँकडभिट्टा हुँदै उनलाई भारतको दिल्ली पुर्‍याएका थिए । उनलाई त्यहाँ १५ दिनसम्म राखिएको थियो । उनीसँगै बेचिएका अन्य १५ महिलाको भने अत्तोपत्तो छैन । राई आफैँले गिरीको पासपोर्ट बनाइदिएका हुन् ।

घरमालिक्नीले ठेलेर लडाइदिँदा दुवै खुट्टा भाँचिएको उनले बताइन् । बालबच्चा राम्रोसँग नहेरेको भन्दै घरमालिक्नीले धकेल्दा उनी लडेकी थिइन् । बच्चा लड्न लागेको देखेर मालिक्नीले आफूलाई धकेलेको उनले बताइन् । घरमालिक्नीले दैनिकजसो दिने यातनाका कारण उनले भाग्ने प्रयास गरे पनि सफल भएन ।

त्यहाँ बालबालिकाको हेरबिचारदेखि लिएर घर सफा गर्ने र खाना बनाउनेसम्मका काम गर्नुपरेको उनले बताइन् । 'एकछिन पनि राम्रोसँग सुत्न दिँदैनथे,' उनले भनिन्, 'कुटेर यहीँ मार्लान् भन्ने पीर थियो, तर बाँचेर आएँ ।' खुट्टा भाँचिएपछि उनलाई नासर नाम गरेका घरमालिकले अस्पताल भर्ना गरेका थिए । त्यहाँ दुई महिनासम्म उनको उपचार गरिएको थियो । 'उपचार हुँदाहुँदै पागलखाना पुर्‍याए,' उनले भनिन्, 'घाउ दुखेको पीडा सहन नसकेर म अत्यन्तै रोएँ ।' आफू धेरै रोएपछि बौलाई भन्दै पागलखाना लगिएको उनले बताइन् । उनलाई त्यहाँ एक महिनासम्म राखिएको थियो ।

'मलाई केही भएकै थिएन,' उनले भनिन्, 'तर अस्पतालको जस्तो गाली त्यहाँ खानुपरेन ।' पागलखानाबाट निकालेपछि घरमालिकले आफूलाई नेपाल फर्काएको उनले बताइन् । हिँड्ने वेलामा 'रोइकराई गरेर माग्दा मालिकले बल्ल नेपाली तीन हजार रुपैयाँ दिएको उनले बताइन् । नेपाल फर्किएपछि उनलाई बेच्ने दलाल राईले कुबेतमा खुट्टाको उपचार गर्दा लागेको पैसा फिर्ता मागेर झन् मानसिक यातना दिइरहेका छन् । 'मालिकले मसँग पैसा लिनू भनेको छ रे !' उनले भनिन्, 'आफ्नो यो गति छ, कहाँबाट पैसा ल्याएर दिनु ।' दलाल राईले उपचार गर्दा लागेको भन्दै २५ हजार रुपैयाँ मागिरहेका छन् ।

नया पत्रिकाबाट साभार गरिएको http://www.nayapatrika.net/newsportal/countryside/14974.html

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply