अतिक्रमणमा नेपाली भूमी
मेचीनगर अनलाइन
|
Thursday, July 1, 2010
|
0 comments
नेपालको पूर्वी सीमा-नाका काँकरभिट्टाको भान्सा खोलासहित भारतसँग सीमा जोडिएका नेपाली भूमी अतिक्रमणमा परेका छन् ।
झापाका पाठामारी, महेशपुर, पृथ्वीनगर, चन्द्रगढी, बाहुनडाँगी, ज्यामिरगढी लगायतका सिमांकन गाविस तथा मेची नदीसँग सीमाना जोडिएका मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाको करिब १ हजारदेखि १२ सय हेक्टर भूमी विवादमा रहेको २०५५÷५६ को संयुक्त सीमा अनुगमन टोलीको अध्ययनले देखाएको छ । पूर्वी प्रवेशद्धार काँकरभिट्टास्थित मेची पुलको भान्सा खोलामा गाडिएका ५ वटा जंगे पिलरहरुमध्ये २ वटा भारतले नेपालतर्फ सारेको र एउटा राति नै स्कावेटर लगाएर उखेलेको ४५ वर्षअघिदेखि वसोबास गर्दै आएका भजनलाल चौधरी बताउँछन् । सो क्षेत्रमा ६०÷२, ९०÷२ र ६०÷३, ९०÷३ नम्बरका सीमा स्तम्भहरु भारतले नेपाली भूमीमा सारेको छ ।
सीमा विवाद समस्या समाधानका लागि नेपाल र भारतका सीमा प्राविधिक, अधिकारीहरुको २०५८ देखि बसिरहेको बैठकले हालसम्म निष्कर्ष नै निकाल्न सकिरहेको छैन । सन् १८१६ को नेपाल अंग्रेज युद्ध र राणाकालीन समयदेखि नै भारतले नेपाली भूमीमा अतिक्रमण गर्दैै आएको सीमाविद्हरु बताउँछन् ।
विभिन्न राजनीतिक दल, संघ संगठन, सीमा विवाद समस्याबारेमा बुझ्न आउने गरे पनि नेपाली भूमीको संरक्षणको लागि कसैले पनि चासो नदेखाएको स्थानीय दिपक उप्रेती बताउँछन् ।
भारतीय पक्षबाट हुने गरेको सीमा अतिक्रमणको यो प्रतिनिधि उदाहरण मात्रै हो । मुलुकमा यस्ता थुप्रै स्थानहरु भारतको अतिक्रमणमा परेपनि दीर्घकालीनरुपमा समस्या समाधान गर्न सम्बन्धित पक्षले प्रभावकारी कदम भने चाल्न सकिरहेको छैन । विभिन्न समयमा सरकार, राजनीतिक दल, तथा संविधान सभाका प्रतिनिधिहरुले अतिक्रमित क्षेत्रको निरीक्षण गर्ने र समस्या समाधानको आश्वासन दिने गरेको भए पनि अतिक्रमित क्षेत्रमा भारतीयद्धारा हेपाहामा परेका नेपालीको समस्या ज्युँका त्युँ रहेकोछ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed