कोरियामा बेपत्ता, धुलाबारीमा विचल्ली
मेचीनगर अनलाइन
|
Tuesday, August 31, 2010
|
0 comments
![]() |
| Writter |
वैदेशिक रोजगारीमा जानेहरूले सधैं रेमिट्यान्स (पैसा) र सुटकेसभरि लुगाफाटो पठाउने गरेका छन् भन्ने समाचार छाइरहेका बेला यही रोजगारीले परिवार र समाज कसरी छिन्नभिन्न बन्दै गएको छ भन्ने यो खबर आफैंमा 'प्रतिगामी' हुनसक्छ । मुलुकभित्रै बेपत्ता र हराइरहेका नागरिकको नामावली पढ्दै-सुन्दै र अन्र्तराष्ट्रिय बेपत्ता दिवससमेत मनाउँदै आएका बेला झापाको धाइजनमोडमा एउटा नौलो लाग्ने खबर सुनियो- विदेशमा बेपत्ता । स्थानीय मुकुन्द खतिवडा दक्षिण कोरियामा बेपत्ता भएको सात वर्ष भएको रहेछ । कोरियाबाट घर (नेपाल) फर्किसकेको जानकारी त्यहाँको अध्यागमन विभागले दिए पनि ४३ वर्षे मुकुन्द अझै बेपत्ता छन् । परिवारका माइला भाइ मुकुन्द बेपत्ता बनेको समयमा उनका जेठा दाजु डिल्ली खतिवडा पनि कोरियामै रहेछन् । अनेक सोधपुछ र बुझबुझारथबाट पनि भाइ (मुकुन्द) को यथास्थिति थाहा नपाएकै अवस्थामा दाजु डिल्ली घर फिरेको पनि ६ वर्ष भइसकेको छ ।
यही परिवारमा विचल्लीको अर्को खबर पनि छ- अविवाहित कान्छा भाइ छविलाल पाँच वर्षदेखि बैंकक कारागारमा रहेछन् । आफ्ना तीन छोरामध्ये एक बेपत्ता र एक कारागारमा रहेपछि ७२ वषर्ीया आमा पवित्रादेवी दिनरातकोरुवाइमा समय काट्दिरहिछन् । यतिखेर तिनको आँसु रित्तिएर आँखामा नयाँ रोग देखापरेको रहेछ । कान्छो छोरा विदेशमै रहेकै बेला बाबु हेमलालको निधन भएको रहेछ । 'सबै नियतिको कुरा हो जस्तो लाग्छ', आठ वर्ष कोरियामा कामदार बनेर ०६३ सालमा घर फिरेका जेठा छोरा डिल्ली भन्दै थिए । उनी अहिले दुवागढी- ६, धाइजनमोडमा हार्डवेयर पसल चलाउँछन् ।
डिल्लीले भाइ मुकुन्द बेपत्ता भएको खबर स्थानीय कोरियाली पत्रपत्रिकामा छपाएका रहेछन् । तर कतैबाट नवाफ नपाएपछि निराश हुँदै नेपाल फिरेका उनले यता कहीं कतै सोधखोज गरेका रहेनछन् । 'कसलाई भन्ने ? राज्यलाई के भन्ने जो आफैंलाई खोजिरहेको छ', धुलाबारी चोकमा भेटिएका डिल्ली भन्दै थिए । कोरियामा बेपत्ता भाइका श्रीमती र १५ वषर्ीया छोरी सहारा खोज्दै माइतीमै बस्ने रहेछन् ।
'कुरा गर्यो कुरैको दुःख', उनी भन्दै थिए- 'लागूपदार्थ प्रकरणमा पक्राउ परेर बैंककमा जेल परेको कान्छालाई छुटाइदिन्छु भनेर धनकुटातिरका एक चिनारुले साढे ३ लाख रुपैयाँ लगेका थिए । त्यो पनि डुब्यो, न भाइ नै छुटेको छ ।' यसरी आफू (जेठो छोरो) कोरिया छँदै माइला भाइ त्यहीं हराउनु र कान्छो बैंकक जेलमा पर्नाले विचलित बनेको घरपरिवार थाम्न उनी आउनु स्वाभाविक रहेछ ।
'आमाका छेउ पर्यो भने भाइहरूकै कुरा निस्कन्छ । सम्झाउनु पनि के भनेर, कतिसम्म सकिन्छ र ?' डिल्ली भन्दै थिए- 'बरु यो विचल्ली भाग्य र कर्मको कुरा हो भनेरै चित्त बुझाउँछु ।' सन् १९९६ मा लुम्बिनी ओभरसिजबाट डिल्ली कोरिया पुगेका रहेछन् । उनले दुवै भाइलाई उता तानेका रहेछन् । तर स्थिति भइदियो उल्टो ।
धाइजनमोडका खतिवडा परिवारका छोराहरूको जीवनमा घटेको यो विघ्न समस्यामा 'चासो दिने र सम्बोधन नहुने' यथार्थ भनेको सिंगो राज्यको लाचारीपन हो । राज्यको अनुपस्थितिमाझ सम्पूर्ण संयन्त्र र प्रशासनप्रति साधारण नागरिकको अविश्वास हुनु स्वाभाविक पनि हो । 'मानवअधिकार आयोग अथवा परराष्ट्र मन्त्रालयमा गएर भाइ हराएको खबर सुनाइरहनुको अर्थ पनि छैन', अहिले विशुद्ध व्यवसायी बनेर बसेका डिल्ली भन्दै थिए- 'यहाँ राज्यले हामीजस्ता सर्वसाधारण कसका लागि, के गर्नसकेको छ र ?'
विदेश र वैदेशिक रोजगारीको राम्रै अनुभव लिएर घर फिरेका डिल्ली खतिवडाका बुझाइमा दह्रो राज्यसंयन्त्र भएका मुलुकहरूले आफैंले रोजगारी खोज्ने, तलब निर्धारण गर्ने र आफ्ना नागरिकलाई काममा पठाउने गरेका छन् । कोरिया छँदै उनले बुझेको कुरा के हो भने फिलिपिन्स सरकारले पनि आफैं काम खोजेर अनि सेवा-सुविधा निर्धारण गरेर आफ्ना श्रमिक विदेश पठाउने गरेको छ । यति गरेपछि नागरिक (श्रमिक) स्वयम् बरु उचित 'लेबी' बुझाउन तयार भइरहेको हुन्छ । तर यस्तो कामकुराको सिको गर्न छाडेर मनपर्दी रूपमा जनताबाट पैसा उठाउन र अँध्यारो संसारमा धकेलेर पठाउनमा राज्य आफैं लागिपरेको छ । 'म्यानपावरको मनपर्दी र एजेन्टको मनोमानी यसैको उदाहरण हो', उनी भन्दै थिए ।
अब के गर्ने त ? वैदेशिक रोजगारीमा गएकै कारण केही कमाइ गरेकाले अहिले हार्डवेयर पसल चलाइरहेको यथार्थ डिल्लीसँग छ । तर एकैसाथ यही रोजगारीका कारण दुई भाइमा कोही बेपत्ता र कोही कारागारमा थन्किएको तीतो सत्य पनि सामुमा छँदैछ । 'भाग्य होला सबै कुरा', उनी भाग्यवादी बन्दै थिए- 'कहीं कतै हारगुहार नमागी भाइहरूलाई पर्खिरहन्छौं । यही भाग्यको कमालले हुनसक्छ- कुनै दिन उनीहरू दुवै घर फिरेर आउनेछन् ।'
devendraquatar@gmail.com
यो लेख http://www.ekantipur.com/np/2067/5/16/full-news/317171/ बाट साभार गरिएको हो ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed