• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

जथाभावी पैसा असुलेको आरोपमा सदरमुकाम बन्द

सुव्रत न्यौपाने, झापा, १४ भदौ, झापाका प्रहरी प्रमुख एसपी रवीन्द्र शर्माले अनावश्यक पैसा असुलेर ज्यादति गरेको भन्दै स्थानीय व्यवसायीले सदरमुकाम चन्द्रगढी र भद्रपुर बजार बन्द गराएका छन् । बन्दका कारण सदरमुकाम र आसपासका सम्पूण बजार ठप्प हुनुका साथै शैक्षकि संस्थासमेत खुलेनन् ।

गत ८ भदौमा भन्सार तिरेर भित्र्याइएको सामान एसपी शर्माले बरामद गरेको भन्दै आक्रोसित व्यवसायीले बन्द आह्वान गरेका हुन् । यातायात वन्दका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । बन्दका क्रममा भएको झडपमा सञ्चारकर्मीसहित आधादर्जन घाइते भएका छन् ।

मागेजति पैसा नदिएपछि एसपी शर्माले आफ्नो सामान नियन्त्रणमा लिएको व्यवसायी विजय साह बताउँछन् । उनलाई बन्दका क्रममा प्रहरीले पक्राउ गरिसकेको छ । भद्रपुरको भद्रकाली अर्डर एन्ड सप्लायर्स सञ्चालक साहले नेहा स्टोर्स काठमाडौँका लागि पठाउन लागेको एक लाख १३ हजार रुपैयाँबराबरको लत्ताकपडा प्रहरीले बरामद गरी मेची भन्सारमा दाखिला गरेको थियो । ९ भदौमा विर्तामोडमा साहले पत्रकार सम्मेलन गरी भन्सार प्रक्रिया पूरा गरेको प्रमाण पेस गरेका थिए ।

पत्रकार सम्मेलनमा साहले सामान आफ्नो भएको दाबी गरे पनि स्रोतले भने सो सामान भद्रपुरका व्यसायी सञ्जीव घोषको भएको खुलासा गरेको छ । घोष वारिपारि व्यापारमा सक्रिय छन् । उनले प्रहरीलाई 'लाइन' मिलाएर झापाको भद्रपुरबाट हवाईजहाजमार्फत सर्टिङ-सुटिङका कपडा काठमाडौँ पठाउँदै आएका थिए । उनको सामान बोकेर आएका गाडी भद्रपुर विमानस्थलमा विनाचेकजाँच छिर्न पाउँथे । घोष सामान वारिपारि गरी नाम कमाइसकेका व्यवसायी हुन् । उनले लाइन बन्द गरेर स्थलमार्गबाट सामान पठाउन थालेपछि प्रहरीले बार्गेनिङ सुरु गरेको थियो । स्रोतका अनुसार सामान बरामदपूर्व उनीसँग प्रहरीले मासिक १५ हजार रुपैयाँ मागेको थियो ।

बरामद सामानलाई बेवारिसे बनाएर भन्सार दाखिला गर्न एसपी शर्माले मातहतको विर्तामोड प्रहरीलाई निर्देशन दिएका थिए । भन्सारले नियमसंगत ल्याइएको सामान नमिल्ने भन्दै बुझ्न अस्वीकार गरेपछि प्रहरीले सामानको वैधानिकता जाँचका लागि आन्तरिक राजस्व कार्यालय मेचीलाई गुहारेको थियो । सो कार्यालयले सामान वैध भएको प्रतिक्रिया दिएको छ ।

झापा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र घिमिरेले नियमविपरीत प्रहरीले सामान समातेर व्यवसायीलाई दुःख दिन खोजेको बताउँछन् । 'सबै कागजात हुँदाहुँदै सामान समात्नु व्यवसायीको मनोबल गिराउने प्रयत्न हो,' उनले भने, 'प्रक्रिया पूरा नगरेका सामान समात्न प्रहरीलाई छुट छ, त्यसमा सहयोग गर्न हामी पनि तयार छौँ ।'

स्रोतका अनुसार एसपी शर्माले भद्रपुर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुन्दन देवलाई भारतबाट आयात हुने गरेको सामानबाट 'लाइन' लिन खटाउने गरेका छन् । मासिक रूपमा निश्चित रुपैयाँ दिने सहमति भएपछि लाइन मिलेको मानिन्छ । लाइन मिलाएर ल्याएको अवैध सामान प्रहरीले समात्दैन । लाइन मिलाउनकै लागि एसपी शर्माले घुमुवाका रूपमा प्रहरी रमेश कार्कीलाई परिचालन गरेका छन् ।

देव र कार्कीसँग लाइन मिलेपछि मात्र अवैध सामान भित्र्याउन पाइन्छ । नेपाल-भारत सीमाको भद्रपुर नाका भएर दैनिक हजारौँको लत्ताकपडा, खाद्यसामग्री, रड, सिमेन्ट रासायनिक मल र इलेक्ट्रोनिक सामान भित्रिने गरेको छ । ती सामान भित्र्याउन यहाँका व्यवसायीले मासिक १५ हजारदेखि एक लाख रुपैयाँसम्म तिर्ने गरेका छन् ।

प्रहरीले मासिक न्यूनतम १५ हजारभन्दा तल झरेर सम्झौता नगर्ने स्रोतको दाबी छ । लाइन दिएपछि व्यवसायीले जुनसुकै वेला जस्तोसुकै सामान नेपाल भित्र्याउन पाउँछ । सीमाक्षेत्रबाट नेपाल भित्रिने सामानमा प्रहरीले कडाइ नगर्दा झापाका बजारमा प्रतिबन्धित भारतीय खानेतेल र सिमेन्ट बिक्री भइरहेको छ । गुणस्तरहीन ठहरिएपछि सरकारले तुलसीलगायत भारतीय तेलको आयात र बिक्री वितरणमा रोक लगाएको थियो ।

एसपी शर्माले भने पैसा लिने नियतले सामान बरामद नगरेको बताए । तस्करले जेसुकै आरोप लगाए पनि आफू नझुक्ने उनको प्रतिक्रिया थियो । व्यवसायीबाट मोटो रकम लिएर सामान छाडेको विषयमा पटक-पटक समाचारमा आइरहने उनले आफूभन्दा माथिल्लो निकायले असहयोग गरेको घुमाउरो भाषामा स्विकारे ।

एसपी र एसएसपीबीच बोलचाल छैन !
झापाका प्रहरी प्रमुख रवीन्द्र शर्मा र अञ्चल प्रहरी कार्यालय मेचीका प्रमुख रविराज श्रेष्ठको राम्रो बोलचालसमेत छैन ।
भारतबाट हुने अवैध आयात रोक्न कडाइका साथ लाग्नुपर्ने एसएसपी श्रेष्ठको निर्देशन नमानेपछि उनीहरूबीचको सम्बन्धमा चिसोपना आएको हो । यद्यपि, एसएसपी श्रेष्ठका घुमुवा सुभाष केसीले भने मासिक हजारौँ रुपैयाँ पोके तस्करबाट उठाइरहेका छन् । दुई साताअघि पूर्वीनाका काँकरभिट्टा हुँदै सात लाख मूल्यबराबरको कपडा नेपाल भित्रिएको थियो । केसीले पोके व्यापारीबाट ६० हजार रुपैयाँ लिएर सामान भित्र्याउने वातावरण मिलाएको थाहा पाएपछि एसपी शर्माले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय विर्तामोडको टोली परिचालन गरी सो कपडा बरामद गरे । शर्माले डिएसपी वसन्त थापालाई परिचालन गर्दासम्म पनि आफ्नै कार्यालयअगाडिको राजमार्गमा आइपुगेको सामानका विषयमा इलाका प्रहरी कार्यालय धुलाबारी बेखबर थियो । एसएसपीका घुमवा केसीले पैसा लिएको थाहा पाउनेबित्तिकै शर्माले आफ्नो टोली परिचालन गरेका थिए ।

सामान समात्न नजिकै रहेको इप्रका काँकरभिट्टालाई सहयोग माग्नुको सट्टा एसपी शर्माले विर्तामोड प्रहरीसँग सहयोग मागेका थिए । काँकरभिट्टा प्रहरीका निरीक्षक देवीप्रसाद फागो एसएसपी श्रेष्ठनिकट रहेको स्रोतको दाबी छ । एसएसपी श्रेष्ठले पनि उनै फागोको सहयोग लिएर २९ साउनमा ठूलो परिमाणमा भारत निकासी हुन लागेको गाँजा बरामद गरे । गाँजाको अवैध कारोबार रोक्न जिल्ला प्रहरी उदासीन देखिएपछि एसएसपी श्रेष्ठ आफैँ अग्रसर भएका हुन् । स्रोतका अनुसार गाँजा पनि प्रहरीलाई लाइन मिलाएर भारत निकासी हुने गरेको थियो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply