धर्मनिरपेक्षता मानवताको धर्म हो
मेचीनगर अनलाइन
|
Tuesday, November 9, 2010
|
0 comments
मुनीन्द्र नेम्बाङ ,हाल न्यूयोर्क,
नेपालको महान जनआन्दोलन-२को महत्वपूर्ण उपलब्धिहरूमधे धर्मनिरपेक्षता पनि एक हो। तर आन्दोलनका ज्य्वालाहरू राम्ररी निभ्न नपाउँदै यसको विरुद्धमा पहिले पनि केही धार्मिक अन्धभक्त ,यथास्थितिवादी तथा घोर दक्षिणवादी समूहहरूले सर्प झैं आ-आफ्ना विषाक्त फणाहरू नउठाएका होइनन् । त्यसपछि नेपालको अन्तरिम संविधान भाग ३ को चौथो संशोधनद्वारा नेपाल एक बहुजातीय ,बहुभाषिक ,अभिभाज्य ,सार्वभौम,धर्मनिरपेक्ष,समावेशी ,संघीय, प्रजातान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा भइसकेको हुँदा एक प्रकारले यस मुद्धाको निप्टारा भइसकेको हामीले सम्झेका थियौं । तर हाल आएर नेपाललाई हिन्दु राष्ट्र बनाउनको निम्ति भारतको मुम्बईमा केही दिन अगाडि भएको विश्व हिन्दु परिषदको सम्मेलनमा नेपाल र भारतका केही हिन्दु कट्टरवादी नेताहरूले धर्मनिरपेक्षताको विरोध गर्दै जुन अठोट ,अभिव्यक्ति र पहल गरेका छन् त्यस किसिमको अभियान र चलखेल बढ्दै गयोभने हाम्रो नेपालमा पनि भविष्यमा केही विकराल धार्मिक साम्प्रदायिक कलहहरू उत्पन्न हुँदैनन् भन्न सकिंदैन।
लगभग एक डेढ शताब्दि अगाडि नै अंग्रेज लेखक जर्ज ज्याकोव होलिओेइकेले सर्वप्रथम धर्मनिरपेक्ष भन्ने शब्द प्रयोग गरेका थिए जसको लाक्षणिक अर्थ हो धर्म र राजनीति भनेको फरक फरक बिषय वस्तु हुन्। यसलाई पुष्टि गरेर जनवरी १, सन् १८०२ मा नै अमेरिकाको तेश्रो राष्ट्रपति थोमास जेफरसनले पिथक्करणको पर्खाल (wall of separation) भन्ने संज्ञा दिएका थिए जुन वाक्यांश त्यस जमानामा अत्यन्त चर्चामा आएको थियो। एवं रुपले सन् १९७१मा संयुक्त राज्य अमेरिका पनि संविधानको प्रथम संशोधनद्वारा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको थियो। यसरी नै पश्चिमी मूलुकहरूमा मानिसहरूले भगवानलाई लगभग एक डेढ सय वर्ष अगाडिनै राजनीतिबाट "अवकाश" दिइसकेको बुझिन्छ।
पूर्वको हिन्दु धर्ममा पनि विवेक सलाथियाले भने झैं धर्मनिरपेक्षताको अर्थ कुनै पनि देश राज्यको रुपमा धर्मदेखि अलग छ । हिन्दु धर्मको यजुर्वेद ,ऋग्वेद तथा अथर्व वेद अनुसार "सर्व धर्म सम्भव " भने झैं हिन्दु धर्मले अन्य सबै धर्मलाई शदियौंदेखि सहिष्णुताको दृष्टिकोणले व्यवहार गर्दै आएको छ।यही कुरा म्याक्स वेबर , डोनाल स्मिथ तथा अमर्त्य सेन(नोबेल प्राइज विजेता)आदि विद्वानहरूले पनि पुष्टी गरेका छन्। त्यसैले धर्मसहिष्णुताको कारणले गर्दा नै चार्वकहरू ,जैन , बौद्ध ,किरात आदि धर्महरूले वेदलाई नमान्दा नमान्दै पनि शदियौंदेखि सनातन हिन्दु धर्मसँग एउटा धार्मिक सहिष्णुता र सह-अस्तित्वमा आजतक बाँचिरहेका देखिन्छ जस्तै बौद्ध तथा किरात धर्मावलम्बीहरू हिन्दुहरूको मन्दिरमा गएर पूजाआजा गर्नु तथा हिन्दुहरूले बौद्ध तथागत तथा किरातेश्वर शिवलाई पूजाआजा गर्नु धर्मसहिष्णुताको एउटा ज्वलन्त उदाहरण हो। यसबाट के बुझिन्छ भने धर्मनिरपेक्षता भन्ने शब्द सर्वप्रथम होलिओेइकेले प्रयोग गरे पनि हिन्दु धर्ममा चाँहि यस किसिमको भावनाले चार हजार वर्ष अगाडि वैदिक तथा औपनिषद कालमा नै गहिरोसंग जरा गाडिसकेको थियो ।
कतिपय मुस्लिम देशहरूले पनि धर्मनिरपेक्षता अवलम्बन गरेका छन् जस्तै टर्की ,बोस्निया ,अजरबैजान ,काजकास्थान आदि । भनिन्छ बौद्ध सम्राट अशोक ,मुगल सम्राट बाबर तथा अकबरको आधिपत्य कालमा भारतमा पनि एक प्रकारको धर्मनिरपेक्षताको भावना पन्पिएको थियो। यसैले हामीले राम्ररी नियालेर हेर्यौं भने धर्मनिरपेक्षता भनेको धर्मको विरोध होइन तर धर्मदेखि स्वतन्त्र हुनु हो। आज विश्वमा लगभग १९२ राष्ट्रहरूमधे झन्डै ३२ वटा धर्मसापेक्ष राष्ट्रहरूबाहेक अन्य सबै राष्ट्रहरूले कि त धार्मिक स्वतन्त्रता या धर्मनिरपेक्षता नै अप्नाएको देखिन्छ। त्यसमधे पनि जुन जुन देशहरू बहुजातीय, बहुभाषिक ,बहुधार्मिक र बहुसांस्कृतिक छन् ती ती देशहरूले अल्पसंख्यक जातिहरूको संरक्षण ,लोकतन्त्र र उत्तरोतर बिकास निर्माणको लागि धर्मनिरपेक्षता अप्नाइरहेका छन्। नेपाल पनि एक बहुजातीय, बहुभाषिक ,बहुधार्मिक र बहुसांस्कृतिक देश भएकोले यहाँ पनि अल्पसंख्यक जातिहरूको धर्म ,भाषा तथा संस्कृतिको संरक्षण गर्न अति जरुरी छ। यदि अल्पसंख्यक जातिहरूको संरक्षण भएन भने सही अर्थमा लोकतन्त्र सधैं अधुरो हुन्छ।यसबाहेक पृथ्वीनारायण शाहको पालादेखि २४० वर्षसम्म निरंकुश शाहकालीन अवधिमा नेपालमा लोकतन्त्र र धार्मिक स्वतन्त्रता थिएन। यति मात्र होइन उक्त अवधि कालमा अन्य स-साना अल्पसंख्यक जातिहरूका धर्म ,भाषा , संस्क्रिति पनि सबै नष्टप्राय: हुन लागेको कुरा पनि कसैबाट छिपेको छैन। आजको एउटा कट्टु यथार्थता चाहिं के हो भने कुनै पनि जातिको धर्म , भाषा , संस्क्रिति, लोप भयो भने कालान्तरमा गएर त्यो जातिको अस्तित्व नै मटियामेट हुन्छ। यो कुरा विश्वको इतिहासले नै प्रष्टरुपले देखाएको छ। त्यसैले यी सबै कुराहरुको हृदयङ्गम गरी महान जनआन्दोलन-२को भावना अनुरुप सम्बत् २०६२ जेष्ठ ४ गतेमा संसदको अत्यधिक बहुमतद्वारा द्रुततर बिकास गर्न तथा अल्पसंख्यक जनजातिहरू र तिनीहरूको धर्म ,भाषा , संस्क्रिति, संरक्षण गरी स्वतन्त्रता ,समानता, लोकतन्त्र ,सामाजिक न्याय र सद्भावना कायम गर्न नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको हो ।
तर हाल आएर उक्त यथार्थताहरूको मनन नै नगरी केवल सोर्हौं र सत्रौं शताब्दिको रुढिग्रस्त र पुरानो मानसिकता लिएर केही हिन्दु कट्टरवादी व्यक्तिहरू तथा संस्थाहरूले हाम्रो देशमा केवल एकोहोरोरुपमा धर्मनिरपेक्षताको खुलेआम विरोध गर्नु चाहिं किमार्थ शोभनीय देखिएन । सायद यसैले होला आज देशमा धर्मनिरपेक्षताको सही कार्यान्वयन भएन भनेर चारैतिरबाट आवाज आउँदै छ। यसबाहेक धेरैले शंका-उपशंका गर्न थालेका छन्, के कतै धर्मलाई खेलबाड गरी निरंकुश राजतन्त्रलाई पुनर्स्थापना गर्ने षड्यन्त्र त भइरहेको छैन यहाँ? के हिन्दु राष्ट्र घोषणा गरी अन्य धर्मावलम्बीहरूका मानिसहरूलाई राष्ट्रपति वा उपराष्ट्रपति बन्नै नपाउने षड्यन्त्र त होइन यो? किनभने हिन्दु राष्ट्रको सर्वोच्च पदमा आसीन हुनलाई हिन्दु नै हुनुपर्छ भन्ने अहिलेसम्मको परम्परा रहिआएको कुरा कसैले बिर्सेंको छैन। यदि त्यसो हो भने कैयौं सहिदहरूको वलिदानद्वारा प्राप्त भएको संघीय लोक्तान्त्रिक गणतन्त्र ,धर्मनिरपेक्षता , स्वतन्त्रता, समानता तथा मानव अधिकारलगायत अन्य धर्मावलम्बीहरूमाथि पनि ठुलै कुठाराघात हुनलागेको नेपाली जनताले अनुभूति गर्नेछन् ।
आजको व्यापक परिप्रेक्षमा सोच्दा आधुनिकतातर्फ उन्मूख हुनु नै धर्मनिरपेक्षतावाद हो। धर्मनिरपेक्षता नेपालमा पनि निरपेक्षता मानवतावादको रुपमा आएको छ जसले आजको यो कलहयुक्त संसारमा विश्व शान्तिको लागि एउटा महत्वपूर्ण सघाउसमेत पुर्याउन सक्छ।अझ व्यापक अर्थमा सोच्यौं भने धर्मनिरपेक्षता भनेको धर्म मान्नेहरूको लागि पनि हो र नमान्नेहरूको लागि पनि । यसले दुई वटै समूहहरूलाई संरक्षण गर्छ । यसको साथै धर्मनिरपेक्षताले सबै धर्मावलम्बीहरूको समान नागरिक अधिकारको लागि मात्र अडान लिंदैन तर सबै जातजाति ,वर्ग तथा लिंग अनुक्रमणको उन्मूलनसमेतको लागि बलियो अडान लिन्छ । सायद त्यसैले होला स्वामी दयानन्द ,विवेकानन्द ,अरविन्द घोष ,थोमास जेफेर्सन ,रबर्ट ग्रिन ,रबर्ट इङगर सोल ,फथिल्ला गुल्लिन, मौलाना रुमी, महात्मा गान्धी ,जवाहार लाल नेहरु आदि जस्ता महान व्यक्तिहरूले पनि धर्मनिरपेक्षतालाई विश्वव्यापीकरण गर्ने दिशामा महत्वपूर्ण योगदान दिएका छन् । नेपालमा पनि शीघ्रातिशीघ्र बिकास ,लोक्तान्त्रिक गणतन्त्र ,आमसमावेशीकरण ,धार्मिक बहुलतावाद तथा शान्तिपूर्ण सह-अस्तित्वको लागि धर्मनिरपेक्षता अंगालेका हौं । यो एउटा हाम्रो सभ्यता र संस्कृतिको परिचायक हो। यदि हामीले विश्वको इतिहास हेर्यौं भने अधिकांश देशहरूमा थुप्रै धार्मिक युद्ध ,कलह र मूठभेड भएको देखिन्छ। तर नेपालमा अहिलेसम्म कहिल्यै यस्तो भएको छैन। यो एउटा सबै नेपालीले गर्व गर्ने कुरा हो। त्यसैले हामी सबै के हिन्दु ,के बौद्ध ,के मुस्लिम ,के इसाइ, के किरात , के सिख आदि धर्मावलम्बीहरूले स्वतन्त्रतापूर्वक आ-आफ्नो धर्म मानेर एउटा शान्त, सम्यक, धर्म सहिष्णुता र सह-अस्तित्वको बातावरणमा बाचौं ।हामी यसवेला दुई ठुला धर्मनिरपेक्ष राष्ट्रहरू चिन र भारतको बीचमा छौं। आजको विश्व परिस्थितिको सन्दर्भमा एउटा समन्वय र सामन्जस्यको रुपमा बांच्नु पर्ने बेलामा मात्र एकल हिन्दु राष्ट्रको मांग गरी धर्मनिरपेक्षता व्यक्तिगत स्वतन्त्रता र धार्मिक स्वतन्त्रतामाथि आँच पुर्याइ पुन: शान्त पोखरीमा ढुंगा हाल्ने काम नगरौं । हामी सबैलाई अवगतै छ कि उल्लिखित तथ्यहरूको आधारमा नेपाल जस्तो बहुजातीय, बहुभाषिक ,बहुधार्मिक र बहुसांस्कृतिक देशलाई धर्मसापेक्ष राष्ट्र घोषणा गर्न कदापि सम्भव हुँदैन । (लेखक नेपाली कांग्रेसका युवा नेता हुन् )।
Filed Under: अभिव्यक्ति


0 comments
Trackback URL | Comments RSS Feed