• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

जातीय सङ्कुचनको नमुना ‘बाटोमुनिको फूल’

 हिमाल खरेल
कथावस्तु मौलिक नभए पनि प्रविधिका हिसाबले अब्बल प्रदर्शन भइरहेको ‘बाटोमुनिको फूल’ शुक्रबारदेखि पूर्वाञ्चलका दर्शकको मन जित्ने कोसिसमा छ । पुराना अनुहार हेरेर वाक्क भएका दर्शकका लागि गायकहरु नायकको भूमिकामा देखिँदा स्वर मनपराउनेहरु हलमा पुगेको प्रतिक्रिया दिन्छन् । ‘गोर्खा पल्टन’मा पनि फिल्मभन्दा प्रशान्त तामाङलाई हेर्न धेरै दर्शकले टिकट काटेका थिए । ‘बाटोमुनिको फूल’मा कुनै बेला ‘मैले छोएको पानी चल्दैन’ भन्ने गीत गाएर ओरालो लागेको आधुनिक सङ्गीतमा उदाएका यशकुमार प्रमुख नायकका रुपमा छन् । एक्काइसौँ शताब्दीमा पनि जातीय विभेदको परिधिभन्दा माथि उठ्न नसकेको मानसिकताबाट
तयार भएको बाटोमुनिको फूलको कथावस्तु र फिल्म ‘दलित’ एनजीओको डकुमेन्ट्री जस्तो लाग्छ । पुरानै कथावस्तु छ फिल्ममा, अन्तरजातीय प्रेम र जातीय विभेदबाट उत्पन्न द्वन्द्व र तनाव । जातीय विभेदमा आधारित भएर बनाइएका यसअघिका अधिकांश फिल्म फ्लप भएकाले ‘बाटोमुनिको फूल’को बजार पनि खासै अपेक्षित नभएको फिल्मकर्मीहरुको अनुमान छ ।
फिल्मको कथा सारमा यस्तो छ, सुरेश दमाई (यशकुमार) ले दलितको पक्ष र मुक्तिमा सञ्चालित एनजीओका सञ्चालक उपाध्यायकी छोरी गुराँस (रेखा थापा)सँग गरेको प्रेम प्रयास र पछि सुरेशकी हजुरआमाले नातिको प्रेमलाई सम्मान गर्दै छोरी माग्न जाँदा व्यहोर्नु परेको दुव्र्यवहारलाई दर्शकले मध्यान्तरपछि हेर्न सक्छन् । एकजना गाइनेले प्रहरीसमक्ष गरेको परिघटना व्याख्यामा सुरेश दमाईको विगत फिल्ममा उतारिएको छ । अधिकांश नेपाली फिल्मले प्रयोग गर्दै आएको ‘कथा टुल्स’लाई बाटोमुनिको फूलले पनि च्याप्प समातेर हुबहु देखाएको छ । त्यसकारण औसत सहरिया दर्शकलाई छायाङ्कन र सङ्गीतले केही हदसम्म फिल्मप्रति तान्न सक्छ । त्यसबाहेक कमसल फिल्मको दर्जामा यसलाई पनि दर्शकले पैसा असुल्न धैर्यसाथ हेर्न सक्छन् । यो फिल्ममार्फत् नेपाली फिल्म उद्योगले नयाँ कुरा केही पनि अपेक्षा गर्न सक्दैन । प्रत्येक सम्वादमा जबर्जस्ती घुसाइएको जातीय विभेदको प्रसङ्गले फिल्मलाई सिर्जनात्मक बनाउनै सकेको छैन । छुवाछूत र विभेदमा केन्द्रित सम्वादले दलित मुक्तिका लागि रटाइने अलोकप्रिय र सस्तो नारा जस्तो मात्रै लाग्छ ।
मोडल हुने तीव्र इच्छा बोकेकी कामीकी छोरी तुलसी (नन्दिता केसी) र सुरेश दमाईको भाइ कान्छा (बाबु बोगटी) बीचको प्रेम कहानी, प्रेमिका छुटाउन जाँदाको मृत्यु–दृश्य, भीमेले गरेको बलात्कार, यस्तै–यस्तै घटनामा फिल्म घुमिरहन्छ । औसत नेपाली फिल्ममा झैँ ‘बाटोमुनिको फूल’मा पनि रोनाधोना, वियोग, खुसी, फाइट हेर्न सकिन्छ । आफ्नो म्युजिक भिडियोमा अभिनय अनुभव बटुलिसकेकाले यशकुमार र बाबु बोगटीको ‘हिरो रोल’ कमजोर छैन । अन्य सस्तो र कमजोर फिल्ममा जस्तो यसमा पनि नायिकालाई बलात्कार गर्न र नायकसँग फाइट खेल्न खलनायकहरु अनावश्यक रुपमा उभ्याइएको छ । जत्रोसुकै ठूलो ग्याङ भए पनि र तरबार खाए पनि हिरोलाई केही नहुने र उसकै जीत हुने पुरानो फिल्मीशैली ‘बाटोमुनिको फूल’मा पनि अपनाइएको छ । हत्या अभियोगमा समातिएको सुरेश दमाइको कथालाई केन्द्रविन्दूमा राखेर निर्देशक तथा लेखक सुरज सुब्बा ‘नाल्बो’ले दर्शकलाई ‘असान्दर्भिक’ सन्देश दिन खोजेका छन् । उनको फिल्म मेकिङ भने मजबुत मान्नुपर्छ ।
जातीय विभेद हदसम्म पुग्यो भने त्यसले अपराध  पनि निम्त्याउन सक्छ भन्ने फिल्मको मुख्य सन्देश हो । तर, चारवटा गीत, दुईवटा द्वन्द्वदृश्यबीच फिल्म परम्परागत लाग्छ । कमजोर पटकथाका कारण कलाकारको अभिनय अत्यन्त सुस्त र एकोहोरो देखिन्छ । यद्यपि, फिल्मले विभेदविरुद्धको सन्देश भने मजबुद ढङ्गले सम्पे्रषण गरेको छ । यति हुँदाहुँदै पनि समाजमा विभेदको उत्पत्ति कसरी भयो भन्नेतर्फ फिल्म फर्किएको छैन । नेपालका कतिपय ठाउँमा विद्यमान सामाजिक, सांस्कृतिक र आर्थिक भेदको जड फिल्मको प्रस्तुतिले पहिल्याउन सकेको छैन । उपाध्याय र दमाईका शिक्षित छोराछोरीबीचको तँतँ–ममको सम्बन्धले सामाजिक सङ्कुचन र साँघुरो सोचलाई च्यात्न नसक्नुले फिल्म दमदारको कोटीमा पर्नै सक्दैन । समग्रमा ‘बाटोमुनिको फूल’मा दर्शकलाई धेरै ठाउँमा अल्मल्याउने काम भएको छ । यसले नेपाली फिल्मको धार नै परिवर्तन गर्दै नयाँपन दिने ल्याकत राख्ने हिम्मत गर्न सक्दैन । फिल्ममा पछिल्लो प्रविधिको टु के क्यामराको प्रयोग  भने आकर्षक लाग्छ । दृश्य मनमोहक छन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply