• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

गैरकानुनी मदिरा उत्पादन तीव्र

सुब्रत न्यौपाने, झापा, २८ मंसिर
प्रभावकारी अनुगमनको अभावमा झापाका ग्रामीण क्षेत्रमा मदिराको गैरकानुनी उत्पादन तीव्र हुदै गएको छ । अवैध रूपमा कारखाना खोलेर मदिरा उत्पादन गर्ने क्रम केही वर्षयता बढेर गएको हो । उत्पादित मदिरा पूर्वी नेपालका विभिन्न जिल्लामा बिक्री हुन्छ ।
मदिराको उत्पादन तथा बिक्री-वितरणका लागि पूरा गर्नुपर्ने मापदण्डविपरीत खुलेका कारखाना सञ्चालनमा रोक लगाउन सरकारी निकायले प्रभावकारी पहल नगर्दा जिल्लामा मदिराको गैरकानुनी उत्पादन बढ्दै गएको हो । प्रहरी प्रशासनकै संरक्षणमा नक्कली मदिरा उत्पादन हुने गरेको स्रोतको दाबी छ ।
'अवैध रूपमा सञ्चालनमा ल्याइएका कारखानाका विषयमा प्रहरी बेखबर छैन,' स्रोतले नयाँ पत्रिकासँग भन्यो, 'मदिरा उत्पादन र बिक्रीका लागि छुट दिएबापत हुने नियमित आम्दानी गुमाउन नचाहने प्रहरी प्रवृत्तिका कारण मदिराको गैरकानुनी उत्पादन र कारोबार बढेको हो ।' स्रोतका अनुसार कारोबारमा छुट दिएबापत प्रहरीले मासिक दुई लाख रुपैयाँ प्राप्त गर्छ । जनपद प्रहरीले नजराना लिएर छोडिदिएको मदिरा सशस्त्र प्रहरीले बरामद गर्ने गरेकाले सुरक्षा अधिकारीबीच मनमुटाबसमेत हुने गरेको छ । सशस्त्र प्रहरी बल पाथिभरा गणका अनुसार सार्वजनिक सवारीका साधनमा राखेर जिल्ला बाहिरका बजारमा पठाउन लागिएको हजारौँ बोतल नक्कली मदिरा बरामद गरिएको छ । सुराकीका आधारमा सवारी चेकजाँच गर्दा त्यस्ता मदिरा फेला पर्ने गरेका छन् ।
झापाको मेचीनगरस्थित खयरडाँगी र नजिकैको ज्यामिरगढी गाविसमा मात्रै दुई दर्जनभन्दा बढी मदिरा कारखाना सञ्चालनमा छन् । सो क्षेत्रबाट प्रत्येक दिन विभिन्न ब्रान्डका ५० कार्टुनभन्दा बढी नक्कली मदिरा बजारमा पठाइने गरेको छ । यसबाहेक राजगढ, शनिश्चरे, शान्तिनगर, धाइजन, दुहागढी, धरमपुर, महेशपुर गौरीगन्जलगायतका गाविसमा पनि मदिराको अवैध उत्पादन हुन्छ । ती कारखानाले सक्कली मदिराकै रूप र रंगमा आफ्नो उत्पादनको बजारीकरण गरिरहेका छन् । नियमित सेवनकर्ताले समेत छुट्याउन नसक्ने गरी आन्तरिक राजस्व कार्यालयको अन्तशुल्क टिकट र आन्तरिक राजस्व विभागको स्टिकर टाँसेर नक्कली मदिरा बजारसम्म पुर्‍याइने गरिएको छ । नक्कलीमा पनि अन्तशुल्क टिकट पाइएकाले सहजै छुट्याउन मुस्किल पर्ने आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कृष्णप्रसाद पराजुलीले बताए । ल्याबमा परीक्षण गरेपछि मात्र ती स्टिकर नक्कली र सक्कली छुट्याउन सकिन्छ ।
उत्पादन र बिक्री-वितरणमा संलग्नले पक्राउपछि दिएको बयानअनुसार भारतको कोलकातामा अन्तशुल्क टिकट छापिने गरेका छन् । ती टिकट छाप्न प्रतिगोटा २० पैसा लाग्छ । केही समयअघि पक्राउ परेका झापा मेचीनगर-१ खयरडाँगीका मेघनाथ भण्डारीको कारखानाबाट प्रहरीले ६ हजार ८ सय २१ थान आन्तरिक राजस्व कार्यालयको अन्तशुल्क टिकट र आन्तरिक राजस्व विभागको स्टिकर बरामद गरेको थियो । भण्डारीको कारखानाबाट ब्लाक ज्याकमा प्रयोग हुने चार हजार, गिलमेरीमा प्रयोग हुने पाँच हजार, ब्लुरिमन्डमा प्रयोग हुने १० हजार थान थप स्टिकर र सिलसहितको १५ हजार थान बिर्काे पनि बरामद गरिएका थिए । नक्कली रक्सी उत्पादनका लागि घरैमा सञ्चालित कारखानामा छापा मारेर भण्डारीलाई पक्राउ गरिएको थियो ।
प्रहरीसँगको लेनदेन विवाद नमिलेपछि पक्राउ परेका भण्डारीविरुद्ध दायर मुद्दामा जिल्ला अदालत झापाले १६ लाख रुपैयाँ जरिवाना र एक वर्षको कैद सजाय सुनाएको छ । त्यसलगत्तै झापा राजगढका बद्री निरौला अवैध रूपमा उत्पादित नक्कली मदिरासहित पक्राउ परेका छन् । उनीविरुद्ध पनि मुद्दा चलाउने तयारी भइरहेको छ । नक्कली मदिरा उत्पादनमा रेक्टी फाइड स्पि्रड प्रयोग हुने गरेको छ । स्रोतका अनुसार एक लिटर स्पि्रडबाट तीन लिटरसम्म नक्कली मदिरा उत्पादन हुन्छ । केमिकलको मात्रा मिलाउन उत्पादकले उत्पादित रक्सी चाखेर बजारसम्म पुर्‍याउने गरेका छन् । 'केमिकलको मात्रा नमिलेका कारण मदिरा सेवनले कतिपयको ज्यान जाने गरेको हो,' स्रोतले भन्यो, 'मदिराको रंग हेरेर पनि केमिकलको मात्रा घटीबढी हुन्छ ।'

 News Source : Nayapatrika

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply