कतार लगायतका खाडीमुलुकमा जादै हुनुहुन्छ ?
मेचीनगर अनलाइन
|
Monday, June 14, 2010
|
0 comments
@ | प्रस्तुति M टेकेन्द्र पौडेल, हाल कतार | |
नेपालीहरु विदेशमा गई विभिन्न पेशामा संलग्न हुने र आफ्नो परिवार तथा समाज र समग्रमा राष्ट्रलाई योगदान दिने कार्य सन् १८१५ अप्रील २४ मा नेपाल–अंग्रेज युद्धको अन्त्यमा व्रिटिश–ईष्ट इण्डिया कम्पनीले पहिलो गोर्खा रेजिमेण्टको स्थापना गरेपश्चात विधिवतरुपमा शुरु भएको मानिएता पनि त्यस अवधिभन्दा अघिदेखि नै नेपालीहरु भारत, भूटान, बर्मा तथा हालको पाकिस्तान लगायतका मुलुकहरुमा गएर आफ्नो रोजीरोटीको जोहो गर्ने गरेको तथ्य पाईन्छ । सन् १९६० को दशकदेखि क्रमशः खुल्ला हुँदै गएको विश्वपरिवेश सन् १९९० को दशकको शुरुमा बेलायतमा मार्गरेट थ्याचर र अमेरिकामा बिल क्लिण्टनको समयमा अझ व्यापकरुपमा खुल्ला हुँदै आज भूमण्डलीकरणको चुचुरोमा पुगेको छ । यसबाट उत्पादन, श्रम तथा सेवाहरु सर्वसुलभरुपमा विश्वव्यापीरुपमा आवगमन तथा ओसारपसार गर्न सकिने वातावरण सृजना भएको छ । यसले नेपालजस्ता मुलुकहरुबाट कतिपय अमेरिका तथा युरोपेली क्षेत्रमा विशेषज्ञ जनशक्ति पलायन हुन थाल्यो भने कतिपय मध्यपूर्व, सुदूरपूर्व तथा दक्षिणपूर्वी एशियाली मुलुकहरुमा अदक्ष तथा अर्ध दक्ष कामदारहरुको आवागमनको चाप बढेर गएको छ । खासगरी उन्नाइसौ शताव्दीमा युरोप र अमेरिकामा र बीसौं शताव्दीमा जापानमा भएको औद्योगीकरण तथा विशाल निर्माणकार्यहरुको प्रक्रिया हाल स्थानान्तरण भै दक्षिणपूर्वी एशिया तथा मध्यपूर्वका मुलुकहरुमा आईपुगेको हुँदा नेपालीहरुको चाप यी क्षेत्रका मुलुकहरुमा बढी रहेको छ । यस सन्दर्भमा खाडी मुलुक र मलेशियामा बैदेशिक रोजगारीमा आउने नेपालीहरुको संख्या झण्डै १५ लाख रहेको अनुमान छ । यसमध्ये कतारमा हाल कानूनी तथा गैह्र कानूनी हैसियतले बसेका महिला तथा पुरुष जम्मा ४ लाखको हाराहारीमा अनुमान गरिएको छ र यो संख्या दिनानुदिन बृद्धि हुँदै गैरहेको छ । १. नेपालबाट प्रस्थान गर्नुपूर्वका समस्याहरु बैदेशिक रोजगारीमा जान चाहने युवा तथा युवती उम्मेद्धारले आफू विदेश प्रस्थान गर्नुपूर्व भाषा र शीप विकास तालीम लिनु अपरिहार्य छ । त्यसरी भाषा तथा काम सम्बन्धि अनुभव नभएकै कारण अन्य मुलुकका कामदारभन्दा न्यूनतम तलवमा काम गर्नुपर्ने वाध्यता सृजना हुन्छ । यसले हिनताबोध वाहेक केही निम्त्याउँदैन । त्यसैगरी कागजात सम्वन्धी समस्याहरु पनि टड्कारोरुपमा देखिएका समस्या हुन् । कुनै कामदार कतार प्रस्थान गर्नुअघि नै उसले मेडिकल सर्टिफिकेट, नेपाल प्रहरीद्धारा जारी हुने चारित्रिक प्रमाण पत्र, भिसाको प्रति, श्रम स्वीकृति पत्र तथा आफू काम गर्न जाने कम्पनीले उपलब्ध गराएको Employment Contract को प्रति साथै लिएर आउनु पर्ने हुन्छ तर कतिपय अवस्थामा Employment Contract र भिसाको प्रति नक्कली समेत हुने गरेको देखिन्छ । यसका साथै अंग्रेजी पढ्न नजान्ने कामदारहरुलाई जथाभावी जागिरको नाम र तलव तोकिएको कागजातमा सही छाप गराएर पठाएको पाईन्छ । यस अलावा एक व्यक्तिको राहदानीमा अर्को व्यक्तिको राहदानी पठाउने कार्यमा समेत केही गिरोह सक्रिय रहेको देखिन्छ र यो क्रम हालैका दिन बढेर गएको छ । बैदेशिक रोजगारीमा जान चाहने कामदारलाई सम्बन्धित मुलुकको वातावरण, हावापानी, सामाजिक परम्परा, सवारी नियम तथा अन्य सम्बन्धित विषयमा Orientation दिएर मात्र पठाउनु पर्नेमा Orientation को प्रावधान प्रभावकारी हुन नसकेको कतिपय जानकारहरुको गुनासो रही आएको छ । यसरी कुनै पनि कुराको जानकारी नदिई कामदार पठाउनाले वििभन्न किसिमका समस्याहरु उत्पन्न हुनेगरेको पाइएको छ । २. कतार प्रवेश गरीसकेपछि देखिने गरेका समस्याहरुः क. भिसाको प्राप्ती कतारमा कामदारको भिसा कम्पनीले निशुल्क उपलब्ध गराउने मात्र नभै कतिपय कम्पनीहरुले सेवा शुल्क समेत बुझाई कामदार ल्याउन अनुरोध गर्दछन् । तर आफू–आफूबीचको खिचातानीले गर्दा हाल आएर शुरुमा भिसा प्राप्त गर्नको लागि एजेण्टहरुले ३०० देखि ५०० डलरसम्म खर्च गरेको देखिन्छ जुन कतारी रियाल ११०० देखि १८०० सम्म पर्न जान्छ । कतारमा काम गर्ने श्रमिक कामदारले सामान्यतयः मासिक ५०० देखि ८०० रियालसम्म तलव पाउने अवस्थामा यो शुल्क ज्यादै बढी हुन जान्छ । यस अलावा यहाँ आई सकेर काम शुरु गरेता पनि कतिपय रोजगारदाता कम्मनीहरुले १ बर्षदेखि २ बर्षसम्म भिसा नलगाई राख्ने गरेको देखिन्छ । यसबाट कामदारलाई मानसिकरुपमा तनाव बढ्ने गरेको देखिन्छ । यसैगरी प्रवेश भिसा केवल ३० दिन मात्र Valid हुने हुँदा यहाँ प्रवेश गर्नासाथ यसलाई भ्हतभलम गर्नुपर्ने हुन्छ । अन्यथा गैरकानूनी वसाई हुने हुनाले पनि कतिपय कामदारलाई समस्या आईपरेको देखिन्छ । कतारमा प्रत्येक वर्ष विदेशी कामदारले Resident Permit नवीकरण गर्नु पर्दछ र यसका लागि वार्षिक करिव क.रि. १३००।०० खर्च हुन्छ । करारमा रोजगारदाता स्वयंले भिसा नवीकरण खर्च व्यहोर्ने भनिए तापनि व्यवहारमा कतिपय कम्पनीले प्रतिमहिना क.री. १०० का दरले कामदारको तलवबाट कटटा गरी लिने गरेको समेत देखिन्छ भने कतिपयले त्यसको ५० प्रतिशत कामदारबाट लिने र कतिपय कम्पनीले सम्पूर्ण रकम स्वयं व्यहोरी Resident Permit लगाई दिने गरेको पाईन्छ । भिसा विनै बसेको अवधिको लागि नियमित गर्न प्रतिदिन क.री. १० बुझाउनु पर्ने प्रावधान छ । यसरी हुन आउने रकम वुझाउन नसकेमा कामदार गैर कानूनी भै अन्ततः स्वदेश फर्कनु पर्नेहुन्छ । यस अलावा कतिपय कम्पनीहरुले हेल्थ कार्डको लागि लाग्ने क.री. १००।०० समेत कामदारबाटै असुल्ने गरेका छन् । ख. मेडिकल चेक अप र फिंगर प्रिन्टको अवधि कतारको सम्बन्धित नियम अनुसार कतार प्रवेश गरेको मितिले ९० दिनभित्र Resident Permit लिई सक्नु पर्दछ । यो जिम्मेवारी रोजगारदाताको हो । रोजगारदाताले शुरुमा नै कामदारको राहदानी लिने र Resident Permit को लागि पुरा गर्नु पर्ने प्रक्रिया पुरा गर्न ढिलाई गर्ने हुनाले पनि कतिपय अवस्थामा कामदारलाई आवश्यक कागजात नभएको बहानामा प्रहरीले पक्रने तथा सताउने गरेको दृष्टान्तहरु छन् । यसरी पक्राउ परेका कामदारलाई फिर्ती केन्द्रमा लगी नेपाल फर्काउने गरेको पाईन्छ । ग. Resident Permit नवीकरण ः मध्यपूर्वका अन्य मुलुकमा झैं कतारमा पनि कामदारको राहदानी रोजगारदाताले लिने र रोजगारदाताको लापरवाहीका कारण राहदानीको म्याद समाप्त हुने तथा समयमा Resident Permit नवीकरण हुनमा कठिनाइ सिर्जना हुन्छ जसले गर्दा कामदारले गैर कानूनी रुपमा वस्न वा स्वदेश फिर्ता जान वाध्य हुनु पर्दछ । यसले गर्दा कामदारहरुमा मानसिक तनाव बृद्धि हुन जान्छ । घ. समयमा तलव नदिने वा तलव नै नदिने समस्याः यस दूतावासमा आउने समस्याहरु मध्ये तलव नदिने वा समयमा तलव नदिने समस्या सवै भन्दा बढी रहेको छ । यहा आउने समस्या मध्ये करीव ७० प्रतिशत चाहि न्यूनतम ४ महिनादेखि ९ महिनासम्म तलव नदिएका समस्याहरु हुने गर्दछन् । ङ. बासस्थानको व्यवस्थाः यहाँ काम गर्ने धेरै जसो कामदारहरु बस्ने क्याम्पको अवस्था दयनीय रहेको पाइन्छ । उचित भेन्टिलेशन, एयर कण्डिसन, पिउन योग्य पानी, विच्छयौना तथा विस्ताराको अभाव, एउटा सानो कोठामा २० जनासम्म कोचिएर बस्नु पर्ने अवस्था तथा उचित सौचालय नहुने आदि समस्याले गर्दा कामदारको स्वास्थ्य अझ कमजोर बन्दै जाने गरेको यथार्थ छ । च. स्वास्थ्यको सुरक्षाः स्वास्थ्य सेवा उपलब्ध गराउने भनी रोजगारदाताले करारमा उल्लेख गरे तापनि कतिपय अवस्थामा कामदार स्वयंले वार्षिक क.री. १०० वुझाई रहनु परेको देखिन्छ । यसबाट रोजगारदाताहरु कानून र प्रतिबद्धता पुरा गर्नमा कञ्जुस रहेको प्रमाणित हुन्छ । छ. आराम तथा मनोरञ्जनको कमी ः कामदारहरुलाई उचित आराम तथा मनोरञ्जनको सुविधा उपलब्ध नहुने हुनाले कतिपय कामदारहरु शारिरिक तथा मानसिक यातना भोग्न वाध्य हुन्छन् । ज. कार्यघण्टा ः करारमा दिनको ८ घण्टा वा हप्ताको ४८ घण्टा र इद्ल फितर र रमादानको समयमा ३६ घण्टामात्र कार्य घण्टा तोकिएको भए तापनि कामदारहरु १६ देखि १८ घण्टासम्म काममा खटिएको र ओभरटाइम वापतको रकम निकासा गर्नमा पनि कम्पनीहरु हिच्किचाउने र अन्तमा कामदारलाई नै निराश तुल्याउने गरेको पनि पाइएको छ । झ. करारमा उल्लेख गरेको काम दिने सम्बन्धमा ः रोजगारदाताले कामदारलाई करारमा उल्लेख भएको काम दिन नसकेको र विभिन्न बहानामा कामदारलाई सताउने गरेको देखिन्छ । यसमा Supply Company हरुले अझ बढी दुख दिने गरेको पाइन्छ । यस्ता कम्पनीहरुले काम नभएको समयमा कामदारको न्युनतम तलव पनि नदिदा कामदारहरु भोकै बांच्न विवश हुने गरेका छन् । काम नभएको अवस्थामा अन्यत्र काम गर्न पनि बर्जित छ । ञ. न्युनतम तलव निर्धारण नहुनु ः नेपालबाट आउने कामदारहरुको सन्दर्भमा न्यूनतम तलव रकम किटान नभएको हुनाले पनि समस्याहरु सिर्जना हुने गरेका छन् । यसमा रोजगारदाताले सकेसम्म कम तलव दिई काममा जोताउने गरेको र श्रमिकहरुलाई मारेर आफू मोटाउने गरेको देखिन्छ । हालैको मूल्य बृद्धि र महगीको स्तरलाई हेर्ने हो भने अदक्ष कामदारहरुको न्यूनतम तलव क.री. ६०० र खानाको व्यवस्था तथा अर्धदक्ष कामदारको न्यूनतम तलव क.री. ८००।०० अनिवार्य गर्न सकेमा उपयुक्त हुने । ट. विनापूर्व जानकारी पक्राउः कामदारलाई आफूले गरेको कसुरको जानकारी नै नदिई अनन्तसम्म थुनामा राख्ने गरेको देखिन्छ । विदेशी कामदार एक पटक थुनामा परीसके पछि सो को जानकारी स्थानीय सम्बन्धित मुलुकको दूताबासलाई दिने व्यवस्था हुनु पर्नेमा त्यसो हुन सकेको छैन । ठ. स्पोन्सरशीप परिवर्तनः स्पोन्सरशीप परिवर्तन गरेको जानकारी कतारको सम्बन्धित निकाय र सम्बन्धित दूतावासलाई पनि दिनु राम्रो हुने देखिन्छ । यसो त स्पोन्सर परिवर्तनमा नै महाभारत खेप्नु पर्ने अवस्था पनि छ । यस अलावा एक्जिट पर्मिटको व्यवस्थाले झनै जटिलता खडा गरेको छ । ड. कम्पनी छोडी भाग्ने समस्या ः आफू आएको कम्पनी विविध कारणले छोडेर भागेका वा आफू खुसी कम्पनी परिवर्तन गरी आफै भिसा लगाई काम गरेर बस्नेहरुको मृत्यु भएमा मृतकको लास पठाउन आनाकानी गर्ने समस्या । ढ. बीमा सम्बन्धी समस्या ः कतारमा कामको सिलसिलामा मृत्यु भएमा वा सडक दूर्घटनामा मृत्यु भएमा मात्र बीमा रकम प्राप्त हुने र अन्य अवस्था वा सुतेकै अवस्थामा हृदयाघातबाट मृत्यु भएमा बीमा नहुने हुनाले पनि मानिसलाई राहत मिल्न सकेको छैन । यसका लागि Round the Clock २४ सै घण्टाको बीमा गर्नु पर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसंग अनुरोध गर्नु पर्ने हुन्छ वा Labour Agreement मा नै सो कुरा समावेश गर्नु राम्रो हुन्छ । ण. तेश्रो मुलुकमा पुरयाई विचल्लीमा पार्ने समस्याः कतारमा कुनै पनि कतारी नागरिकले घरमा काम गर्नको लागि आवश्यक पर्ने माली, सुरक्षा गार्ड, भान्से, सवारी चालक विदेशबाट ल्याउनु परेमा श्रम विभागको पूर्व स्वीकृति नलिई पनि ल्याउन सक्ने प्रावधान छ । यसरी ल्याईएका कतिपय कामदारले कतारमै काम पाउने गरे तापनि कतिपयलाई भने त्यस्ता घर मालिकले साउदी अरवमा रहेको आफ्नो फार्म तथा उँट र भेडा चरनको काममा लैजाने गरेको र त्यस्ता कामदारलाई समस्यामा पार्ने गरेको देखिन्छ । ३. कामदार आफैंमा निहीत समस्याहरुः क. अशिक्षाः कामदारहरु आफैमा निहीत समस्याहरु समेत देखिने गरेका छन् । कतिपय अवस्थामा अशिक्षित तथा निराक्षर कामदारहरु पनि बैदेशिक रोजगारीमा आउने गरेका छन् । उनीहरुलाई नेपालदेखि नै ठग्ने कार्य शुरु भै कम्पनीमा समेत ठगीनु पर्ने अवस्था रहन्छ । कतिपयले अरुको राहदानीमा यात्रा गरेको समेत देखिन्छ जुन निकै जोखिमपूर्ण मान्न सकिन्छ । उनीहरुलाई कम्पनीले कम तलव उल्लेख भएको कागजमा सही छाप लगाउन वाध्य गर्ने, ओभरटाइम गणनामा झुक्याउने, विदाको दिनमा काम लगाई कम तलव दिने, कानूनी अधिकार नदिई नेपाल फर्काउने लगायतका समस्या पर्याप्त मात्रामा देख्न सकिन्छ । ख. अभिमुखिकरण तालीमको अभाव ः कतार आउनु पूर्व कुन काम गर्न चाहेको हो सो कामको सम्बन्धमा उचित तालीम, भाषाको ज्ञान लिई आएमा आफूले भने बमोजिमको काम, तलव तथा सुविधाहरु प्राप्त गर्न सकिन्छ तर यहां आउने अधिकांश कामदारहरु तालीमको प्रमाण–पत्र मात्र बोकेर आउने गरेको देखिन्छ । यस अलावा कतिपयले आएको भोली पल्ट नै सवारी नियम नजानेको कारण ज्यान गुमाउन पुगेको देखिन्छ । ग. Home Sickness को समस्या ः कतिपय कामदारहरु उचित मनोबैज्ञानिक तयारी नगरी अर्थात एजेण्टको बहकाउमा लागेर बैदेशिक रोजगारीमा आएको समेत देखिन्छ । यस्ता कामदारले छोटो समयमै Home Sickness ले काम गर्न नसकेको, काममा ध्यान नगएको, मानसिक विरामी भएको तथा सन्तुलन गुमाएका घट्नाहरु पनि प्रसस्त छन् । तर यसमा अरुको दोष नभै कामदार स्वयंको दोष हो । घ. मादक पदार्थ सेवन ः मादक पदार्थ सेवन कामदारको व्यक्तिगत समस्या हो । कतिपय कामदारहरु मादक पदार्थको कमी पुरा गर्न लुमा र ब्लुमुन (नेपालीले खजुरबुटे भन्ने) नामको घातक पदार्थ पिएर मृत्युको शिकार भएको समेत पाईएको छ भने कतिपयलाई यही पदार्थ प्राप्तीको लागि चोरी आदि कार्यमा संलग्न हुनु परेको छ । यसले व्यक्तिलाई मात्र क्षय पुग्दैन, उसको परिवार र मुलुकलाई समेत घाटा पुग्न जान्छ । ४. बैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका सम्भावित उपायहरुः कुनै पनि समस्याले समाधानको उपाय समेत साथै लिएर आएको हुन्छ । यसै आधारमा नेपालको बैदेशिक रोजगारीमा देखिएका समस्याहरु पनि समाधान गर्न सकिन्छ । यसका लागि सम्भाव्य उपायहरु निम्नानुसार हुन सक्दछन् ः क. नेपालबाट उत्पन्न हुने समस्या सम्बन्धमाः श्रम विभागले Employment Contract अनिवार्य रुपमा प्रमाणित गर्ने व्यवस्था गर्ने । Orientation Programme लाई केवल देखाउने दांतकोरुपमा मात्र स्थापित नगरी वास्तविकरुपमा नै कामदारलाई निजको काम, निजले वोल्नु पर्ने भाषा, सम्बन्धित मुलुकको भूगोल, हावापानी, वातावरण, सवारी नियम, सामाजिक व्यवहार सिकाउन सक्ने किसिमको तुल्याउनु पर्ने र यसका लागि खाडी मुलुकबाट फर्किएर गएका दक्ष जनशक्ति उपयोग गर्न सकिन्छ । मेनपावर एजेन्सीको सेवा शुल्क निर्धारण गर्नुपर्ने र कामदारलाई एजेण्टको चंगुलबाट मुक्तराख्नु पर्ने । व्यक्तिगत भिसाको कारोवार नितान्त नजिकको व्यक्तिको हकमा वाहेक बन्द गरिनु पर्ने । यसका लागि दूतावासलाई उचित निर्देशन र अधिकार दिनु पर्ने । कामदारहरुमा प्रतिष्पर्धाको भावनाको विकास गर्ने र ऋयmउभतभलत तुल्याउने । बैदेशिक रोजगार व्यवसायी संस्थाहरुलाई जिम्मेवार तुल्याउने । ख. कतारमा प्रवेश गरी सकेपछिका समस्या सम्बन्धमाः भिसाको लागि मध्यस्थकर्तालाई अनुचित लाभ दिई अस्वस्थ प्रतिस्पर्धा मार्फत भिसा खरिद विक्रिको प्रक्रिया बन्द हुनु पर्ने । यसका लागि बैदेशिक रोजगार व्यवसायी संघ नै चनाखो हुनु पर्ने । यस अलावा दूतवासले पनि सम्बन्धित कम्पनीमा बुझि भिसा वापत रकम असुल गरे नगरेको पत्ता लगाई त्यस्तो कार्य गर्नेहरुलाई असहयोग गर्ने । Labour Agreement को प्रावधान बमोजिम Joint Committee को बैठक मार्फत Resident Permit तथा Health Card निशुल्क उपलब्ध गराउन कम्पनीलाई वाध्य गराउने लगायतका वयवस्था गर्ने । घरको भिसामा पुरुष, महिला दुवै कामदार ल्याउन बन्द गर्नु पर्ने । बीमा सम्बन्धी व्यवस्था बढी फराकिलो तुल्याउन दूतावास तथा Joint Committee मार्फत समेत प्रयत्न गर्ने । कतारको श्रम विभागको समेत सहयोग लिई सकेसम्म सबै कम्पनीले २४ घण्टे वीमाको व्यवस्था गर्न लगाउने । Track Record खराव भएका नेपाल तथा कतार दुबै तर्फका कम्पनीहरुलाई Black List मा राखी निश्चित शर्त पुरा गरे पछि मात्र फुकुवा गर्ने व्यवस्था गर्ने । यसका लागि दूतावास र नेपाल सरकार श्रम विभाग वीच सहकार्य हुनु पर्ने । भागेर गैर कानुनी रुपमा बसेकाहरुलाई निश्चित प्रक्रिया पुरयाई नेपाल फर्काउन पहल गर्ने । कन्सुलर अधिकारहरु दिलाउने सम्बन्धमा दूतावासले अन्य श्रोत मुलुकका दूतावाससंग समन्वय गरी संयुक्त पहल गर्ने । आकाशिदो मुल्यबृद्धि अनुसार कामदारको न्युनतम तलव सरकारी तवरमा निर्धारण गरी वार्षिक रुपमा निश्चित प्रतिशत महगी भत्ताको रुपमा दिने व्यवस्था गर्नु पर्ने । यसका लागि दूतावास मार्फत नेपाल सरकारले पहल गर्ने । ग. कामदार आफैंमा निहीत समस्याहरु सम्बन्धमाः (क) कुन काम गर्न जाने हो भन्ने कुरा स्वयंले निर्धारण गर्ने । (ख) आफूले गर्ने काम तय भै सकेपछि सो सम्बन्धि तालीम तथा ज्ञान आफूमा छैन भने बैदेशिक रोजगार तालीम केन्द्रहरुबाट तालीम हासिल गरी आफूलाई सक्षम तुल्याउने । (ग) तालीमको प्रमाण पत्र बोक्दैमा र जागिरको नाम मात्र जान्दैमा काम गर्न सक्षम हुन सकिन्न । तसर्थ आफूलाई काममा सक्षम तुल्याउन अति आवश्यक छ । त्यसो भएमा पछि कतार प्रवेश गरी सकेपछि अन्य कामदारको भन्दा कम तलव सुविधा प्राप्त भयो भन्ने गुनासो तथा पश्चाताप मान्नु पर्ने झण्झट रहन्न । (घ) कामसंग सम्बन्धित सुरक्षा व्यवस्था सम्बन्धी जानकारी राख्ने । यसो भएमा अकालमा ज्यान जाने खतराबाट मुक्त हुन सकिन्छ । भिसा तथा अन्य कागजात सम्बन्धमाः (क) आफुले अन्तवार्तामा सहभागी भै उतीर्ण भैसकेपछि कतारस्थित रोजगारदाता कम्पनीले उपलब्ध गराएको रोजगारी सम्बन्धि सम्झौता Employment Contract) मा आप्mनो काम, पद, तलव स्केल, औषधी उपचार, बीमा, वासस्थान, यातायात लगायतका सुविधा हेरी आफूलाई उचित लागेमा सही छाप गरी एक प्रति सम्बन्धित बैदेशिक रोजगार व्यवसायी संस्थाबाट लिई आउने । (ख) श्रम तथा रोजगार प्रवद्र्धन विभागको श्रम स्वीकृतिको कागज । (ग) स्वास्थ्य परीक्षणमा आफू सफल भएको प्रमाण पत्र । (घ) नेपाल प्रहरीले जारी गर्ने प्रहरी प्रतिबेदन (Police Report) । (ङ) आप्mनो भिसाको फोटोकपि । कतार सरकारले भिसालाई इन्टरनेटबाट पनि डाउनलोड गर्न सकिने व्यवस्था गरेको छ । यसका लागि www.moi.gov.qa Visit गरी आफ्नो भिसा नम्बर Entry गरेमा भिसा प्रिन्ट गर्न सकिन्छ । (च) सक्कल राहदानी साथमा बोक्ने र कतार प्रवेशपछि कम्पनीमा बुझाउने । सामाजिक व्यवहार सम्बन्धमाः (क) कतार एक इस्लामिक धर्मको झण्डै शतप्रतिशत वाहुल्यता भएको मुलुक हो । (ख) यहां सर्वसाधारणको लागि मदिरापान निषेधित छ भने सार्वजनिक स्थानमा गरिने धुम्रपान पनि राम्रो मानिन्न । (ग) खुल्ला स्थान, चौर, सडक, पार्क, मैदान लगायतका स्थानमा दिसा, पिसाव गर्न मनाही छ । यो कार्य महगो पर्न सक्दछ । (घ) जुनसुकै पसल, घर, पार्क लगायतका सबै स्थानमा महिलाहरुलाई आमने सामने गरी बोल्न नहुने र कामसंग सम्बन्धित भएमा पनि कामसंग सम्बन्धित भन्दा बढी क’नै क’रा नगर्ने । (ङ) सार्वजनिक वा निजी क्षेत्रमा समेत सम्बन्धित व्यक्ति (महिला वा पुरुष) को अनुमति नलिई फोटो खिच्न नहुने । (च) चोरी, ठगी, झगडा लगायतका असामाजिक कार्यहरुमा संलग्न नहुने । (छ) सार्वजनिक स्थल तथा औपचारिक कार्यक्रमहरुमा पुरा वाहुला भएको कपडा लगाउने । (ज) सम्भव भएसम्म अरवी, हिन्दी र अंग्रजी भाषाको ज्ञान लिने । भाषा मानिसको संचार स्थापित गर्ने तथा मित्रता बढाउने महत्वपूर्ण माध्यम हो । (झ) अविवाहितहरुले केटी वा केटा साथी वनाएर हिड्न नहुने । मनोबैज्ञानिक तयारीः खास गरी सडक, भवन निर्माण (Construction) को काममा श्रमिकको रुपमा आउनेहरुको काम जटिल हुने गर्दछ । हावापानी पनि नेपालभन्दा विलकुल भिन्न भएको हुदा गर्मी याममा (मे महिनाको अन्तिम देखि अगष्ट महिनाको अन्तिम साता सम्म) बढीमा ५० डिग्रीसम्म तापक्रम हुन्छ । प्रचण्ड गर्मीमा काम गर्र्नु पर्छ भन्ने मानसिक तयारीका साथ आउने । यसो भएमा Home Sickness बाट बच्न सकिन्छ । यस प्रकार नेपाल सरकार, परराष्ट्र मन्त्रालय, सम्बन्धित नेपाली राजदूतावास, श्रम तथा रोजगार प्रबद्र्धन विभाग तथा अध्यागमन विभागले संयुक्त रुपमा सक्रियता प्रदर्शन गरी सुधारको लागि बैदेशिक रोजगार व्यवसायी संस्थाहरुलाई विश्वासमा लिन सकेमा हालसम्म देखिदै आएका माथि उल्लिखित लगायतका समस्याहरु कालान्तरमा स्वतः समाप्त भएर जानेछन् । यसबाट व्यवस्थित बैदेशिक रोजगारीको आशा गर्न सकिन्छ । यसका लागि nflu Human Trafficking लाई निरुत्साहित गर्नु हामी सबैको कर्तव्य हुन आउँदछ । | ||
नेपाल लोकतान्त्रिक मञ्च कतारको वार्षिक मुखपत्र प्रवासको आवाज, वर्ष २ अंक २ बाट साभार गरिएको | ||
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed