झापा, ३ असार, जिल्लाका ५ हजारभन्दा बढी किसानले मकैबालीमा क्षति व्यहोर्नु परेपछि सरकारसँग क्षतिपूर्ति माग गरेका छन् । रोपेको मकै बीउमा दाना नलागेपछि किसानले जिल्ला कृषि विकास कार्यालय झापामार्फत सरकारसँग क्षतिपूर्ति माग गरेका हुन् ।आइतबार जिल्लाका ५ हजार १ सय १५ किसानले क्षतिपूर्तिका लागि निवेदन दिएको कार्यालयका प्राविधिक सहायक गोविन्द आचार्यले बताए । 'किसान दैनिकजसो निवेदन लिएर आइरहेका छन्', उनले भने, 'उनीहरूले मागेजति क्षतिपूर्तिका लागि माथिल्लो निकायमा पत्राचार गरेका छौँ ।' कार्यालयले क्षेत्रीय कृषि विकास निर्देशनालय र बाली विकास निर्देशनालयलाई पत्राचार गरी किसानले व्यहोर्नुपरेको नोक्सानीबारे ध्यानाकर्षण गराएको छ । प्राविधिक सहायक आचार्यका अनुसार यो वर्ष १ हजार ७ सय ४५ हेक्टरमा लगाइएको मकैमा दाना नलागेको हो । 'मकै राम्रोसँग फलेको भए सहकारीको ऋण तिर्ने सोचाइ बनाएकी थिएँ', झापा अर्जुनधाराकी माइली राईले भनिन्, 'यसपालि त घरव्यवहार चलाउन पनि समस्या हुने भयो ।' अर्काको जग्गा अधियाँमा लिएर मकै खेती गरेकी राई अधियाँ पनि ऋण काढेर तिर्नुपर्ने वेला आएको सुनाउँछिन् । 'यसपटक आम्दानी हुने लक्षण परै जाओस्, खेती गर्दाको लगानी पनि उठेन,' झापा सतासीधामका अर्का किसान रमानन्द उपे्रतीले भने, 'मिहिनेत र पसिना त्यत्तिकै खेर जान नदिन सरकारले पनि सोच्नुपर्छ ।' मकैमा दाना नलागेपछि अध्ययनका लागि आएको नार्क टोलीले कुनै पनि प्रतिक्रिया नदिएपछि किसान झन् निराश भएका छन् । तर, कृषि विकास कार्यालयले भने राम्रो बीउबिजन प्रयोग नगर्दा समस्या भएको हुनसक्ने जनाएको छ । किसानले बिर्तामोडको झापा कृषि भण्डार, पशुपति कृषि भण्डार, समीक्षा कृषि भण्डार, गौरादहको नवज्योति कृषि भण्डार, दमकको शेखरा कृषि भण्डार, श्रीराम कृषि भण्डारसहित थोक तथा खुद्रा बिक्रेताबाट बीउ किनेका थिए । अधिकांश किसानले हाइबि्रड जातको मकै लगाएको कार्यालयले जनाएको छ । किसानले यो वर्ष मोन सेनटो कम्पनीको अलराउन्डर, रामपुरक, बायोसिस कम्पनीको राजकुमार, वाक्सा, शक्तिमान ९६८१ लगायत जातका मकै लगाएका थिए । दुई सय मेटि्रक टन बीउ बिक्री भएको कार्यालयको तथ्यांक छ । गत वर्षको तुलनामा यो वर्ष मकै बीउ अत्यधिक मात्रामा बिक्री भएको छ । किसानले गुणस्तरहीन बीउ र मलखाद प्रयोग गरेकाले मकैमा दाना नलागेको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । कार्यालयका कृषि प्रसार अधिकृत भगिरथ यादव भारतीय कम्पनीको प्रलोभनमा परेर नेपालका निजी बिक्री केन्द्र र सप्लायर्सले बीउबिजन बिक्री गर्दा पूर्वका किसानले समस्या भोगेको बताउँछन् । उनले विनाअनुमति भारतीय कम्पनीको प्रभावमा परी बीउबिजन बिक्री गर्ने सप्लायर्सलाई सरकारले कारबाही गर्नुपर्ने जनाए । कार्यालयले सप्लायर्स र स्थानीय बीउबिजन बिक्रेतालाई सूचीकृत नभएका कुनै पनि बीउबिजन बिक्री नगर्न सार्वजनिक सूचनामार्फत चेतावनी दिएको यादवले जानकारी दिए । 'गुणस्तरहीन बीउबिजन बिक्री गर्ने सप्लायर्स र स्थानीय कम्पनीलाई कारबाही गर्न अनुसन्ध्ाान थालिएको छ,' उनले भने । क्षेत्रीय कृषि विकास कार्यालय विराटनगरका अनुसार पायोनियर, सिडटेक, श्रीराम, मन्सेन्टा र बायरलगायतका भारतीय कम्पनीले सरकारी नेपालमा मकैको बीउ बिक्री गर्दै आएका छन् । राष्ट्रिय बीउबिजन कम्पनीमा सूचीकृत भएपछि मात्र बीउबिजन बेच्न पाइन्छ । कम्पनीले अनुमति नदिएका कुनै पनि बीउबिजन बिक्रीवितरण गर्न नपाइने प्रावधान छ । नेपालमा खुल्ला रूपमा हुने बीउबिजनको बिक्री-वितरणलाई नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन ०४५ मा राष्ट्रिय बीउबिजन ऐन र नियमावली ०५४ निर्माण भए पनि निजी बीउबिजन केन्द्र र सप्लायर्सले सो कानुनको बेवास्ता गर्दै आएका छन् ।
|
0 comments
Trackback URL | Comments RSS Feed