धुलाबारीमा करोडौको सम्पत्ति अलपत्र
मेचीनगर अनलाइन
|
Tuesday, June 22, 2010
|
1 comment
झापाको धुलाबारीस्थित नेपाल चिया विकास निगमको केन्द्रीय कार्यालय र भौतिक सम्पत्तीहरु सरकारले निजीकरण गरेपछि हाल वेवारिसे बनेका छन् ।
२०५७ सलामा तत्कालीन सरकारका अर्थ मन्त्री डा. रामशरण महतले नेपाल चिया विकास निगम कृषि विकास बैंक केन्द्रीय समितिको नाममा निजीकरण गरेपछि निगमको परिसरमा रहेका करोडौं मुल्य बराबरको सम्पत्ति कवाडीमा परिणत भएका छन् ।
सो निगमको कर्मचारी युनियनले निजीकरणको विरोध गर्दागर्दै अर्थमन्त्री डा. महतले ४ करोड रकम हिनामिना गरी कृषि विकास बैंकलाई निगमको स्वामित्व हस्तान्तरण गरेको कर्मचारीहरुले आरोप लगाएका छन् । यतिखेर निगममा एक लाख मूल्य बराबरको चिया भवनभित्रै कुहिएको र २ करोड मूल्य बराबरका सवारी साधनहरु पत्रु अवस्थामा पुगेका छन् ।
एक समयमा हजारौं चिया मजदुरलाई रोजगारी दिदै आएको सो निगम अहिले भने गौचरणमा परिणत भएको छ । निगमको ६ विघा जग्गा प्रयोग विहीन भएको र सो खाली जमिन जुवाडेको तास खेल्ने अखडा र खेलमैदान बनेको छ । सरकारले निगम निजीकरण गरेपछि निगमको रेखदेख गर्दै आएका चौकीदार विरबहादुर तामाङले भने । सो परिसरका भवनमा इप्रका धुलाबारीले अस्थाइ प्रहरी पोष्ट र सामुदायिक सेवा केन्द्र स्थापना गरेको छ । हाल सो भवनमा कृषि विकास बैंक धुलाबारीका कर्मचारी, प्रहरीका परिवार तथा निगमका पूर्व कर्मचारीहरु बसोबास गर्दै आएका छन् ।
निगमका पूर्व कर्मचारीहरु करोडौंको सम्पत्ति वेवारिसे हुनुको जिम्मा निजीकरण पक्षले लिनुपर्ने बताउँछन् । सार्वजनिक महत्वको यो सरकारी सम्पत्तिको संरक्षण एवम् सम्वद्र्धनका लागि सम्बन्धित निकायको ध्यान कहिले जाला ?
Filed Under: समाचार

यही हो नेपाल सरकारको असली रुप !!!!समाचार र जानकारीको लागी धेरै धेरै धन्यवाद