३६५ दिनमा नेपाल ८८ दिन मात्रै खुल्छ |
मेचीनगर अनलाइन
|
Saturday, June 26, 2010
|
0 comments
मुलुकलाई महङ्गीको मारले ग्रस्त बनाउँदै लगेको बेला केहीकार्य भने अत्यधिक सस्तो भएका छन् । महङ्गी, अभाव, दबाब तथा प्रभावले मुलुकलाई सिकिस्त पारेका छन् । एकातिर महङ्गीको मारमा पिल्सिएको मुलुक अर्कोतर्फको सस्तोले भने झनै ग्रसित भएको छ । तपाईलाई अचम्म लाग्न सक्छ के हो त्यस्तो सस्तो भनेर ? तर अचम्म नपर्नुहोस्, किनकि त्यसका भागिदार तपाई हामी नै हौं ।
नेपालमा सबैभन्दा सस्तो तत्व भनेको बन्द हो । बन्द हरेक समस्याको समाधानकर्ता भएको छ । हरेक मागलाई पूरा गर्ने कडी नै बन्द भएको छ यतिबेला । राजनीतिक असहमतिदेखि पारिवारिक असहमतिसम्मका समस्या सुल्झाउन बन्द अस्त्र प्रयोग गरिन्छ । मुलुक अधोगतितर्फ लागेको छ । चाहे राजनीतिक अवस्थामा होस् चाहे विकासको क्रममा होस् मुलुकले सोचे अनुरुप फड्को मार्न सकेको छैन । शिक्षाको गुणस्तर घट्दै गएको छ, आर्थिक मन्दी बढ्दै गएको छ, विकासे योजना ओठमै सिमित भएका छन् । राजनीतिक दलहरु असहमतिकै बखेडा झिक्न व्यस्त छन् । यद्यपि बन्दलाई सदाकालागि बन्द गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर बाहिर ननिस्कदै प्रतिबद्धतालाई उलङ्घन गर्ने प्रतियोगितामा भाग लिने दलको नियती नै भएको छ । तर यस्तो जर्जर अवस्थाको मूल्यांकन बारे कहिल्यै बहस र समीक्षा भएनन्, जुन दुःख लाग्दो कुरा हो । मुलुकलाई औद्योगिक, शैक्षिक, स्वास्थ्य, आर्थिक, जस्ता संवेदनशील क्षेत्रमा बन्दले ठूलै प्रभाव पारेको कुरा छर्लङ्ग नै छ ।वर्ष २०६६ लाई बन्द वर्षभन्दा पनि फरक पर्दैन । वर्षदिन अर्थात ३ सय ६५ दिनमा २ सय ७७ पटक देशका विभिन्न भागमा बन्द भएका छन् । यसरी हेर्ने हो भने सिङ्गो नेपाल वर्षभरि ८८ दिनमात्र खुल्ला रहेको पाइन्छ । उद्योग वाणिज्य लगायतका संघ संस्थाले बन्दलाई सदाकालागि बन्द गर्न आह्वान गरे पनि त्यसको सुनुवाई भने भएन । उद्योग बन्द, शैक्षिक संस्था बन्द, स्वास्थ्य क्षेत्र बन्द, शहर बन्द, जिल्ला बन्द जताततै बन्द नै बन्द रह्यो वर्ष २०६६ । त्यसो त कहिले तराई, कहिले पहाड, कहिले क्षेत्र त कहिले आफूखुशी घोषणा गरिएका गणराज्य पनि बन्दबाट अछुतो रहेनन् । अझ च्याउँझै उम्रिएका सशस्त्र समूहका कारण तराईका कतिपय जिल्ला त झन् महिनौसम्म बन्द नै रहे । राष्ट्रिपतिको कदम, प्रधानमन्त्रीको राजीनामा, राष्ट्रिय सरकार लगायतका माग लिएर एकीकृत नेकपा माअोवादी बन्द सफल बनाउन उद्दत भइरह्यो । हरेक समूह, क्षेत्र, तहतप्काले आह्वान गरेका बन्दकोबाटोबाट वर्ष २०६६ मा मुलुक गुज्रिरह्यो । यसरी बन्दको मारमा परेको मुलुकमा कतिसम्म विकासको आशा गर्न सकिन्छ र ! हरेकका हरेक मागलाई पूरा गरिदिने टेण्डर बनेको छ बन्द । यही टेण्डरको चपेटामा मुलुकमा मुख्य मुद्दाहरु चपेटिएका छन् । मुलुकका मुख्य मुद्दाहरु ओझेल पर्नाले मुलुक काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै भएको छ ।
अव वर्ष २०६६ ले नयाँ संविधानका लागि मार्ग प्रशस्त गर्न नसक्नुका कारण स्पष्ट नै हुन्छ । वर्षमा ८८ दिनमात्र मुलुक खुल्छ भने त्यहाँ कति सहज रह्यो भन्ने आफै पनि आँकलन गर्न सकिन्छ । जम्मा ८८ दिनमात्र सिङ्गो मुलुक खुलेर देशको चौतर्फी विकासको कतिसम्म आशा गर्न सकिन्छ त ? अत्यन्त सोचनीय प्रसङ्ग बनेको छ । यससँगै गम्भीरता पनि त्यतिकै सबलरुपमा देखिएको छ, देशको अवस्था यस्तै भइरहने हो भने मुलुकका उद्योगधन्दा, कल काराखाना, शैक्षिक संस्था, स्वास्थ्य क्षेत्रमा कसरी उन्नति गर्न सकिएला । मुलुकको मेरुदण्ड नै नाताकत हुने हो भने आम नागरिकले कस्तो अपेक्षा गर्ने । यसमा राजनीतिक दलहरुको ध्यान भने कहिल्यै जान सकेको पाइदैन । बन्दलाई सदाकोलागि बन्द गर्ने सहमतिमा हस्तक्षर गरेको मसी ओभाउन नपाउँदै त्यसलाई निरन्तरता दिने दलहरुको नियत पनि प्रष्ट नै बुझिन्छ । यसप्रति सबै जिम्मेवार पक्षहरु सहज, सतर्क तथा गम्भीर हुन पनि त्यतिकै आवश्यक छ । वर्ष २०६६ ले दिएको यस्तो दुःखदायी सन्देशबाट मुलुकका जिम्मेवार तप्काले अबका दिनमा केही सोच्न भने आवश्यक छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed