बर्खा लागेपछि गाउँमै बन्धक
मेचीनगर अनलाइन
|
Friday, July 23, 2010
|
0 comments
राजु अधिकारी, झापा,
खुदुनाबारी(झापा), श्रावण ६ -
जब आकाशमा बादल मडारिन थाल्छ, खुदुनाबारीबासीको मन एकतमासले पिरोलिन थाल्छ। सामान्य वर्षामा पनि बाढी आइहाल्ने प्रकृतिका खोलाहरूले चारैतिरबाट घेरिएको पूर्वोत्तर झापाको यो गाउँ झरी सुरु भएपछि बाहिरी सम्पर्कबाट पूरै टाढिन्छ।
‘बर्खा लागेपछि हामी गाउँमै बन्धक हुन्छौं,' खुदुनाबारी गाविसका पूर्व अध्यक्ष प्रेम गिरी भन्छन्, ‘चारैतिरको खोलाले हामीलाई कतै जान दिँदैन।' यसपटक बेलैमा मनसुन सक्रिय भएको झापामा जेठदेखि झरी परिरहेको छ। त्यसयता अधिकांश समय खुदुनाबारी बाहिरी सम्पर्कबाट वञ्चित भएको छ। पूर्वमा टाङटिङ, उत्तर र दक्षिण दिशामा सुखानी र पगला खोलाले गाविसका ९ वटै वडा घेरिएका छन्। ती खोलामा पुल नहुँदा वर्षा सुरु भएपछि गाउँले बाहिर जान सक्दैनन्। ‘सामान्य कामका लागि पनि बजार क्षेत्र पुग्नै पर्छ,' पूर्व अध्यक्ष गिरी भन्छन्, ‘बाढीले जान नपाएपछि हुनसम्मको सास्ती हुन्छ।'यो समस्याले गाविसको १८ हजारभन्दा बढी जनसंख्या मात्रै होइन, दक्षिण इलामका आधा दर्जन गाविसका अरु हजारौं नागरिक पनि प्रभावित छन्। इलामका दानाबारी, महमाई, शान्तिपुर, लक्ष्मीपुरलगायतका आधा दर्जन गाविसका बासिन्दा खुदुनाबारी-दानाबारी सडकमै निर्भर छन्। सदरमुकामसँग सोझै जोड्ने मोटरबाटो नहुँदा त्यहाँसम्म पुग्न पनि उनीहरूले बिर्तामोड आउनैपर्ने बाध्यता छ। त्यसका लागि सुखानी र टाङटिङ खोला तर्नैपर्छ।
‘बर्खामा बाहिर जाने कुरा त नसोचे पनि हुन्छ,' बिर्तामोडमा डेरा बसेर उच्च शिक्षा पढिरहेका दानाबारी-३ का शैलेश मगर भन्छन्, ‘खोला बढिहाल्छ, त्यसपछि यताको यतै, उताको मान्छे उतै भइन्छ।' खुदुनाबारी गाविसका अनुसार त्यहीँका १२ हजार भुटानी शरणार्थी तथा झापा र इलामका जनसाधारण गरी १ लाख १० हजारभन्दा बढी जनसंख्या हरेक बर्खामा बन्धक बन्ने गरेका छन्।
जिल्लाको दुर्गममध्येको खुदुनाबारी गाविस बिर्तामोडस्थित पूर्व-पश्चिम राजमार्गदेखि १३ किलोमिटर उत्तरमा पर्छ। उपभोग्य सामग्री खरिद गर्नेदेखि उपचारसम्मका लागि पनि यहाँका सर्वसाधारणले बिर्तामोड आउनुपर्छ। दक्षिण इलामेलीहरूको समस्या पनि त्यही हो। ‘हाम्रोमा बर्खामा बिरामी हुन पाईंदैन,' पूर्व अध्यक्ष गिरी भन्छन्, ‘गाडी पाईंदैन, खोलाले बगाउला भन्ने त्रास उस्तै हुन्छ।' उनका अनुसार यसपालि जेठकै बाढीले बगाएर एक भुटानी शरणार्थीको मृत्युसमेत भइसकेको छ।खोला तर्ने भरपर्दो माध्यम नहुँदाको पीडाबाट विद्यार्थीहरू पनि बढी प्रभावित छन्। उच्चशिक्षा अध्ययनका लागि शनिश्चरे बिर्तामोड र भद्रपुर धाउने विद्यार्थीहरू बर्खामा कक्षा पुग्न सक्दैनन्। स्नातक अध्ययनरत खुदुनाबारीस्थित सुखानी गाउँका कमल राय भन्छन्, ‘सक्नेहरू त डेरामा बस्छन्, नसक्नेले दुई
-तीन महिना पढाइ छाड्नुपर्छ।' गाविसका अनुसार झन्डै तीन सय विद्यार्थी खोला तरेर जानुपर्ने बाध्यतामा छन्।
-तीन महिना पढाइ छाड्नुपर्छ।' गाविसका अनुसार झन्डै तीन सय विद्यार्थी खोला तरेर जानुपर्ने बाध्यतामा छन्।
विज्ञहरूका अनुसार खुदुनाबारी हुँदै बग्ने टाङटिङ, सुखानी र पगला खोलाहरू सामान्य झरीमै बढीहाल्ने विशेषताका छन्। ‘ती खोलाको उद्गमस्थल नजिकै पर्छ,' झापाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेल भन्छन्, ‘चुरे क्षेत्र भएकाले सबैतिरको भेल खोलामै मिसिन्छ।' सबैतिरको भेल एकीकृत भएपछि खोला एकैछिनमा बढिहाल्ने उनले बताए। टाङटिङ जिल्लाकै उच्च जोखिमको खोलाका रूपमा चिनिन्छ।
एक लाखभन्दा बढी सर्वसाधारणको आवतजावतको मुख्य मार्गमा पर्ने खोलामा पुल बनाउन सरकाले ध्यान नदिँदा यस्तो अवस्था आएको स्थानीय बताउँछन्। डेढ दशकअघि खुदुनाबारीमा भुटानी शरणार्थी शिविर राखिएपछि दातृ निकायले टाङटिङ खोलामा पक्की ‘कजवे' बनाएका थिए। त्यही कजवेसँग जोडिने गरी उनीहरूले पाँच किलोमिटर सडक कालोपत्रेसमेत गरेका थिए। ‘आवागमन सजिलो पार्न यहाँ भएको काम त्यति हो,' पूर्व अध्यक्ष गिरी भन्छन्, ‘सरकारले एक रुपैयाँ पनि खर्च गरेको छैन।
Filed Under: समाचार



0 comments
Trackback URL | Comments RSS Feed