भारतीय हात्ती आतंक/दुई दर्जन घर भत्कायो
मेचीनगर अनलाइन
|
Thursday, July 22, 2010
|
0 comments
पर्वत पोर्तेल, (झापा)
बाहुनडाँगी (झापा), श्रावण ६ -
मंगलवार र वुधवार राति आएको हात्तीले बाहुनडाँगीका करिव दुइ दर्जन घर भत्काएको छ । प्रहरी चौकी वाहुनडाँगीका सहायक प्रहरी निरीक्षक पर्शुराम गिरीका अनुसार हात्तीले स्थानीय चन्द्रबहादुर सुनुवार, रामबहादुर गिरी, नरेन्द्र पाण्डे, दीलबहादुर पाण्डे, मेघराज खड्का, सीताराम कार्की, मनोहरी कार्की, मनमाया प्रधान, इन्द्रमाया प्रधान, गोकुल खत्री, प्रसाद पाण्डे, दलबहादुर प्रधान र हेमराज थापाको घर भत्काउनका साथै लाखौ रुपैयाँ बराबरको अन्नवाली खाएर नष्ट पारेको छ । हात्तीको आक्रमणका कारण यहाँका सर्वसाधारण रात परेपछि वलियो घर भएको छिमेकीकोमा आश्रय लिन थालेका छन् । 'उज्यालोमै खाना खाएर वेलुकी छिमेकीकोमा जान्छौ' पीडित सीताराम कार्कीले भने, 'उज्यालो भएपछि मात्रै आउँछौ ।' हात्तीले उनको घर भत्काउनका साथै धान, चामल, मकैलगायतका अन्नवाली खाएर नष्ट गरेको थियो ।
भारतीय जंगलबाट छिर्ने अधिकांश हात्तिले यो क्षेत्रलाई चरण क्षेत्रको रुपमा प्रयोग गर्दै आएको छ । वर्षायामका असार, साउन र भदौ महिना यो क्षेत्रमा हात्तीले बढी दुःख दिने गरेको प्रकृति संरक्षण समितिका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।
यसैवीच स्थानीयले अहिलेसम्म हात्ती प्रकोपको क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग सम्वन्धि निर्देशिका २०६६ वन्यजन्तु एवम पशुधनको क्षतिपूर्ति दिनेवारे प्रष्ट उल्लेख छ । तर, उनीहरुले निर्देशिकानै कार्यान्ययन नभएको गुनासो गरेका छन् । हात्तीको आक्रमणबाट हुने क्षतिलाई दैवीप्रकोप अन्तरगत समावेश नगरिदा यो समस्या भएको नेपाली कांग्रेसका युवा नेता निरज घिमिरेले जानकारी दिए । निर्देशिकामा हात्तीको आक्रमणका क्रममा सामान्य घाइते हुनेलाई ५ हजार, सख्त घाइतेलाई ५० हजार, मृत्यु भएमा आश्रति परिवारका लागि भनेर डेढ लाख रुपैया उपलव्ध गराउने उल्लेख छ ।
गाविसको तथ्यांक अनुसार हात्तीवाट हालसम्म दुइ दर्जन भन्दा बढीले ज्यान गुमाएका छन् भने करोडौं रुपैयाको सम्पत्ती नष्ट बनाएको छ । तर,हालसम्म कसैले पनि क्षतिपूर्तिवापतको रकम पाएका छैनन् । स्थानीय अर्जुन पाण्डे भन्छन्,'राहत रकमका लागि प्रशासन धाउदा धाउदै जनता हैरान भइसके ।'
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed