• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पूर्वराजाको सम्पत्तिलाई अझै सेनाको सुरक्षा


                                
@
सुब्रत न्यौपाने, झापा



झापा, ३१ असार
राजतन्त्र समाप्त भएको दुई वर्ष नाघिसक्दा पनि पूर्वराजा ज्ञानेन्द्रको व्यक्तिगत सम्पत्तिलाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ । शाही लगानीमा झापाको दमकमा सञ्चालित हिमालय चियाबगान सुरक्षा गर्न ज्ञानेन्द्र राजा भएलगत्तै सेनाको गुल्म नै स्थापना गरिएको थियो । तर, ज्ञानेन्द्र राजा हुँदा उनको सम्पत्ति सुरक्षा गर्न खटाइएको सेनालाई सरकारले अझै फिर्ता बोलाएको छैन ।
'२२ जेठ ०५८ पछि दमकको हिमालय चियाबगानमा नेपाली सेनाको गुल्म राखिएको हो,' दमक नगरका पूर्वउपप्रमुख लोकबहादुर धिमालले भने, 'यो कहिलेसम्म राखिन्छ, यसै भन्न सकिँदैन ।' चियाबगानका सँधियारसमेत रहेका धिमालले जनताको बारीमा सेना राख्ने अधिकार सरकारलाई नभएको बताए । समाप्त भइसकेका राजा र तिनको व्यावसायिक लगानीलाई राज्यको स्रोत र साधन खर्चेर सेनाले सुरक्षा दिनु लोकतन्त्रको उपहास भएको नागरिक अगुवाहरूको ठम्याइ छ ।
'ज्ञानेन्द्रको व्यापारिक लगानीलाई राज्यको स्रोत र साधन खर्चेर सुरक्षा दिइरहेको यो घटनाले राज्य र लोकतन्त्रकै उपहास भएको छ,' कानुन सुधार आयोगका सदस्य अधिवक्ता लीला उदासीले भने, 'राज्य शक्तिको दुरुपयोग गर्ने अधिकार कसैलाई पनि छैन ।' कसैको व्यक्तिगत लगानीको सुरक्षाका लागि राज्यको स्रोत र साधन खर्च गर्न नहुने उनले बताए ।
राज्यको स्रोत/साधन खर्चेर सेनाले बगानको सुरक्षा गरिहेको छ । तर, सो बगानले राज्यलाई तिर्नुपर्ने कर नबुझाएको वर्षां बितिसक्यो । पटक-पटक पत्राचार गर्दा पनि बगानले कर नबुझाएको दमक नगरपालिकाले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्रसहित शाही परिवारको लगानी रहेको बगानले पाँच वर्षदेखि कर नतिरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले बताए ।
सरकारले ०६२ मा एकीकृत सम्पत्ति कर लागू गरेपछि शाही लगानीको सो बगानलाई पनि करको दायरामा ल्याउने निर्णय स्थानीय राजनीतिक संयन्त्रको बैठकले गरेको थियो । दमक नगरपरिषद्को बैठकले बगानको सम्पत्ति २० करोड बराबरको भएको मूल्यांकन गरी कर बुझाउन आग्रह गरेको नगरपालिकाका लेखापाल भरत गौतमले बताए ।

परिषद्को मूल्यांकनबमोजिम बगानले दमक नगरपालिकालाई करबापत वाषिर्क तीन लाख ६० हजार रुपैयाँ बुझाउनुपर्छ । तर, बर्सेनि कर नबुझाएकाले जरिवानासमेत जोडेर २० लाख रुपैयाँभन्दा बढी भइसकेको छ । अघिल्लो साउन पहिलो साताभित्रमा बगानले नगरपालिकामा कर बुझाउने बताए पनि हालसम्म नबुझाएको गौतमले जानकारी दिए । 'यसपटक आफ्नो सम्पत्तिको आफैँ मूल्यांकन गरी कर तिर्न आउन भनेका थियौँ,' लेखापाल गौतमले भने, 'अवसर दिँदा पनि बगान व्यवस्थापन लामो समयदेखि सम्पर्कमा आएको छैन ।'
दमक-९ र १५ मा पाँच सय ७६ बिघा क्षेत्रफलमा फैलिएको चियाबगानमा मिनी दरबार र अन्य भौतिक संरचना छन् । पूर्वराजा महेन्द्रले ०१८ मा आफ्ना भाइ हिमालयको नाममा सो चियाबगान स्थापना गरेका थिए । गणतन्त्र स्थापनाअघि त्यहाँ रहेको दरबारमा राजपरिवारका सदस्य आरामका लागि आउने गरेका थिए । आफू राजा छँदा ज्ञानेन्द्र परिवारका सदस्यसहित दुईपटक बगानभित्रको मिनी दरबारमा आएर बसेका थिए । पूर्वराजशाहीको सम्पत्तिका रूपमा रहेको सो बगानभित्र निर्माण गरिएका भवनको नक्सा पाससमेत गरिएको छैन ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply