बाढीले झापामा यसपटक २७ परिवार विस्थापित
मेचीनगर अनलाइन
|
Tuesday, July 20, 2010
|
0 comments
सुव्रत न्यौपाने , झापा, ३ साउन
गत वर्षको बाढीबाट दुई अर्बबराबरको क्षति बेहोरेको झापामा यसपटक पनि बाढीको विनाश शृंखला सुरु भएको छ । असारको अन्तिम सातासम्म पाँच बालबालिकासहित सातले ज्यान गुमाएका छन् । साउनको प्रारम्भमा तीन गाविसका २७ घर परिवार विस्थापित हुनुका साथै दुई सय २७ घरमा आंशिक क्षति पुगेको छ ।
रतुवा र बिरिङखोलामा सोमबार आएको बाढीले ती घरपरिवार विस्थापित भएका हुन् । जिल्लाको पश्चिमी गाविस लखनपुरबाट पाँच, शरणामतिबाट नौ र डाँगीबारीबाट १३ घरपरिवार विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । रेडक्रसले गाउँ-गाउँका उपशाखामार्फत बाढीको क्षति विवरण संकलन गरेको हो ।विस्थापित परिवारलाई स्थानीय विद्यालय र सार्वजनिक भवनमा बस्ने व्यवस्था मिलाइएको रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए । 'चार दिनयताको वषर्ाले झापाका दुई दर्जन गाविसमा बाढीको जोखिम बढेको छ,' अध्यक्ष ढकालले भने, 'जोखिम कम गर्न खोला आसपासका कतिपय घर भत्काउन थालिएको छ ।'
विस्थापितलाई रेडक्रसले त्रिपाल, कम्बल र केही खाद्यसामग्री बाँडेको छ ।
विस्थापित अधिकांश विपन्न समुदायका छन् । दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउनेलाई समस्या भएको रेडक्रस सोसाइटी उपशाखा घैलाडुब्बाका सभापति चन्द्र चुडाल बताउँछन् । बिरिङको बाढीले डाँगीबारी गाविसमा तीन सय बिघाभन्दा बढी खेतीयोग्य जमिन बगाएको छ ।
'घरमा बिरिङको बाढी पसेपछि रातारात भाग्यौँ,' विस्थापित भएकी डाँगीबारी-२ की मीना राजवंशीले भनिन्, 'धन्न, ज्यान जोगियो ।' पूर्व-पश्चिम राजमार्गदेखि साढे तीन किलोमिटर दक्षणिमा रहेको घैलाडुब्बाको पशुबजारनजिकका पाँच सय परिवार बाढीको जोखिममा छन् । जोखिम क्षेत्रका कतिपय बासिन्दाले घर छाडिसकेको रेडक्रस उपशाखा सभापति चुडालले जानकारी दिए ।
बाढीको उच्चजोखिम रहेका झापाका सात मुख्य खोलामध्ये बिरिङ प्रमुख मानिन्छ । बिरिङ, कन्काई, रतुवा, मेची, निन्दा, हँडिया र टाङटिङलगायतका खोलाले बर्सेनि विनाश गर्दै आएका छन् । खोला गाउँ पस्नबाट रोक्ने भरपर्दो उपाय नभएकाले स्थानीयवासी रातभरि जाग्राम बस्ने गरेका छन् । सयौँ गाउँलेलाई बेघरबार बनाउनेगरी बर्सेनि आउने बाढी नियन्त्रण गर्न सरकारीस्तरबाट प्रभावकारी पहल नभएकाले गाउँले थप सास्ती बेहोर्न बाध्य छन् ।
यसपटक चार लाख खर्च गरेर घैलाडुब्बा गाविसले बनाएको बाँध भत्किसकेको छ । अघिल्लो वर्ष बाढीप्रभावित बनेको झापाको ६ लाखभन्दा बढी जनसंख्या यसपटक पनि उस्तै जोखिममा छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लाका आधा दर्जनभन्दा बढी खोलामा बाढीको जोखिम उच्च छ
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed