• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

'लुगाफाटो जोगियो, छोरी बगिन् ।'


 @
राजु अधिकारी झापा
एक महिनाअघि छिमेकी गाउँ कामाटोलीमा नातेदारको बिहे मनाउँदै गर्दा देवर श्यामले अत्तालिँदै फोन गरे, 'भाउजू, खोला आँगनमै आइपुग्यो, छिटो घर आउनुपर्‍यो।' ललितादेवी गणेश, २२, तुरुन्तै शरणामति-३ स्थित घर फर्किन्। पति रोजगारका लागि कतार गएकाले तीन छोरीसहितको घर एक्लै चलाइरहेकी ललिताले घरका सामान त जोगाइन् तर बिरिङ खोलाको बाढीले उनकी माइली छोरी बगायो, कहिल्यै नफर्काउने गरी।आँगनमा खेलिरहेकी तीन वर्षीया प्रियंकालाई बाढीले बगाउँदा उनी घरभित्र लुगाफाटो पोको पार्दै थिइन्। जेठी छोरी पुष्पा र कान्छी नन्दनी सँगै थिए। 'बाढीले लैजाला भनेर म लुगाफाटो पोको पार्दै थिएँ,' उनले सम्भि्कइन्, 'अरूतिर ध्यानै गएन, एकछिनमा खोज्दा छोरी थिइन।'
आधा घन्टापछि सात सय मिटर दक्षिण पानीमा भेटिइन्, प्रियंका।
पाँच कठ्ठा जमिनको आम्दानीले चलेको परिवारको स्थिति सुधार्न एक वर्षअघि विदेशिएका थिए, ललिताका पति शिवप्रसाद। सानैमा घरजम गरेकी उनीहरूकी जेठी छोरी पुष्पा स्कुल जान थालेकी थिइन्। निर्दयी बिरिङले एउटी छोरी सदाका लागि खोसेपछि खुसी लुटिएको छ। 'फोनमा श्रीमान्लाई सुनाउनासाथ उहाँ डाँको छोडेर रुनुभयो,' ललिताका आँखामा आँसु छचल्किए। 
त्यसदिन धन्य जोगिएको घर नजिकैबाट बिरिङ बग्दा जुनसुकै बेला दुर्घटना हुनसक्ने त्रास छँदै छ। 'अरूतिर जाने ठाउँ छैन,' उनले बाध्यता सुनाइन्, 'आफ्नो जग्गा टाढा छ, कहाँ जानु?'
ललिताका छिमेकी स्थानीय रेडक्रसकर्मी नारायण गणेशले बाढीको जोखिमले गाउँका सबै परिवारको दशा उस्तै रहेको बताए। 'पानी पर्न थालेपछि सबैको मन डराउन थाल्छ,' उनले भने।
रातारात सुकुम्बासी 
कलबहादुर राजवंशीको परिवार 'देवनिया' (धनाढ्य) भनेर कहलिनुको कारण थियो- उनीहरूको जमिन। प्रशस्त उब्जनी हुने १३ बिघा जग्गाकोे आम्दानी यो संयुक्त परिवारको वैभवपूर्ण जिन्दगीको आधार थियो। विपन्न बस्तीमा घरैमा कम्प्युटर, परिवारका प्रायः सदस्यको हातमा मोबाइल जमिनकै आम्दानीले सम्भव पारेको थियो।बितेको हप्ता दिनमा राजवंशी परिवारमा अकल्पनीय बदलाव आएको छ। 'दैवदेखि हरि पनि डराउँछन् भन्थे,' परिवारका मूली कलबहादुरले भने, 'दैवै लागेपछि मान्छेको केही नलाग्दो रहेछ।'
बिरिङको बाढीले सबै जमिन बगाएर भूमिहीन भएका पूर्वशिक्षक उनको परिवारले अहिले गाउँकै स्कुलमा आश्रय लिएको छ। 'भएको घर पनि भत्क्यो,' उनले भने, 'खान पनि राहत पर्खनुपरेको छ।'पाँच दाजुभाइमध्ये उनीसहित तीन अवकाशप्राप्त सरकारी कर्मचारी छन्। यही महिनाभित्र अंशबन्डा गर्ने योजना थियो। नजिकै आएको खोला डिलैको घरमा झोक्राइरहेका उनले भने, 'अब के अंशबन्डा गर्नु?'
मलिलो र सजिलै सिँचाइ हुने ठाउँ भएकाले दुई बाली लाग्थ्यो। धान, मकै, गहुँ, फापर, दाल र सागसब्जी फल्थ्यो। 'एक बिघामा ६० मन (दुई टनभन्दा बढी) धान फल्थ्यो,' बचेखुचेका सामान सुरक्षित स्थानमा सार्न छोराछोरीलाई अह्राउँदै गरेका उनले भने, 'अब के गर्ने, सोंच्नसम्म सकेको छैन।'
गत साल भदौमा बिरिङले धार बदल्नु राजवंशी परिवारको दुर्भाग्य साबित भयो। डाँगीबारी-५ हुँदै बस्ती पसेको बाढीले सयौं परिवारलाई उठिबास लगाएको थियो पोहोर, कलबहादुरको पनि २/३ बिघा जग्गा बगाएको थियो।
अघिल्लो साता त्यही ठाउँबाट भेल पसेपछि दशा चर्क्यो। 'जग्गा धमाधम काटेर बगाउन थाल्यो,' लालाबाला च्यापेर गौरीशंकर माविमा छिमेकीसँगै बसेकी कलबहादुरकी बुहारी सर्गवतीले भनिन्, 'हेर्दाहेर्दै जग्गामा बिरिङ बग्न थाल्यो।' घरनजिकै खोला आएपछि सरसामान लिएर अरू विस्थापितसँगै स्कुल आएको उनले बताइन्।एउटै आँगनवरिपरिका घरमा बसिरहेको राजवंशी परिवारले बाढीले बगाउला भनेर तीनवटा घर भत्काइसकेको छ। काठ र चित्राको घर भत्काए पनि दुइटा पक्की घर के गर्ने भनेर परिवार चिन्तित छ। 'यी घर जुनसुकै बेला बग्छन्,' कलबहादुरले भने, 'न भत्काउनु, न रुँग्नु भएको छ।'
अहिले खोला बगिरहेको ठाउँका अधिकांश जग्गामा यसपालि रोपाइँ भएको थियो। केही जग्गामा चैते धान फलेका थिए। 'धान पनि गयो, रोपो र जग्गा पनि गयो,' उनले भने। झन्डै ४० जना रहेको उनको संयुक्त परिवारमा दर्जनभन्दा बढी नानी निजी स्कुल पढ्छन्। ६० काटेका चार जोडी अभिभावकमध्ये अधिकांशको औषधिखर्च पनि धेरै छ।'सबै खेतीले चल्थ्यो,' कलबहादुरका छोरा खगेश्वरले भने। उनका अनुसार परिवारका ८ जना रोजगारका सिलसिलामा बाहिर छन्। 'अब उनीहरूकै आस हो,' बाढीले सिरीखुरी लगेपछि काठमिस्त्री काम थालेका उनले भने।
दुई वर्षयता बाढीले सबभन्दा ठूलो क्षति गरेको डाँगीबारीमा सात दिनभित्र २६ परिवार विस्थापित भइसकेका छन्। भर्खरै बाढीबीचैमा बिरिङको धार बदल्न ४ लाख ७० हजार रुपैयाँमा गरिएको तटबन्ध पनि भत्काएपछि विस्थापन र कटान जारी छ। 'एक हप्तामा साढे तीन सय बिघा जग्गा बगिसक्यो,' डाँगीबारी गाविस सचिव हरि सिटौलाले भने। विस्थापितलाई राहतस्वरूप मंगलबार प्रतिपरिवार हजार रुपैयाँ दिइएको छ।
सके भागुम्ला, नसके त्यत्तिकै
अघिल्लो वर्ष भदौको एक रात सम्झँदा अनिता मोतेको आङ अहिले पनि जिरिङ्ग हुन्छ। परिवारसहित घरमा सुतिरहेका बेला बाँध भत्काएर गाउँ पसेको खोलाले घर घेरेको थियो। 'मध्यरात बालबच्चा बोकेर हिँड्नुपर्‍यो,' घैलाडुब्बा-६ की मजदुर महिलाले भनिन्, 'धन्य ज्यान जोगियो, सम्पत्तिका नाममा भएको वस्तुभाउ बगे।'
गाउँका सबैले भोगेको नियतिबाट पीडित उनलाई यसपालि झन ठूलो पीडा छ। बाढीको सम्भावित त्रासले गाउँका प्रायः सबैले बजार क्षेत्रमा डेरा खोजेर भएभरका सामान सारे। तर, उनी बिलखबन्दमा छिन्। 'डेरा बसौं केले बस्नु, नबसौं बगाउला भन्ने पिर,' उनले भनिन्।गत साल बाढीले जिल्लाकै सबभन्दा निर्दयी खोला बिरिङ गाउँ पसेपछि छेक्न बनाइएको बाँधमा पनि कटान सुरु भइसकेको छ। वर्षा नरोकिएकाले खोला पस्ने सम्भावना छँदै छ। कृषि मजदुरीबाट आउने ज्याला परिवारका पाँचजनाको भरपोषणमै सकिन्छ। 'खानै पुग्दैन, महिनाको छ सय डेराभाडा कसरी तिर्नु?' अनिताले बाध्यता सुनाइन्, 'आपत पर्दा सके भागुम्ला, नसके त्यत्तिकै।'
जिल्लै जोखिममा 
झापामा बग्ने दर्जन खोलामध्ये सातवटाको विनाशलीला वर्षेनी दोहोरिन्छ। पानीजन्य प्रकोपको जोखिममा विश्वकै ३० औं स्थानमा पर्ने नेपालको पूर्वी जिल्ला झापा बाढीको उच्चजोखिममा रहेको बितेका दुई वर्षको बबन्डरले पुष्टि गरेको छ।
'झापाको कुनै ठाउँ जोखिममुक्त छैनन्,' प्रकोपविज्ञ प्रशासकका रूपमा परिचित झापाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले भने। यसपटक दुई चरणमा ठूलो वर्षा भएको असार ७-९ र साउन १-३ मा डुबानको असर नपरेका जिल्लाका कुनै ठाउँ बचेनन्। बिर्तामोड, मेचीनगर, दमक, चन्द्रगढी, भद्रपुरजस्ता सहरी क्षेत्रसमेत जलमग्न बने।
प्रकोप नियन्त्रण अध्ययन क्रममा विश्वका २३ मुलुकको अनुभव बटुलिसकेका पोखरेलका अनुसार चुरे क्षेत्रसँग जोडिएको जिल्ला भएकाले झापामा बाढीको विनाश बढी हुन्छ। 'चुरेको माटो परिपक्व छैन, वर्षामा बगेर खोलामा मिसिन्छ,' झापाकै बासिन्दा पोखरेलले भने, 'खोला पुरिँदै जान्छ, पानी बस्तीतिर पस्दै जान्छ।'मानवनिर्मित कारण पनि जिल्लाका ६ लाख बासिन्दा र अर्बौंको भौतिक सम्पति जोखिममा छन्। 'प्लटिङ जथाभावी भइरहेको छ,' निकासको व्यवस्था नभएको उल्लेख गर्दै उनले भने, 'सहरी क्षेत्र जलमग्न हुनुको कारण त्यही हो।' चुरे क्षेत्रको वन विनाश र वृक्षरोपणमा देखिएको उदासीनता बाढीलाई बस्तीतिर उकास्ने आधार भएको उनले बताए। उनका अनुसार जिल्लाको सबभन्दा आतंककारी खोला बिरिङ हो। त्यसपछाडि कन्काई, रतुवा, मेची, निन्दा, हडिया, टाङटिङ र कमल हुन्।
बढ्दैछ क्षति
अघिल्लो वर्ष भदौमा ३० गाविसका ४ सय १५ घर बगेर हजारौं घर डुबानमा परेको झापामा यसपटक त्यही क्रम दोहोरिएको छ। बिहीबारसम्म जिल्लाका विभिन्न स्थानबाट २ सय ८ परिवार विस्थापित भइसकेका छन्।रेडक्रस झापाका अनुसार तीमध्ये केही घर फर्केका छन् भने धेरैजसोले स्कुल, आफन्तकहाँ र छिमेकमा आश्रय लिएका छन्। असारयता डेढ सय बिघा जग्गा कटानमा परेको प्रशासनको तथ्यांक छ। तर, कटानको मात्रा धेरै गुणा बढी रहेको स्थानीय बताउँछन्। रेडक्रसका अनुसार २ हजार १ सय घर डुबानमा परेका छन््।
जेठदेखि साउनसम्म बगेरै दुईजनाको ज्यान गएको छ। डुबेर तथा पानीजन्य दुर्घटनाका कारण पाँचजनाको मृत्यु भएको छ। चारजना बेपत्ता छन्। शुक्रबार नै झापा, शान्तिनगर-६ को टिमाई खोलामा डुबेर १४ वर्षे स्थानीय बालक प्रवीण राईको मृत्यु भएको छ।
गत वर्ष ४४ करोड ७१ लाख ६८ हजार रुपैयाँ बराबरको भौतिक संरचना क्षति भएको थियो। यसपटक पूर्व-पश्चिम राजमार्गै अवरुद्ध हुनेगरी लखनपुरस्थित गेउरिया खोलाको कल्भर्ट भासिएको छ।
पीडितहरूको बिजोग
पीडितहरू सरकारी बेवास्ताको सिकार बनेका छन्। हजारौं परिवार पीडित बन्दा गत वर्ष सरकारले १० लाख रुपैयाँ दियो। प्रतिपरिवार १ देखि ३ हजार बाँड्नेबाहेक केही गरेन। दाताहरूले दिएको सुख्खा खाद्य सामग्रीका भरमा दिन काट्नुपर्ने बिस्थापितको दशा यो वर्ष पनि उस्तै छ। क्षतिपूर्ति दिने र विस्थापितलाई पुनर्स्थापित गर्ने योजना कहिल्यै बनेन।
सरकारले गत वर्ष मन्त्रीको बाढी अवलोकनका लागि भने लाखौं खर्च गर्‍यो। स्रोतका अनुसार जिल्लाकै बासिन्दा सामान्यप्रशासन सहायकमन्त्री जितु गौतमले अवलोकनका लागि ११ लाख ९५ हजार ७ रुपैयाँ ५० पैसा हेलिकोप्टर खर्च गरेका थिए। अर्थमन्त्री सुरेन्द्र पाण्डे, ऊर्जामन्त्री प्रकाशशरण महतलगायतले गरेको खर्च बेहिसाब रह्यो।
नियन्त्रण प्रयास
बाढीले वर्षेनी ठूलो क्षति गर्ने झापामा त्यस अनुपातमा नियन्त्रण प्रयास भएको छैन। भर्खरै सकिएको आर्थिक वर्षभित्र 'जनताको तटबन्ध' कार्यक्रमअन्तर्गत सरकारले १० करोडभन्दा बढी लगानी गरेको छ। रतुवा, मावा र कन्काईमा भएको यो खर्चबाहेक जिविसले ६० लाख ६९ हजार रुपैयाँ 'नदी नियन्त्रण'मा खर्चेको छ। तर, यो लगानीले जिल्लालाई बाढीको जोखिमबाट सुरक्षित राखेको छैन।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

1 comment

Trackback URL | Comments RSS Feed


  1. jata bata pani gariv lai nai pida hunchha

     

Leave a Reply