झापामा पुनः चिया विवाद
मेचीनगर अनलाइन
|
Saturday, July 31, 2010
|
0 comments
शनिश्चरे (झापा), साउन १५-सहमति भएका दस दिन निबित्दै झापामा पुनः चिया विवाद बल्झिएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय, झापामा भएको सर्वपक्षीय वार्ता बिना निष्कर्ष टुङ्गिएपछि विवाद बल्झिएको हो। असार २९ गते हरियो चियापत्तीको मूल्य निर्धारण गर्न गठित सहजकर्ता समिति, चिया उत्पादक सङ्घ र साना चिया किसानबीच भएको सहमति कार्यान्वयन गर्न चिया उत्पादक सङ्घका प्रतिनिधिले नमानेपछि विवाद चर्किएको हो।
वार्ता असफल बने लगत्तै साना चिया किसान सङ्घले ५५ सदस्यीय जिल्ला सङ्घर्ष समिति गठन गरेका छन्। सङ्घका अध्यक्ष पूर्णकुमार कार्कीले किसानका मागलाई बेवास्ता गरिदिएपछि बाध्य भएर सङघर्ष समिति गठन गर्नु परेको बताए।झापाली साना चिया किसान सङ्घका अध्यक्ष मुरारी खरेलले भारतीय बजारको आधारमा मूल्य दिने सहमति भए पनि उद्योगीहरू नमानेपछि विवाद बल्झिएको बताए।
उद्योगीहरूले आफैले सहमति गरेको सुल्झाउन छाडेर दायित्वबाट पन्छिएको आरोपसमेत उनले लगाए। असार २९ गते चिया उत्पादक सङ्घ झापाका अध्यक्ष ध्रवकुमार शिवाकोटीले भारतीय बजारको अनुगमनपछि मूल्य समायोजन गर्न वैज्ञानिक ग्रेडिङ गर्नेलगायतका सहमति जनाएका थिए।
विवाद बढ्दै गएपछि साउन १ देखि ५ गतेसम्म झापामा चिया कारखाना बन्द भएका थिए। रासस
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed