स्तर विवादले चिया उद्योग बन्द
मेचीनगर अनलाइन
|
Monday, July 19, 2010
|
0 comments
राजु अधिकारी, झापा साउन ३
मौसमी अनुकुलताले चियाका हरेक बोटमा लागेका रहरलाग्दा मुना देखेर जयराम तिम्सिना फुरुंग थिए।
दुई बाली अन्न फल्ने पाँच कठ्ठा जमिनमा पाँच वर्षअघि चिया लगाउँदाको सपना यस पटक साकार हुने उनमा आस थियो। तर, पहिलो गाँसमै ढुंगा भने झैं तीन दिनयता उनी बेचैन छन्।
'पत्ति टिप्ने बेलामै फ्याक्ट्री बन्द भयो,' मेचीनगर १३ का उनले भने, 'पत्ति खेर जाला भन्ने पिरले मार्यो।'हरियो पत्ति बिक्रीबाट प्राप्त हुने रकमले भर्खरै एसएलसी गरेकी छोरीको उच्च शिक्षा थालनीको योजना बुनेका उनी ऋण खोज्नु पर्ने अवस्थामा पुगेका छन्।
जिल्लाका चिया उद्योगीले कारखाना बन्द गरेर नयाँ बार्गेनिङ सुरु गरेपछि उनी जस्ता धेरै किसानको बिचल्ली भएको छ। आफुखुसी मूल्य तोकेर किसानसँग हरियो पत्ति किन्दै आएका उद्योगीले मापदण्ड बेगर गुणस्तर पनि निर्धारण गर्न थालेका थिए। यस्तो आधारहीन ग्रेडिङ तुरुन्त रोक्न किसानले दबाब दिएको झोंकमा उनीहरुले उद्योग बन्द गरेका हुन् । हरियो पत्ति उत्पादनको मुख्य सिजनमा कारखाना बन्द भएपछि एक हजारभन्दा बढी चिया किसान मारमा परेका छन्।भित्री खेल
चिया उद्योगीको संस्था चिया उत्पादक संघका अध्यक्ष धु्रवकुमार शिवाकोटीले उद्योग किसानबाटै असुरक्षित भएकाले बन्द गर्नुपरेको बताए। यसको भित्री कथा भने बेग्लै छ। भर्खरै मात्र संघ प्रमुखको जिम्मेवारी पाएका शिवाकोटीले गत मंगलबार नयाँ विवाद सुल्झाउन भद्रपुरमा आयोजित सर्वपक्षीय भेलामा उद्योगीले किसान ठगेको स्वीकार गरेका थिए।
'मूल्यमा भएको अन्याय बसेर मिलाउन सकिन्छ,' किसान, दल, प्रशासन तथा नागरिक प्रतिनिधि सहभागी भेलामा उनले भनेका थिए। लगत्तै किसानले गुणस्तर निर्धारणमा मापदण्ड खडा नगरिएको भन्दै विरोध गरेका थिए।
ग्रेडिङको सर्वमान्य सिद्धान्त नअपनाएको, त्यसका लागि विज्ञको सहायता नलिई मनखुसी गरिएको किसानको गुनासो थियो। 'ग्रेडिङमा वैज्ञानिक मापदण्ड नभएको साँचो हो,' चार घन्टा लामो छलफलमा शिवाकोटीले भनेका थिए, 'ठिकै छ, अब विज्ञ झिकाएर गे्रडिङ गरौं।' उनको अभिव्यक्तिले आक्रोशित बनेका किसानले एकै स्वरमा भने, 'हचुवा गे्रडिङ तुरुन्त रोक्नुपर्यो।'
शिवाकोटी मौन बसेपछि भेलाले उद्योगमा गएर यस्तो आग्रह गर्ने अनुमति किसानलाई दिएको थियो। किसान ज्ञापनसहित उद्योग पुग्न थालेपछि अघोषित 'सिन्डिकेट' चलाइरहेका उद्योगीले कारखाना बन्द गर्न सुरु गरेका हुन्। फागुनदेखि असोजसम्मको समय हरियो चियापत्ति उत्पादनको मुख्य सिजन हो। यही 'पिक आवर' मा कारखाना बन्द गरेपछि झुकाउन सजिलो हुने उपाय रोजेको किसान बताउँछन्।
चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार झापामा ९ हजार ८८ हेक्टर जमिनमा चिया खेती छ। त्यसमा झन्डै १२ सय साना किसान छन्। ती किसानले जिल्लाका उद्योगहरुमा हरियो पत्ति बेच्नुको विकल्प छैन। 'निश्चित समयमा उद्योग पुर्याउनै पर्छ,' झापाली चिया किसान संघका अध्यक्ष मुरारी खरेल भन्छन्, 'परिमाण ठूलो हुने भएकाले टाढा लैजान सक्दैनौं।' किसानको यही बाध्यतासँग उद्योगीहरुले खेलेको उनको आरोप छ। उनका अनुसार जेठदेखि 'ग्रेडिङ' थालेका उद्योगीले ए, बी, सी र डी गरी चियाको चार श्रेणी तोकेका छन्। प्रविधि र विज्ञ वेगर गुणस्तर प्रतिशत तोकिएकाले एउटै चियाले फरक-फरक उद्योगमा फरक-फरक श्रेणी पाउने गरेको छ। एउटै थुप्रोको चिया एउटा उद्योगमा 'ए' र अर्कोमा सी' ग्रेडमा पर्ने गरेको खरेलले बताए।
मू्ल्यमा पनि मनपरी
२०१५ सालताका सुरु जिल्लाको चिया खेतीमा डेढ दशक अघिदेखि साना किसान संलग्न छन्। 'पैसा फल्ने खेती' भनेर चिनिएको चिया २०५२ देखि सर्वसाधारणले लगाउन थालेका थिए। अन्नवाली मासेर नगदे वाली रोजेका किसानले उचित मूल्यका लागि उद्योगीसँग संधै सघर्ष गर्दै आएका छन्। 'मैले फागुनदेखि अहिलेसम्म उद्योगलाई हरियो पत्ति बुझाइरहेको छु,' चिया किसान पर्वत डाँगी भन्छन्, 'तर, यसको मूल्य कति पाउँछु थाहा छैन।'
उनीजस्ता सयौं किसान हरियो पत्ति बुझाउँदै मूल्य कुरेर बसेका छन्। तर, पाँच महिनासम्म उद्योगीले रकम भुक्तानी होइन मूल्यसमेत तोकेका छैनन्। गत मंगलबारको भेलामा भुक्तानी सुरु गर्ने बचा गरेका अध्यक्ष शिवाकोटीले मूल्यबारे भने केही बोलेनन्। 'मलाई मूल्यबारे केही नबोल्नु भनेका छन,्' उद्योगीहरुका प्रतिनिधि उनले भनेका थिए, 'त्यसैले म केही भन्न सक्दिन।'
सधैं समस्या
धेरै किसान र थोरै उद्योगी भएको झापामा चियाको मूल्यमा वर्षेनी विवाद हुन्छ। उद्योगीले मनपरी गरेको भन्दै किसानले दर्जनौं पटक हरियो पत्ति सडकमा फ्याकेका छन्। सधैं दोहोरिने मूल्य विवाद सहज बनाउन एक वर्षअघि झापा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र घिमिरेको नेतृत्वमा सहजकर्ता समितिसमेत बनेको थियो। त्यसले भारतीय बजार बुझ्ने र सोही अनुरुप मूल्य तोक्न सुझाव दिने निर्णय भएको थियो।
भारतीय बजार मूल्य बुझेर आएको टोलीले त्यँहाभन्दा प्रति केजि डेढ रुपैंया सस्तो दरमा किसानलाई भुक्तानी गर्न सुझाव दिएको थियो। तर, आफ्नै सहमतिमा गठित समितिको सुझाव लत्याउँदै उद्योगीहरुले मूल्यमा गरेको मनपरी जारी राखे।
गत सिजनमा झापाका किसानले हरियो पत्तिको मूल्य प्रति केजी ८ रुपैयाँदेखि २० रुपैयाँसम्म पाए, जुन भारतीय बजारभन्दा सात रुपैयाँ सस्तो थियो। 'त्यही मनपरी रोक्न मात्रै भनेका हौं,' साना चिया किसान संघ झापा अध्यक्ष पूर्ण कार्की भन्छन् 'त्यसबाट जोगिन उद्योग बन्द गर्ने नाटक उद्योगीहरु गर्दैछन्।'
कार्कीका अनुसार चिया विवादमा सहजीकरण गर्न सहजकर्ता समिति बनेको बेला उद्योगले प्रतिष्पर्धाका आधारमा मूल्य तोक्ने सहमति भएको थियो। 'तर सबै उद्योग एक छन्, उनीहरुको मूल्य एउटै हुन्छ,' उनले भने, 'उद्योग्ाीले सिन्डिकेेट चलाएपछि प्रतिष्पर्धा कसरी हुन्छ?' त्यही गठबन्धनका कारण किसान उचित मूल्यबाट वञ्चित रहेको उनको भनाइ छ।
हरियो पत्ति उत्पादनको मुख्य सिजनमा उद्योग बन्द गर्ने उद्योगीहरुको कदमप्रति सरकार रमिते बनेको उनको भनाइ छ,' उद्योगीले मनपरि गरेका छन् ' कार्कीले भने, 'उनीहरुलाई जे पनि गर्ने छुट दिएर सरकारले के गर्न खोजको?' तीन दिनभित्र उद्योग नखोले किसानले 'विद्रोह' गर्ने चेतावनी उनले दिएका छन्।
समाधानको उपाय
मूल्यका कारण सधै विवादमा पर्ने जिल्लाकै प्रमुख कृषि उद्योग चियालाई नजिकवाट नियालिरहेकाहरु विवाद संधैका लागि टुंग्याउन भारतीय विधि अनुशरण गर्नुपर्ने बताउँछन्।
चिया खेतीमा दुई सय वर्ष पुरानो अनुभव संगालेको भारतको पश्चिम वंगालमा प्रचलित डाक बडाबड प्रणाली यहाँ पनि लागु गर्नुपर्ने उनीहरुको भनाइ छ।
'चिया बजार खडा गरेर अक्सन लागु गर्नुपर्छ,' सहजकर्ता समितिका संयोजक राजेन्द्र घिमिरे भन्छन्, 'त्यसपछि बजार आफैं व्यवस्थित हुन्छ।'
वार्षिक एक करोड ४१ लाख ८ हजार ६ सय ५० केजी हरियो चियापत्ति उत्पादन हुने झापामा पारदर्शिता अभावले बारम्वार समस्या ल्याउने गरेको बोर्ड पूर्वाञ्चल प्रमुख पदम गजमेरको भनाइ छ। 'अक्सनमा गए आपसी असमझदारी घट्छ ' उनले भने, 'जसका कारण विवाद पनि घटेर जान्छ।' राष्ट्रिय चिया नीति २०५७ ले पनि डाक बढाबढ प्रणालीमा जाने कल्पना गरेको छ। तर, नीति बनेको दशक वित्दा पनि कार्यान्वयन भएको छैन।
श्रोत : नागरिक न्युज दैनीक
श्रोत : नागरिक न्युज दैनीक
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed