बन्धकमा नेपाली महिला
मेचीनगर अनलाइन
|
Sunday, August 1, 2010
|
0 comments
धुलाबारी १४ साउन/ मिठो खाने र राम्रो लाउने मन कसको हुँदैन र । छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिने र घरपरिवार राम्ररी चलाउने सपना सबैको हुन्छ ।
यस्तै सपना बोकेर भारतीय दलालमार्फत १५ महिनाअघि साउदी अरेविया पुगेकी मेचीनगर-६ थोप्लेविरानकी एक महिलाको त्यहाँ विचल्ली भएको छ । घरेलु कामदारका रुपमा मुम्बई हुँदै साउदी पुगेकी स्थानीय धनमाया गिरी 'तारा'को विचल्ली भएको हो । उनको उद्धारका लागि परिवारले सहयोग अनुरोध गरेको छ ।
ताराले बिहीबार फोन गरी आफूलाई बन्धक बनाएर राखेको र चरम शारीरिक यातना दिइने गरेको बताएको उनका श्रीमान् छविलाल गिरीले बताए । 'खाना खान नदिएको हप्ता दिन भयो भन्छिन्' गिरीले भने -'बन्द कोठामा राखेर दिनैपिच्छे टेलिफोनमा प्रयोग गरिने तारले कुट्छन् मार्छन क्यार ! जतिसक्दो चाँडो नेपाल फर्कन्छु भन्छिन् ।'
धनमायालाई मेचीनगर-१ धुलाबारीकी अनु खड्का र मेचीनगर-४ मागुरमाडीका अनिल तामाङले भारतीय दलालमार्फत साउदीको रियाद शहरमा पठाएका थिए । एजेन्टद्वय खड्का र तामाङले आफूहरुले सुनसरी प्रकाशपुरका दिपेश सुब्बामार्फत गिरीलाई विदेश पठाएको बताए । सुब्बा भारतको बुम्बईमा अवैध तरिकाले वैदेशिक रोजगारीमा पठाउने कार्यालय खोलिबसेको उनीहरुको भनाई छ ।
'हामी त यहाँ मान्छे कलेक्सन गरेर मुम्बई पुर्याउने मात्र हौ' खड्काले थपिन् -'एक पटकमा २०/३० जना लान्छौ त्यस वापत २/३ हजार नेपाली रुपैयाँ पाउँछौं ।'
खड्काले तीन महिनाअघि बारम्बारको ताकेताले १ महिनाभित्र तारालाई नेपाल फर्काउने बताएकी भए पनि हालसम्म कुनै प्रगति नभएकोले आफूहरु बाध्य भएर प्रशासन समक्ष पुग्नु परेको गिरीले बताए ।
'केही दिन पख्नुस् है हामी लागि रहेका छौंु खड्काको भनाई उद्धृत गर्दै गिरीले भने - 'समस्या समाधान हुन्छ भन्दै दशमहिना टारिसके ।' घरकी साहुनीले सुरुको तीन महिना राम्रो व्यवहार गरेको उनले बताए । महिना-महिनामा तलब दिन्थे । तीन पटक गरी ४६ हजार रुपैयाँ घरमा पठाएको गिरीले सुनाए ।
७ महिनाको काखको नानी छाडेर त्यहाँ पुगेकी तारालाई ३ महिनापछि भने गह्रौ भारी उचाल्न लगाउने शारीरिक मानसिक शोषण गरेका कारण सिजर गरेको घाउँ बल्झिएको बताएपछि घर फर्काउन पहल गरिदिन आग्रह गर्दै आएको गिरीले सुनाए ।
एजेन्टद्वयले तारालाई मासिक दश हजारको आर्थिक प्रलोभनमा पारी साउदी पठाएका थिए । 'अघिल्लो दिन राहदानी बनाउन जानुछ भनी' तारा गएको सम्झना गर्दै समाज सुधार महिला समूहकी अध्यक्ष लक्ष्मी कटुवालले भनिन् 'भोलिपल्ट त गइसकेको थाहा पाए ।'
पीडित ताराकी आमा मनकुमारी बानियाँले छोरीको तत्काल उद्धार गरिदिन अनुरोध गरेकी छिन् । 'सुकुम्बासी वस्तीमा बसोबास गर्दै थिइ मेरी छोरी' गहभरि आँशु पार्दै उनले भनिन् -'एक फोक्टो भए पनि आफ्नो जग्गा भएको राम्रो भन्दै हिडेकी थिइ उसको ज्यान जोखिममा छ यी दुईबालकको भविष्य के होला'
'घरकी साहुनी म्याडम डानाले साउदीबाट ९६६५५१०९५३६६ नम्बरको मोवाइलबाट एसएमएस गरी ४ हजार रियल नपठाए ताराको हत्या गर्ने चेतावनी दिएकी छिन्' पीडितका श्रीमान् छत्रलालले भने -'यसअघि पनि एसएमएस गरी हत्या गर्ने चेतावनी दिएका थिए फोन गर्दा उठाएर बोल्दैनथे ।'
तारालाई वैदेशिक रोजगारीमा पठाउँदा रकम नलिएको उनका पति छविलालले बताए ।
'कमाएर तिर्ने शर्तमा पठाएका थिए घर साहुनीले उनलाई नेपाली एजेन्टलाई पैसा दिन दवाव दिने गरेको बताएपछि मैले एजेन्टद्वय खड्का र तामाङले राहदानीको ५ हजार ५ सय र हवाई खर्च १० हजार दिएको थिए ।' उनले भने ।
भारतमा बस्दै आएका एजेन्ट सुब्बाले तत्काल एक लाख ५० हजार भारतीय रुपैयाँ दिए मात्र तारालाई सकुसल उद्धार गरिदिने बताएको पीडितका पति छविलालले बताए ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed