बेलायतले पनि शरणार्थी लैजान थाल्यो
मेचीनगर अनलाइन
|
Friday, August 6, 2010
|
0 comments
झापा, २० साउन
पूर्वीनेपालका भुटानी शरणार्थीको तेस्रोमुलुक पुनर्वास प्रक्रियामा बिहीबारदेखि बेलायतले पहिलोपटक औपचारिक रूपमा सहभागिता जनाएको छ । शिविरबासी भुटानी शरणार्थीलाई पुनर्वास गराउने बेलायत आठाँै राष्ट्र हो ।
सन् २०१० भित्र एक सय शरणार्थीलाई आफ्नो मुलुकमा पुनर्वास गराउनेे पूर्वघोषित प्रतिबद्धताअनुसार, बेलायतले शरणार्थीको पुनर्वास प्रक्रिया अघि बढाएको थियो । बेलायतले नौ सय शरणार्थीलाई आफ्नो मुलुकमा पुनर्वास गराउने जनाएको छ ।
बेलायत पुनर्वास गराउन लागिएका सात परिवारका ३७ जना भुटानी शरणार्थीले बिहीबार शिविर छाडेको राष्ट्रसंघीय शरणार्थी आयोगको दमकस्थित कार्यालयका सूचना अधिकृत प्रतिवेदन वैद्यले बताए । हालै बेलायतका तीनजना अध्यागमन अधिकारीको टोलीले शिविरमा आएर शरणार्थीको अन्तर्वार्तालगायतका प्रक्रिया पूरा गरेको थियो ।
आयोगको दमकस्थित कार्यालय स्रोतका अनुसार, बेलायतले विभिन्न मुलुकका नागरिकलाई वाषिर्क कोटाअन्तर्गत दिने पुनर्वासअनुसार भुटानी शरणार्थीलाई लैजान थालेको हो । दुई दशकदेखि झापा र मोरङका सात शिविरका पाँच स्थानमा बस्दै आएका भुटानी शरणार्थी सन् २००८ को मार्च -०६४ फागुन अन्तिम साता) देखि तेस्रोमुलुक पुनर्वासमा जान थालेका हुन् ।
पुनर्वास कार्यक्रम सुरु भएयता ३४ हजार पाँचजना शरणार्थी विभिन्न सातवटा मुलुकमा गएका छन् । उनीहरूलाई अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्ड र नर्बेमा पुनर्वास गराइएको छ । सबैभन्दा बढी अमेरिकामा २९ हजार तीन सय ४३ जना पुनर्वास भएको अन्तर्राष्ट्रिय आप्रवास संगठन -आइओएम) ले जनाएको छ ।
शरणार्थी मामिलालाई लिएर नेपाल-भुटानबीच १५ चरणसम्म भएका द्विपक्षीय वार्ताबाट निकास नआएपछि शरणार्थीको गाँस, बास र कपासको व्यवस्थापनमा संलग्न राष्ट्रसंघीय शरणार्थी आयोगले पुनर्वासको विकल्प अघि सारेको थियो । भारतको असहयोगका कारण शरणार्थी समस्या समाधान नभएको जानकारहरूले बताउँदै आएका छन् ।
सन् ९० को दशक अन्त्यबाट भुटान सरकारको जातीय दमनमा परी लखेटिएका एक लाख १० हजारभन्दा बढी दक्षिणी भुटानी भारतीय बाटो हुँदै नेपाल आएका थिए । भुटान र्फकन चाहने शरणार्थीलाई भारतीय सुरक्षाकर्मीले बारम्बार मेची पुलमा रोक्दै आएको छ । विगतमा भुटानको सीमा नाघेर भारतीय भूमिमा छिरेका कतिपय शरणार्थीलाई भारतीय सुरक्षाकर्मीले मेची पुलमा ल्याएर छाडेको थियो ।
हालसम्म ८५ हजारभन्दा बढी शिविरवासी शरणार्थीलेे पुनर्वासका लागि आयोगमा निवेदन गरेका छन् । स्वेच्छाले गरेको निवेदनका आधारमा शरणार्थीलाई अन्तर्वार्ता, स्वास्थ्य परीक्षण, शरणार्थी भए/नभएको प्रमाणित कागजातलगायतका विभिन्न प्रक्रिया पूरा गरी भद्रपुर र विराटनगर विमानस्थल हुँदै राजधानी लगेर त्यहाँबाट विभिन्न मुलुक पुर्याइने गरिएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed