बिचल्लीमा झापाका बाढीपीडित
मेचीनगर अनलाइन
|
Sunday, August 8, 2010
|
0 comments
एक वर्षअघिको रात उनलाई अझै सम्झना छ । साउनेझरीको बाढीले घर बगाएपछि मध्यरातमा लालाबाला चेपेर हिँड्नुपरेको घटना उनले भुलेका छैनन् । त्यो स्मृति मेटिन नपाउँदै उनी यसपटक फेरि विस्थापित भए । बिरिङ खोलामा उर्लिएको बाढीले उनलाई घर छोड्न बाध्य बनायो । उनी निस्किए श्रीमती, छोराछोरी र नाति-नातिनाका साथमा खुला आकाशमुनि ।
उमेरले ८० वर्ष नाघेका झापा डाँगाबारी-२ का वाका राजवंशी यतिवेला विस्थापित जीवन बिताइरहेका छन् । सातजनाको उनको परिवार डाँगाबारी-९ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा आश्रय लिएर बसेको छ । उनीसँगै विस्थापित भएका ३५ परिवार पनि गौरीशंकर माविमै छन् । आफ्नो जग्गामा खोलो कुद्न थालेपछि राजवंशीजस्ता धेरै परिवारको बिचल्ली भएको छ ।
बासस्थानको उचित व्यवस्थापनको अभावमा उनी बर्सेनि विस्थापितको सूचीमा पर्छन् । 'वर्षैपिच्छे घर बनाउने ठाउँ खोज्नुपर्छ,' पटक-पटक विस्थापित बन्नुपरेको कथा सुनाउँदै राजवंशीले भने, 'अब यसपालि कहाँ घर बनाउने केही टुंगो छैन ।' विस्थापित परिवारलाई दैनिक गुजारा चलाउनसमेत समस्या भएको छ । सरकार र विभिन्न संघसंस्थाले दिने दुई-चार केजी सातु-चामलले मात्र गुजारा नचल्ने उनीहरू बताउँछन् ।
'गरिखाने जग्गा-जमिन नभएपछि अर्काले दया गरेर दिएको दाल-चामलले छाक टार्न पनि पुग्दैन,' विद्यालयमा शरण लिएर बसेकी महिनादिने सुत्केरी सुलोचना राजवंशीले भनिन्, 'कहिलेसम्म मागेर खाने ?' सुत्ेकरी अवस्थामा विस्थापित भएकी राजवंशी चिउरा र मुरईले छाक टार्दै छिन् ।
'दुई-चार दिनका लागि राहत दिएर बाढीपीडितको समस्या समाधान हुँदैन,' प्रकोपपीडित क्षेत्रका बासिन्दालाई बर्सेनि राहत दिइरहेको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले नयाँ पत्रिकासँग भने, 'सरकारले खेतीयोग्य जमिनको कटान रोक्न र पीडितलाई दीर्घकालीन राहत दिने कार्यक्रम ल्याउन जरुरी छ ।' उनले खोला नियन्त्रण नभए उत्पादन घटेर जाने बताए ।
वषर्ा लाग्नेबित्तिकै झापाका बिरिङ, कनकाई, रतुवा, मेची, निन्दा, हडिया, कमल, बनियानी, सतासी, टाङटिङ, देउनियालगायतका खोला तथा नदीमा उर्लिएर आउने बाढीले सयौँ परिवारलाई घरबारविहीन बनाउनुका साथै हजारौँ विघा जमिन कटान गर्छ ।
डाँगाबारी-९ का दलबहादुर राजवंशी धनाढ्यका रूपमा चिनिन्थे । १२ बिघा जग्गाका मालिक राजवंशी बिरिङको बाढीले सबै जमिन बगाएपछि यतिवेला भूमिहीन भएका छन् । परिवारसहित गाउँकै स्कुलमा आश्रय लिएर बसेका पूर्वशिक्षक राजवंशीले भने, 'दैवका अगाडि कसैको केही नलाग्ने रहेछ ।'
प्रतिबिघा ६० मन धान फल्ने उनको खेत एकैरात बगरमा परिणत भएको हो । गत वर्षको भदौमा बिरिङ खोलाले धार बदलेपछि राजवंशी परिवारका लागि अनिष्टका दिन सुरु भएका थिए । दुई वर्षयता बाढीले सबभन्दा ठूलो क्षति गरेको डाँगीबारी गाविसमा गत वर्ष एक सय ८७ परिवार विस्थापित भएका थिए । उनीहरूको पुनस्र्थापना नहुँदै यस वर्ष थप ३५ परिवार विस्थापित भएका छन् । बिरिङको धार बदल्न चार लाख ७० हजार रुपैयाँमा गरिएको तटबन्ध पनि बाढीले भत्काएपछि कटान झन् बढेको छ । डाँगीबारीमा यसपटक चार सय बिघाभन्दा बढी जग्गा बिरिङले कटान गरेको गाविसका पूर्वअध्यक्ष लक्ष्मण पाठक बताउँछन् ।
गत वर्ष मात्रै अविरल वषर्ापछि आएको बाढीले झापाका विभिन्न गाविसका एक हजार आठ सय ८२ परिवारका आठ हजारभन्दा बढी विस्थापित भएका थिए । दुई अर्बबराबरको भौतिक संरचना ध्वस्त भएको थियो । बाढीले बगाउँदा सातजनाले ज्यान गुमाएका थिए । एक हजार एक सय हेक्टर खेतीयोग्य जग्गा बगरमा परिण्ात भएको थियो । यस वर्ष दुई सय २० परिवार विस्थापित भएका छन् ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष भौतिक क्षति कम भए पनि मानवीय क्षति भने बढेको छ । डेढ महिनायता बाढीले बगाएर १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका बढी छन् । तीनजना अझै बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लाको ७५ प्रतिशत जनसंख्या बाढीको जोखिममा छ । झापामा बग्ने दर्जन खोलामध्ये सातवटाले बढी क्षति पुर्याउने गरेका छन् ।
'योसमेत गरी तीनपटक भयो बसाइँ सरेको,' स्थानीय नुखिराम टुडूले नयाँ पत्रिकासँग भने, 'दुई बिघा जग्गा थियो, त्यो सबै खोलाले बगायो ।' खोलासँगै उनी कहिले यता र कहिले उता सर्दै आएका छन् । १५ वर्षदेखि लगातार बाढीको विनास खेप्दै आएका सुगाबथानको सन्थालबस्तीका ४३ घर परिवार यस वर्ष अन्यत्रै सरे ।
खोलो नियन्त्रण गर्ने दीर्घकालीन सरकारी नीतिको अभावमा हजारौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको कुमरखोद गाविसका पूर्वउपाध्यक्ष जयनारायण साह बताउँछन् ।
डेढ दशकयता कुमरखोदमा पाँच सयभन्दा बढी परिवारलाई खोलाले सुकुम्बासी बनाइदिएको छ । पाँच बिघा जग्गाका मालिक साह यतिवेला आफैँ सुकुम्बासी भएका छन् ।
पानीजन्य प्रकोपको जोखिममा विश्वकै ३०औँ स्थानमा पर्ने नेपालको पूर्वी जिल्ला झापा बाढीको उच्च जोखिममा रहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेल बताउँछन् । प्रकोपविज्ञ प्रशासकका रूपमा परिचित प्रजिअ पोखरेलले भने, 'चुरे क्षेत्रसँग जोडिएको जिल्ला भएकाले झापामा बाढीको विनास बढ्दै गएको हो ।' प्रकोप नियन्त्रण्ा अध्ययन क्रममा विश्वका २३ मुलुकको अनुभव बटुलिसकेका पोखरेलले जहाँसुकै गरिएको जग्गा प्लटिङले सहरी क्षेत्रलाई पनि जोखिममा पारेको बताए |
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed