डेढ करोडको काठ बरामद
मेचीनगर अनलाइन
|
Tuesday, August 10, 2010
|
0 comments
सर्च अभियान थालिएपछि काठ बरामद हुने क्रम बढेको जिल्ला वन अधिकृत सुधीर कोइरालाले बताए । टोलीले आइतबार झापाको बुधबारेबाट ठूलो परिमाणमा चिरान र गोलिया काठ बरामद गरेको थियो । छापा अभियान तीव्र भएपछि फर्निचर उद्योगलाई काठ लुकाउन भ्याइनभ्याई छ ।
इलामको दक्षिणी क्षेत्रका सामुदायिक वनबाट अवैध रूपमा कटान गरिएको काठ बुधबारेका सःमिल र फर्निचर उद्योगमा ल्याएर बेच्ने गरिएको पाइएपछि वन र सशस्त्र प्रहरीको टोली तस्करी नियन्त्रणका लागि परिचालित भएको हो । झापाको बिरिङ खोला नाकामा पर्ने इलामका अधिकांश सामुदायिक वन पनि काठ
तस्करीको चपेटामा छन् ।
तस्करीको चपेटामा छन् ।
झापा बुधबारेस्थित दामाटारमा सुन्दर सामुदायिक वन र जनज्योति सामुदायिक वनको घाटगद्दी एउटै छ । त्यहाँ अवैध ढंगले काटिएको काठ भित्र्याएर दुवै वन समूहको समझदारीमा अवैधलाई वैध बनाउने काम भइरहेको छ । वन ऐनमा कुनै पनि ठाउँमा दुइटा सामुदायिक वनको एउटै घाटगद्दी बनाउन नपाइने प्रावधान छ ।
सुन्दर सामुदायिक वनले विभिन्न ठाउँमा घाटगद्दी बनाएको छ । वनका अध्यक्ष धनबहादुर गुरुङको घर कालिखोलामा एउटा र वनहाताभित्रै अर्काे घाटगद्दी सञ्चालन गरिएको छ । केही समयअघि सरकारी अनुगमन टोली आउने आशंकामा दामाटार सामुदायिक वनले अवैधानिक तबरले राखिएको घाटगद्दीलाई जिल्ला वन इलामको गोप्य मिलेमतोमा वैधानिक बनाइएको थियो ।
बाटो निर्माण गर्ने बहानामा काटिएका रूख विनाटाँचा वन हाताभित्र छाडिएका थिए । ६ थान गोलिया कालिखोलाबाट हराएको वन समितिले जनाए पनि मिलेमतोमा ती काठ बिर्तामोडको एउटा फर्निचर उद्योगमा बेचिएको थियो । काठको अवैध ओसारपसार, चिरान र तस्करी बढेको सर्वसाधारणको गुनासोपछि छापा मारेको वन अधिकृत कोइरालाले बताए । छापा मार्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
बुधबारे क्षेत्रमा राखिएका आधा दर्जनभन्दा बढी सःमिल, फर्निचर उद्योग र घरबाट अवैध रूपमा राखिएका गोलिया, चिरान काठ र फन्टा गरिएका काठ बरामद गरिएको छ । पहिलोपटक बरामद १० ट्याक्टर काठको बजार मूल्य करिब डेढ करोड रुपैयाँ पर्ने वन कार्यालयले जनाएको छ । 'बरामद काठ सीमावर्ती इलामका विभिन्न सामुदायिक वनबाट तस्करी गरेर ल्याइएको हो,' वन अधिकृत कोइरालाले भने, 'कानुनविपरीत भइरहेको अवैध कारोबार रोक्न सर्च अभियान बढाउने तयारी भइरहेको छ ।'
घरेलु तथा साना उद्योग कार्यालयबाट अनुमति पाएका सःमिल र बेन्सो राखिएका फर्निचर उद्योगको दुरुपयोगले काठ तस्करी मौलाएको उनले बताए । फर्निचर उद्योगले सःमिलबाट खरिद गरेको १ सय क्युबिकफिट काठ मात्र १ वर्षमा चिरान गर्न पाउँछन् । तर, त्यसविपरीत काठ कारोबार भइरहेको छ । फर्निचर उद्योगले गोलिया काठ चिरान गर्न नपाउने प्रावधान छ ।
फर्निचर उद्योगले काठ चिरान मेसिनमा प्रयोग हुने 'ट्रली' समेत राख्न नपाउने कानुनी प्रावधान छ भने सःमिलबाट खरिद गरिएको तर फर्निचरमा प्रयोग हुने टुक्रा काठ मात्र प्रयोगमा ल्याउन सक्नेछन् । तर, झापामा अनुमति पाएका अधिकांश फर्निचर उद्योगले ट्रली प्रयोग गरेर गोलिया चिरान गर्दै आएका छन् । टोलीले ९ वटा सःमिललाई आफ्नो नियन्त्रणमा लिएर छापा मारेको थियो ।
वन कर्मचारीकै मिलेमतोमा तस्करले त्यस क्षेत्रका काठ झापा र मोरङका विभिन्न काठमिलमा लाने गरेका छन् । वन पैदावरको नियमविपरीत सामुदायिक वनले तस्करसँगको मिलेमतोमा वन विनास गर्ने क्रम बढ्दै गएको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed