खराब मौसममा पनि उडान हुने
मेचीनगर अनलाइन
|
Tuesday, August 24, 2010
|
0 comments
खिलानाथ ढकालविराटनगर, भदौ ८ / खराब मौसममा पनि उडान गर्नका लागि नागरिक उड्डयन कार्यालय विराटनगरले बिमानस्थलमा अत्याधुनिक उपकरण जडान गर्न लागेको छ । खराब मौसमका बेला उडान रद्द गर्नुपर्ने बाध्यताबाट मुक्त हुन बिमानस्थलमा दुरी र दिशा पत्ता लगाउने यन्त्र राखिन लागिएको हो ।
यो उपकरण जडानपछि जतिसुकै प्रतिकूल मौसममा पनि सहज तरिकाले जहाज उडान, अवतरण गर्न सकिने र खराब मौसममा हुने दुर्घटना पनि न्यूनीकरण हुने उड्डयन कार्यालयले जनाएको छ । यसले बर्षा तथा हिउँदमा आकाशमा बाक्लो कुहिरो लाग्दा उडान रद्द हुने समस्या हट्नेछ ।
यसका लागि नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया अघि बढाइसकेकोले आगामी दुई महिनाभित्र उपकरण जडान भइसक्ने विमानस्थलका निमिक्त निर्देशक सुधीरकुमार चौधरीले जानकारी दिए । उपकरण राख्नका लागि ‘रन वे’ को पश्चिमपट्टि गत वर्ष नै ११ कठ्ठा जग्गा अधिग्रहण गरिसकिएको छ ।
‘उपकरण जडानका लागि हामीले सबै प्रक्रिया अघि बढाइसकेका छौं’, चौधरीले नागरिकसँग भने, ‘नागरिक उड्डयन प्राधिकरणले कामको टेण्डर आह्वान गरेपछि अघि बढ्नेछ ।’ प्राधिकरण कार्यालयबाट दुई महिनाभित्र निर्माण गरिसक्न सकारात्मक जवाफ आएको उनले बताए ।
विमानस्थलमा राखिएको यन्त्रसँग सोझै सम्पर्क गर्न सकिने गरी यन्त्र पाइलट छेउमा पनि राखिने भएकोले ‘ककपिट’मा हेर्दा विमान कुन दिशामा छ, कता लैजानुपर्ने र कति दूरी टाढा छ भन्ने स्पष्ट हुने र विमानलाई गन्तव्यमा पु¥याउन पाइलटलाई यस यन्त्रले मद्दत पु¥याउने छ । ‘विमानस्थलमा राखिएको यन्त्रसँग पाइलटको छेउमा राखिएको यन्त्रको सोझो ‘लिंक’ हुने हुँदा पाइलटलाई विमान उडाउन सजिलो हुन्छ’, चौधरीले भने, ‘यो यन्त्रले विमानस्थलदेखि १ हजार ५ सय किलोमिटर क्षेत्रसम्मको दुरी बताइदिने हुँदा कति टाढा छु थाहा पाउन पाइलटलाई जानकारी हुन्छ ।’ यो उपकरण यसअघि काठमाडौं, नेपालगञ्ज, भैरहवा र सिमरा बिमानस्थलमा राखिसकिएको छ । उपकरण सञ्चालन गर्न महंगो खर्च हुने भएकोले यात्रुको चापअनुसार मात्र उड्डनका शाखाहरुले प्रयोग गर्दै आएका छन् । विराटनगरमा यात्रुको दिनहुँको चापले उपकरण राख्दा हुने खर्च थेग्न सक्ने उड्डयन कार्यालयले जनाएको छ ।
विराटनगर विमानस्थलबाट पाँच वटा एयरले दैनिक काठमाडौं तथा पूर्वी पहाडी जिल्लाहरुमा उडान भर्दै आएका छन् । विराटनगर विमानस्थलमा यति एयरका ७, बुद्वका ५, नेपाल एयरलायन्सका ४, अग्निका तीन र गुनका दुई जहाजले दैनिक उडान भर्छन् । पूर्वी पहाडी जिल्लाहरुमा मात्र दैनिक ५ वटा उडान गुन र नेपाल एयरलायन्सले उडान गर्दै आएका छन् ।
विमानस्थल प्रवेशमा कडाई
बिमानस्थलको सुरक्षा बैठकले हवाई यात्रुहरुलाई आफ्नो परिचय खुल्ने अधिकारीक पत्रबिना प्रवेश रोक लगाएको छ । वायुसेवा कम्पनीले काउन्टरमा टिकट जाँचको क्रममा परिचयपत्र बिनाका यात्रुलाई हवाई यात्रा अबरुद्व गर्न थालेको छ । यात्रुले सम्बन्धित वायुसेवा कम्पनी वा ट्राभल एजेन्सीबाट टिकट लिँदा परिचय पत्र लिनुपर्ने छ । यात्रु जाँचका लागि ‘एक्स–रे’ मेसिन पनि राखिसकिएको उड्डयन कार्यालयले जनाएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed