बाबुपछि छोराले आत्महत्या
मेचीनगर अनलाइन
|
Monday, August 16, 2010
|
2 comments
चारआली, ३० साउन / झापा आन्दोलनका योद्धा डिकेन्द्र राजवंशीले जुन छोरालाई जागिरमा लगाउन नसक्दा चार महिनाअघि आत्महत्या गरे, तिनै छोरा शम्भू राजवंशीले पनि आइतबार विहान दुवागढी–४ स्थित आफ्नो घर नजिकै डेरामा पासो लागी आत्महत्या गरेका छन् । २२ वर्षीय शम्भू राजवंशीलाई आइतबार दिउँसो १२ बजे डेरामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा मृत फेला पारिएको थियो । प्रहरीका अनुसार उनले कोठाको सिलिङ फेन अड्याउने रडमा प्लाष्टिकको डोरीले पासो लागी आत्महत्या गरेका थिए ।
मृतककी आमा प्रमिला राजवंशीले विहान सामान्य बातचित गरेर गएको शम्भूले आफू बजार गएका बेला आत्महत्या गरेको बताइन् । ‘बाबु मरेपछि पीर गरिरहन्थ्यो’, प्रमिलाले छोराको अवस्था बारे भनिन् – ‘हाम्रा लागि कसैले केही गरिदिएनन् नि आमा भन्थ्यो ।’
फूलवासा खोलामा आएको बाढी घरमा पसेपछि राजवंशी परिवार डेढ महिना अघि नजिकैको एक कटुवालको नवनिर्मित पक्की घरको एउटा कोठा भाडामा लिएर बस्दै आएको थियो । बाढी आउँदा डेरामा र बाढी घटेपछि घरमै बस्दै आए पनि शम्भू राजवंशी केही समययता डेरामा ढुक्कै बस्दै आएका थिए ।
‘बाढी घट्यो आफ्नै घर फर्किनुस् भाइ भन्दा पनि शम्भूले अलिक दिनपछि फर्कूला भन्दै आएका थिए’– डेराधनी बताउँछन् ।
डेरामा बस्दै आए पनि उनी खाना खान विहान–बेलुकै घर आउँथे । तर, आइतबार विहान उनी खाना खान नआई डेरामै बसेको पारिवारिक स्रोतले जनाएको छ । विदेशमा रहेका जेठो दाजु ऋषि राजवंशी केही महिना अघि घर आएपछि कान्छो शम्भू पनि वैदेशिक रोजगारीमा जाने पारिवारिक सल्लाह भइरहेको थियो । बाबु डिकेन्द्रको मृत्युपछि आमा र भाईको हेरचाहका लागि ऋषि घर फर्किएका थिए ।
एमालेका पुराना नेता डिकेन्द्रले गत वैशाख ४ गते आत्महत्या गरेका थिए । ४ महिनाको अन्तरालमा बाबु–छोराले दुःखद् मृत्युवरण गरेपछि डिकेन्द्र पत्नी प्रमिलालाई शोकको असह्य पीडामाथि पीडा थपिएको छ । छोराले आत्महत्या गरेको खबर सुने लगत्तैदेखि उनी वेहाश जत्तिकै भएकी छन् ।
बाबु डिकेन्द्र राजवंशीको मृत्यु हुँदा समेत साथै रहेका शम्भूले अत्याधिक मानसिक तनावका कारण आत्महत्या गरेको हुनसक्ने अनुमान छ । उनले आत्महत्या अघि कुनै पत्र छाडेका छैनन् । उनी एकीकृत माओवादीको चुलाचुलीस्थित प्रथम डिभिजनका पूर्व लडाकु हुन् । एमालेले राहत रकम दिन ढिला गरेकामा उनी चिन्तित रहँदै आएको स्थानीयबासी बताउँछन् । नेकपा एमाले झापाले डिकेन्द्र राजवंशीको मृत्युपछि उनको परिवारलाई घर बनाउन ५ लाख रुपैयाँ निकासा गरी प्रमिला राजवंशीको नाममा बैंक खातामा जम्मा गरिदिएको थियो । त्यही पैसाले १ कठ्ठा जग्गा खरिद गरी डिकेन्द्रको परिवारलाई स्थायी बसोबास मिलाउने पार्टीको योजना थियो ।
मृतक शम्भूको शव मेची अञ्चल अस्पतालमा पोष्टमार्टम जाँचपछि साँझपख देउनिया खोलामा दाहसंस्कार गरिएको छ ।
Filed Under: समाचार

nikkai marmaahat khawar sampresan garidinu bhayako ma thanks!!!
नराम्रो खबर........