सशस्त्रलाई २४ लाख कमिसन
मेचीनगर अनलाइन
|
Thursday, August 19, 2010
|
0 comments
आत्माराम राजवंशी
झापा, ४ भदौ / सशस्त्र प्रहरी बलले झापामा विगत एक वर्षमा भन्सार छली भारतबाट भित्र्याइएका विभिन्न सामान बरामद गरेर भन्सारमा बुझाए वापत करिब २४ लाख रुपैयाँ कमिसन प्राप्त गरेको छ ।यो कमिसन उसले कानूनमा व्यवस्था भए बमोजिम पाएको हो । भन्सार कानूनले सामान पक्राउ गरेर बुझाउनेलाई मूल्यांकन बमोजिम १२ प्रतिशत कमिशन दिने व्यवस्था गरेको छ ।
जिल्लामा सशस्त्र प्रहरी बलको ३ वटा छुट्टाछुट्टै इकाई छन् । काँकरभिट्टामा राजश्व गस्ती गर्ने जिम्मेवारी पाएको एउटा टुकडी रहेको छ भने चन्द्रगढीमा सीमा सुरक्षा बल र शान्ति सुरक्षाको विशेष जिम्मेवारी बोकेको पाथीभरा गण लखनपुरमा रहेको छ ।
तीन वटै युनिटले विगत एक वर्षमा बरामद गरेर भन्सारमा बुझाएको सामानको मूल्य २ करोड बढी भएकाले त्यसवापत सशस्त्र प्रहरी वलले २४ लाख बढी कमिशन प्राप्त गरेको हो ।
खासगरी राजश्व गस्ती टोली काँकरभिट्टालाई भारतबाट भन्सार छली भित्रिएका सामान बरामद गरेर बुझाउने जिम्मेवारी दिइए पनि सीमा सुरक्षा बल र पाथीभरा गण अन्तर्गतका युनिटहरु समेत सक्रियतापूर्वक यस काममा लागेको पाइएको छ ।
जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएको सामानहरुमा लत्ताकपडा, इलेक्ट्रोनिक्स, खाद्यपदार्थ, मोटर पार्टस लगायतका छन् । पछिल्लो समयमा सशस्त्र प्रहरीले अवैध काठ समेत बरामद गरी बन कार्यालयलाई बुझाउने गरेको छ ।
सशस्त्र प्रहरीबल सीमा सुरक्षा कार्यालय चन्द्रगढीले चालू आर्थिक वर्ष ०६६/६७ मा ६३ लाख ४ हजार ६३ रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ भने पाथीभरा गणले १ करोड ४५ लाख मूल्य बराबरको अवैध समान बरामद गरेको गणका सशस्त्र प्रहरी उपरीक्षक गणेश ठाडा मगरले बताए ।
यसैगरी राजश्व गस्ती टोली काँकरभिट्टाले सोही अवधिमा १९ लाख ९२ हजार ५ सय ९३ रुपैयाँ मूल्य बराबरको अवैध सामानहरु बरामद गरिएको जनाएको छ ।
बरामद गरिएको अवैध सामानहरु भन्सार कार्यालयलाई बुझाए वापत प्रहरीले १२ प्रतिशत कमिशन पाउने गरेको उपरीक्षक ठाडा मगरले स्वीकार गरे ।
उनले भन्सारबाट पाउने कमिशनमध्येबाट ४० प्रतिशत कल्याण कोषमा ३० प्रतिशत खटेको टोलीलाई र ३० प्रतिशत गणको आन्तरिक काममा खर्च गरिएको बताए ।
पाथीभरा गण मातहतमा ६ वटा वेस क्याम्पहरु रहेका छन् । जसमा खुदुनाबारी भूटानी शरणार्थी शिविर सुरक्षा वेस क्याम्प, गोलधाप भूटानी शरणार्थी शिविर सुरक्षा वेस क्याम्प, टिमाई भूटानी शरणार्थी शिविर सुरक्षा बेस क्याम्प, भूटानी शरणार्थी शिविर बेस क्याम्प बेलडाँगी–१, भूटानी शरणार्थी शिविर बेस क्याम्प बेलडाँगी–२, भूटानी शरणार्थी शिविर बेस क्याम्प बेलडाँगी–३ रहेका छन् ।
यसबाहेक गणले काँकरभिट्टा, गौरीगञ्ज, टाघनडुब्बा, शनिश्चरे, बैगुनधुरामा रहेका शसस्त्र प्रहरी वल सीमा सुरक्षा पोष्टको काम कारवाहीलाई निगरानी र छड्के जाँच गर्ने गरेको उपरीक्षक ठाडा मगरले बताए ।
क्याम्पमा रहेका टोलीहरुको परिवर्तन ६÷६ महिनामा गरिने उनले बताए । पूर्वको नाका काँकरभिट्टादेखि विर्तामोडबीच करिब १७ किलोमिटरको सडक खण्डको ३ भन्दा बढी स्थानमा प्रहरी जाँच टोली राखिएको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय चन्द्रगढीका प्रहरी उपरीक्षक चन्द्र भट्टले बताए ।
प्रत्येक टोलीमा ११ देखि १३ जनासम्म प्रहरी जवान राखिएको र एक मोवाइल टोली निगरानीका लागि परिचालन गरिएको उपरीक्षक भट्टले बताए । ‘अवस्था हेरेर चेकपोष्ट राख्छौ’ उनले भने – ‘यसमा कुनै निश्चित हुँदैन ।’ बरामद गरिएको सामान भन्सार कार्यालयलाई बुझाए वापत पाउने कमिशनको रकम बारे उपरीक्षक भट्टले खुलाउन चाहेनन् । ‘पाएको कमिशनमध्ये केही रकम सुराकी गर्नेलाई दिन्छौ र केही फिल्डमा खटिएका कर्मचारीलाई दिन्छौं’– उनले यतिमात्र भने ।
कमिशनको राम्रो कमाइ हुने भएकोले सशस्त्र प्रहरीका युनिटबीच आफ्नो टोली खटाउन होड नै चल्ने गरेको छ । कहिले काँही काँकरभिट्टादेखि बुट्टाबारीसम्ममा ५ ठाउँ चेकिङ गरेको समेत भेटिने गरेको छ । अझ चाडबाड नजिकै आएपछि जाँच गर्नेहरुको ताहुरमाहुर अलिक बढी नै हुने गरेको छ ।
adrajbanshi@gmail.com
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed