खुला कक्षामा विद्यार्थीको आकर्षण
मेचीनगर अनलाइन
|
Saturday, August 28, 2010
|
0 comments
पवन पौडेल विर्तामोड झापा
| खुला कक्षामा सहभागि विद्यार्थीहरु |
तपाईलाई कक्षा १० मा पढ्ने विद्यार्थीको उमेर कति हो जस्तो लाग्छ ? सायद १५ देखि १८ वर्षसम्मका विद्यार्थीहर कक्षा १० मा अध्ययनरत हुन्छन् तर ५० वर्ष उमेरका विद्यार्थीहरु कक्षा १०मा पढ्दैछन् भन्दा अचम्म लाग्न सक्छ तर अचम्म नमान्नुहोस । पुर्वी झापाको विर्तामोडमा रहेका श्री देवी माध्यमिक विद्यालयमा यस्तै ९५ जना विद्यार्थीहरुले यो वर्ष एसएससीमा सामेल हुँदैछन् । पढाईलाई उमेर कहिल्यै पनि पनि छेक्दैन यो यथार्थ भएको छ । १५ वर्ष अगाडी एसएलसी परीक्षामा सामेल भएकी काकडभिट्टाकि भिमा गौतम फरि अहिले एसएलसि दिनको लागि कम्मर कसेकी छिन् ।
उनीजस्तै बढी उमेरले गर्दा नियमित विद्यालय आउन नसक्नेहरुको लागि एउटा कोशेढुङ्गा भएको छ शैक्षिक जनशक्ति विकास केन्द्रले संचालन गरेको खुल्ला शिक्षा कार्यक्रम ।
देशभरी फैलिएको यो खुल्ला शिक्षा निमावि र मावि गरेर दुई तहमा विभाजित छ । झापा जिल्ला अहिले सरस्वती निम्न माध्यमिक विद्यालय दमक र देवी माध्यमिक विद्यालय विर्तामोड दुवैमा मावि र निमावि तह संञ्चालनमा छन् । अघिल्लो वर्ष प्रथम पटक देवी माध्यमिक विद्यालयबाट खुल्ला कक्षाबाट ४५ जना विद्यार्थी एसएलसीमा सहभागि भएका थिए । उनीहरुको नतीजा साचेजस्तै आएको बताउछन्् देवी माविका शिक्षक भेषराज चौलागाई । उनका अनुसार यसपटक ९५ जना विद्यार्थीले एसएलसीको लागि आवेदन दिएका छन् । विद्यालयमा ५० जनाको मात्र कोटाभएतापनि विद्यार्थीहरुको चापले गर्दा शिक्षकहरुको सहयोगमा थप विद्यार्थी लिएर सम्पर्क कक्षा सञ्चालन गरिरहको विद्यालय स्रोतले जनाएको छ । विद्यालयका अनुसार करिव २० जना विद्यार्थीहरुले यसपटक भर्ना लिन नपाएर अर्को वर्षको प्रतिक्षामा सम्पर्कमा रहेका छन् ।
| श्री देवी माध्यमिक विद्यालय । |
प्रहरी, वन कार्यालय, नगरपालिका, गाविस कर्मचारी, बाल शिक्षा सञ्चालिका तथा पारिवारिक आर्थिक र सामाजिक कारणले विचैमा पढाई छाडेर बसेका व्यक्तिहरु खुल्ला कक्षामा अध्ययन गरिरहेको बताउँछन् यस विद्यालयका स.प्रधानाध्यपक चिरञ्जीवि श्रेष्ठ । उनी अगाडी भन्छन् हामीले विद्यार्थीलाई सजिलो होस भनेर सार्वजनिक विदाको दिन कक्षा संञ्चालन गर्ने गरेका छौं । वर्षमा जम्मा ७ ओटा सेसन हुन्छ र प्रत्येक सेसन ४ घण्टाको हुने पनि उनले बताए । उनका अनुसार अहिले खुला कक्षामा विद्यार्थीको आकर्षण बढी भएकाले यस विद्यालयमा मावि तहका दुईवटा कक्षाहरु सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ तर यसको लागि विद्यालयमा स्रोतको अभावले गर्दा कठीनाई देखिएको छ । औपचारिक शिक्षामा अध्ययनरत विद्यार्थीहरु जस्तै खुला कक्षाका विद्यार्थीहरुले पनि सोही पाठ्यक्रमको आधारमा एसएलसी परीक्षामा सहभागि हुन पाउनेछन् त्यसको लागि उनीहरुले सम्पर्क कक्षामा नियमति उपस्थित हुनुपर्ने विद्यालयले दिएको गृहकार्य गर्नुपर्ने र विद्यालयले लिने अन्तिम मुल्याङ्कन परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्नेछ ।
खुल्ला कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु सामान्यतया घर परिवार सञ्चालन गर्नेहरु र विभिन्न संस्थामा सम्लग्न हुने व्यक्ति भएकाले सामाजिक जनसंख्या अर्थशास्त्र शिक्षा, नेपाली, जस्ता व्यवहारिक पक्षहरु समेटिएका विषयहरु सजिलै उत्तीर्ण गर्ने तर गणित, विज्ञान र अंग्रेजी जस्ता विषयहरुलाई अलि मेहनत गर्नुपर्ने अनुभव खुला कक्षामा अध्ययनरत विद्यार्थीहरु सुनाउँछन् ।
खुल्ला कक्षा माध्यमिक तहमा भर्ना लिन कम्तिमा २ वर्ष अगाडी कक्षा ८ उत्तीर्ण गरेको हुुनुपर्नेछ भने निम्न माध्यमिक तहमा भर्ना लिन कक्षा ५ उत्तीर्ण गरेको हुनुपर्नेछ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed