कोसी ब्यारेजको ढुंगा भारत निकासी
मेचीनगर अनलाइन
|
Saturday, August 28, 2010
|
0 comments
खिलानाथ ढकाल
सुनसरी, भदौ १२ / सर्वोच्च अदालतको निर्देशनको बेवास्ता गरी कोसी ब्यारेजबाट भारतमा धमाधम ढुंगा निकासी भइरहेको छ । कोसी तटबन्ध पुनःनिर्माणका लागि नेपालका खोलानालाबाट संकलन गरिएको ढुंगा भन्सार महसुल समेत नकाटी सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाकै निर्देशनमा भारत निकासी गरिएको हो ।
| कोसी ब्यारेजको टुंगा ट्रिपरमा लोड गरिँदै । |
सप्तकोसीले भारतमा कटान सुरु गरेकोले ढुंगा माग भएको भन्दै प्रजिअ बस्नेतले कोसी तटबन्धका लागि स्टोर गरेर राखिएका ढुंगा निकासीको अनुमति दिएका हुन् । सुनसरी भन्सार कार्यालयका अनुसार कोसी ब्यारेजमा स्टोर गरिएको ढुंगामध्ये हालसम्म १ हजार घन फिट ढुंगा भारत निकासी भइसकेको छ । भारतीय ठेकेदारले कोसी ब्यारेजबाट धमाधम ट्रिपरमा ढुंगा लोड गरी भारत
निकासी गरिरहेका छन् ।कोसीमा पानीको बहाव बढेपछि भारतको इप्राईमा बाँध कटान भएकाले आपतकालीन अवस्थाका लागि ढुंगा निकासीको अनुमति दिएको प्रजिअ थपलियाले बताए । ‘आपतकालीन अवस्था आइपरेकाले ढुंगा निकासीको अनमति दिएको हुँ’, उनले भने, ‘सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको होइन ।’
भारतका डिजी र जिएमले तटबन्ध जोगाइदिन पटक–पटक आग्रह गरेपछि ढुंगा निकासीको अनुमति दिएको उनको दावी छ । भारतीय अधिकारीले नेपालको तटबन्ध निर्माणमा सहयोग गर्ने आश्वासन दिएपछि निकासी अनुमति दिएको उनले बताए ।
सर्वोच्च अदालतले साउनमा नेपालबाट ढुंगागिट्टी निकासी नगर्न र खोलानालाबाट स्काभेटर प्रयोग गरी ढुंगागिट्टी निकाल्न नपाइने गरी आदेश गरेको थियो । पानीको बहाव बढेसँगै कोसीले नेपालपट्टिको तटबन्ध समेतमा क्षति गरिरहेका बेला कोसी प्रोजेक्टको ढुंगा भारतमा निकासी गरिएकोप्रति स्थानीयबासीले आपत्ति जनाएका छन् ।
‘सर्वोच्च अदालत आदेशको उल्लंघनमात्र हो, नेपालपट्टिको तटबन्धको बेवास्ता पनि हो,’ नाम बताउन नचाहने एक स्थानीयले भने, ‘भोलि नेपालमा आपतकालीन अवस्था आउँदा भारतले जिम्मा लिन्छ ?’ भारत पक्षकै कारण दुई वर्षअघि कोसीले नेपालको सर्वस्व हरण गरेको बताउँदै ती स्थानीयबासीले ढुंगा निकासीप्रति आपत्ति प्रकट गरे ।
बिना भन्सार निकासीले ठूलो रकम राजश्व पनि गुमेको छ । भन्सार कार्यालय सुनसरीका प्रमुख सोमनाथ उप्रेतीले बिना भन्सार ढुंगा निकासी गरिएको बताए । ‘सिडिओ सावको आदेश आएपछि मैले निकासीको अनुमति दिएको हुँ’, उनले मेचीनगर अनलाईनका प्रतिनिधी खिलानाथ ढकालसँग भने, ‘यसबारे अरु केही मलाई थाहा छैन ।’
नेपालपट्टिको १ सय ५७ किलोमिटर क्षेत्रको बाँधमध्ये २९ किलोमिटर बाँध भारतीय कम्पनीको जिम्मामा छ । कोसी तटबन्धको १ सय २५ क्षेत्रफल जलउत्पन्न प्रकोप न्युनीकरण कार्यालयले हेरिरहेको छ । कोसीको बाढीले महेन्द्रनगर–५ र प्रकाशपुर गाविस वडा नं. ४/५ स्थित श्रीलंका टापुबीचको ५० बिगाहा जमिन कटान गरिसकेको स्थानीयले बताएका छन् । जलउत्पन्न प्रकोपका प्रमुख ध्रुब श्रेष्ठले कोसीले नेपालपट्टिको बाँध हालसम्म खासै असर नपरेको बताए ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed