विद्यार्थीसंख्या घटेपछि विर्तामोडका उच्चमावि संटकमा
मेचीनगर अनलाइन
|
Tuesday, August 24, 2010
|
0 comments
झापा ८ भदौ झापाका शहरी क्षेत्रमा सञ्चालित उच्च माध्यमिक विद्यालयहरु चालु शैक्षिक सत्रमा नाकाबन्दीमा परेका छन् । ती उच्च माविहरुमा गत वर्षको तुलनामा विद्यार्थी संख्या ह्वात्तै घटेको छ ।
विर्तामोडमा नाम कमाएका कलेज फर हाइयर एजुकेशन (कोहेड), कन्काई क्याम्पस लगायत उच्च शिक्षा प्रदान गर्ने अधिकांश शिक्षालयहरुमा गत वर्षको तुलनामा विद्यार्थी संख्या ह्वात्तै घटेको हो । कोहेडका प्रमुख कमल गुरागाईंले दिनु भएको जानकारी अनुसार मानविकी संकाय (आर्टस)–मा गतवर्ष एक सय ३० जना विधार्थी भर्ना भएकोमा यसवर्ष ६० जना मात्र भर्ना भएका छन् । त्यस्तै, शिक्षा संकाय (एजुकेशन)–मा गतवर्ष ५६ जना विद्यार्थी भर्ना भएकोमा यसवर्ष ७ जना मात्र भर्ना भएको कोहेडले जनाएको छ ।कन्काई क्याम्पसले गतवर्ष एजुकेशनमा एक सय ३६ जना विद्यार्थी भर्ना गरेकोमा यसवर्ष २० जना भर्ना गरेको छ । क्याम्पस प्रमुख विष्णु दाहालका अनुसार आर्टसमा गतवर्ष एक सय जना विद्यार्थी थिए तर यसवर्ष त्यो संख्या ३० जनामा झरेको छ । प्रमुख दाहालले भन्नुभयो, ‘मास कम्युनिकेशन, मेजर इङ्गलिस, कमर्श, कम्प्यूटर साइन्स, होटल म्यानेजमेण्ट जस्ता सब्जेक्टमा उत्तिकै चाप छ ।’ ग्रामिण क्षेत्रबाट आउने विद्यार्थीले आर्टस र एजुकेशन बढी अध्ययन गर्ने तर गाउँगाउँमै उच्च मावि सञ्चालन भएकाले ती विषयमा विद्यार्थी घटेको कोहेडका प्रमुख गुरागाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले साइन्स र कमर्शले धानेको छ । यस्तै अवस्था रहे अर्को वर्षदेखि आर्टसमा अप्सनल सब्जेक्ट घटाउनु पर्छ ।’
यस वर्षदेखि उच्च मावि सञ्चालन गर्ने तयारी गरेका केही विद्यालयले आफ्नो विद्यालय बाहिर गएर पढ्न चाहने विधार्थीलाई मार्कसिट समेत नदिई शहरका विद्यालयलाई नाकाबन्दी लगाएको यहाँका उच्च माविहरुले आरोप लगाएका छन् । कोहेडमा अध्ययन गर्न आएका तीन जना विद्यार्थीले विद्यालयले मार्कसिट नदिएको बताएका छन् । बुधबारे, जयपुर, शनिश्चरे, खुदुनाबारी जस्ता उत्तरी क्षेत्र मात्र होइन, पश्चिमको लक्ष्मीपुर, दुर्गापुर र दक्षिणको अनारमनी, गरामनी, सैनिक लगायतका ठाउँमा उच्च मावि सञ्चालन भएकाले विर्तामोडमा पढ्न आउनेको संख्या घटेको हो ।
आर्टस र एजुकेशनमा मात्र होइन, अन्य विषयमा पनि विद्यार्थी संख्या गत वर्षको भन्दा कम छ । व्यवस्थापन विषय मात्र अध्यापन गराउने प्रोभिडेन्स कलेजले गत वर्ष एक सय ९५ जना विधार्थीलाई भर्ना लिएकोमा यस वर्ष एक सय ८१ जनालाई भर्ना गरेको कलेजका प्रिन्सिपल सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed