लिबियामा १२ नेपाली युवा बन्धक
मेचीनगर अनलाइन
|
Friday, August 13, 2010
|
0 comments
झापा, २७ साउन
तलब विवादलाई लिएर अपि|mकी मुलुक लिबियामा ६ दिनदेखि १२ नेपाली युवा बन्धक बनाइएका छन् । सहमतिअनुसारको तलब नपाएपछि विरोधमा उत्रिएका नेपाली बन्धकमा परेका हुन् । बन्धक बनाइनेमा अधिकांश झापाली छन् ।'तलब घटाएपछि काम गर्न मानेनौ,' आफ्नो भाइ तेजप्रसादले टेलिफोन गरेर अविलम्ब उद्धार गर्न भनेको सुनाउँदै झापा गरामनी-८ का हरिप्रसाद सिटौलाले भने, 'उनीहरूको ज्यान खतरामा छ । सरकारले छिटोभन्दा छिटो उद्धार गरिदिनुपर्यो ।' उनका भाइ तेजप्रसाद तीन महिनाअघि रोजगारका लागि लिबिया गएका थिए ।
बन्धक बनाइएकामा झापा मेचीनगर-६ का टंक सुवेदी, अनारमनी-६ का अमर बाराकोटी, गरामनी-८ का तेजप्रकाश सिटौला, बाहुनडाँगीका दिनेश पौडेल, अनारमनी-३ का देवराज मेचे, सुनसरी प्रकाशपुरका युवराज सिवाकोटी, मोरङ जाँतेका लखबहादुर मगर, इलाम जितपुरका डम्बर परियार, बुधबारेका ऋतुकान्त भट्टराईलगायत रहेका छन् ।
गएको दुई महिना सात सय ५० तलब पाएका नेपालीलाई पछिल्लो महिना कम्पनीले चार सय दिएको थियो । कम पैसा दिएपछि असन्तुष्ट नेपालीले कम्पनीलाई सहमतिअनुसारको तलब नदिए काम नगर्ने चेतावनी दिएका थिए । सबै नेपाली सुरक्षागार्डमा काम गर्न लिबिया गएका हुन् ।
लिबियाको एक्जेटिभ कन्स्ट्रक्सन एन्ड रियल स्ेटेट डेभलपमेन्ट कम्पनीमा कार्यरत उनीहरूलाई कोठामा थुनेर राखिएको छ । 'राम्ररी खानसमेत नदिई थुनिएको भनेर फोन गर्नुभएको थियो,' मेचेकी श्रीमती प्रेरणाले भनिन्, 'जसरी भए पनि घर फर्काइदिनुपर्यो ।'
उनीहरू प्रतिव्यक्ति दुई लाख रुपैयाँ तिरेर झापाको विर्तामोडस्थित सपोर्ट मेनपावरमार्फत लिबिया गएका थिए । सबै नेपाली ऋण काढेर ल्याएको पैसा तिरेर रोजगारका लागि गएका हुन् । 'एकातिर उहाँ बन्धकमा पर्नुभएको चिन्ता छ, अर्काेतिर ऋणको भारी, मैले केही सोच्न सकेकी छैन,' सुवेदीकी श्रीमती निर्मलाले नयाँ पत्रिकासँग भनिन्, 'सरकारले सकुशल उहाँहरूलाई घर फर्काइदेओस् ।'
बन्धक बनाइएका नेपालीको उद्धार गर्न चासो नदेखाएको जनाउँदै पीडित परिवारले बुधबार झापाको विर्तामोडस्थित सपोर्ट मेनपावरको कार्यालय घेराउ गरेका थिए । नाराबाजी गर्दै पीडितले मेनपावर घेराउ गरेका हुन्|
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed