झापाका चिया किसान धर्नामा
मेचीनगर अनलाइन
|
Wednesday, August 4, 2010
|
0 comments
सुब्रत न्यौपाने

झापा, १८ साउन, ४ महिनादेखि हरियो चियापत्तीको भुक्तानी नपाएको भन्दै झापाका चिया किसान सोमबारदेखि चिया प्रशोधन कारखानामा धर्ना बसेका छन् ।चिया उद्योगीले सहमतिअनुसार हरियो पत्तीको मूल्य नदिएपछि आन्दोलित किसानले प्रशोधन कारखानामा धर्ना दिन थालेका हुन् । भारतीय बजारलाई आधार मानेर हरियो पत्तीको मूल्य निर्धारण गरी भुक्तानी हुने सहमतिविपरीत उद्योगीले हरियो पत्तीको मूल्य कम तोकेकाले प्रशोधन कारखानामा धर्ना दिन थालिएको साना चिया किसान उत्पादक संघका अध्यक्ष पूर्णकुमार कार्कीले बताए । ५५ सदस्यीय जिल्ला संघर्ष समिति बनाएर आन्दोलन घोषणा गरेका किसानले सोमबार झापाको गरामनीस्थित हिमाली चिया प्रशोधन कारखानामा धर्ना दिए । कारखाना नेपाल चिया उत्पादक संघका अध्यक्ष ध्रुवकुमार सिवाकोटीको हो । 'श्रमको उचित मूल्य पाउनुपर्छ भन्ने हाम्रो माग हो,' उनले भने, 'सहमतिअनुसारको मूल्य नपाएसम्म धर्ना जारी राख्छौँ ।' भारतीय बजारमा झापाका कारखानामा भन्दा हरियो पत्तीको मूल्य ४ देखि ६ रुपैयाँसम्म फरक छ । झापामा चिया उद्योगीले ग्रेडिङपछि हरियो पत्तीको मूल्य प्रतिकेजी न्यूनतम ८ देखि २० रुपैयाँसम्म तोकेका छन् । भारतीय बजारमा हरियो पत्ती प्रतिकेजी २६ देखि ३० रुपैयाँसम्म किनबेच भइरहेको छ । १ सिजनमा झापामा मात्र ७ करोड केजी हरियो पत्ती उत्पादन हुने गरेको छ । करिब १२ सय साना किसानले दैनिक ४ लाख केजी हरियो चिया पत्ती उत्पादन गर्दै आएका छन् । हरियो पत्तीको मूल्य निर्धारणका लागि गठित सहजकर्ता समिति, चिया उत्पादक संघ र साना चिया किसानबीच २९ असारमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने किसानको माग छ । सहजकर्ता समितिले भारतीय बजार अनुगमन गरी ल्याएको मूल्यअनुसार किसानलाई भुक्तानी दिने र मूल्य विवादको दीर्घकालीन समाधानका लागि वैज्ञानिक रूपमा चियाको ग्रेडिङ गरिने सहमति २९ असारमा भएको थियो । तर, सहजकर्ता समितिले सहमति कार्यान्वयन गर्न पत्राचार गरेको २ दिन नबित्दै १ साउनमा उद्योगीले असुरक्षाको कारण देखाउँदै जिल्लाका २ दर्जन चिया प्रशोधन कारखाना अनिश्चितकालीन बन्द घोषणा गरेका थिए । कारखाना बन्द भएपछि लाखौँ मूल्यबराबरको किसानको हरियो पत्ती नष्ट भएको थियो । १० दिनभित्र राजनीतिक स्तरबाट मूल्य विवाद समाधान गर्ने सहमतिपछि चिया कारखाना खुले पनि किसानले फागुनदेखि भुक्तानी पाएका छैनन् । हरियो पत्ती टिप्ने मध्यसिजनमा चर्किएको मूल्य विवादले चिया क्षेत्र अस्तव्यस्त बन्दै गएको सहजकर्ता समिति संयोजक राजेन्द्र घिमिरे बताउँछन् । 'सहमतिमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै विवाद देखिनु राम्रो होइन,' उनले भने, 'सहमति कार्यान्वयनका लागि उद्योगी लचिलो भए समस्या आउँदैन ।' झापाका उद्योगीले किसानलाई प्रतिकेजी हरियो पत्तीमा ९ रुपैयाँसम्म ठगेको संयोजक घिमिरेले बताए । राजनीतिक दलका प्रतिनिधिको सहभागितामा पछिल्लोपटक भएको वार्ता पनि निष्कर्षमा नपुगेपछि किसान चरणबद्ध संघर्षमा उत्रिएका हुन् । चिया उद्योगीले भारतीय बजारको आधारमा हरियो पत्तीको मूल्य दिन नसक्ने बताएपछि वार्ता विनानिष्कर्ष टुंगिएको थियो । सहमतिअनुसारको मूल्य दिन ढिलाइ गरे उद्योगीलाई धर्ना अवधिभर प्रतिघन्टा ५ हजारका दरले क्षतिपूर्ति असुलिने अध्यक्ष कार्कीले बताए |
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed