आक्रमणको छानवीन समिति गठन
मेचीनगर अनलाइन
|
Sunday, August 22, 2010
|
0 comments
काँकरभिट्टा, ७ भदौ / प्रहरी प्रधान कार्यालयले धरानका पत्रकार लीलानाथ घिमिरेमाथि कुटपिट भएको घटनाको छानवीन गर्न ३ सदस्यीय उच्चस्तरीय छानवीन समिति गठन गरेको छ ।
डीआइजी टपेन्द्र हमालको संयोजकत्वमा गठित छानवीन समितिमा एकजना एसपी र अर्का एक जना डीएसपी रहेको जनाइएको छ ।
सुनसरी पत्रकार महासंघले पत्रकारमाथि कुटपिट गर्न निर्देशन दिने कोशी अञ्चलका एसएसपी मिङ्मार लामालाई तत्काल कार्वाहीको माग गर्दै आन्दोलन चर्काएपछि प्रहरी मुख्यालयले आइतबार छानवीन समिति गठन गरेको हो ।
एक साताअघि साउन ३० गते धरानको एक रेष्टुरेन्टमा नाचगानमा मस्त रहेका एसएसपी लामाले समाचार संकलन गरेको भन्दै गुण्डा लगाएर रेष्टुरेन्टमै कुटाएका थिए । आक्रमणमा संलग्न गुण्डाहरुले ‘हाम्रो एसएसपी सावले नाचेको, खाएको समाचार खोज्न आएको तै होइनस् भन्दै फास्ट दैनिकका पत्रकार लीलानाथ घिमिरेमाथि सांघातिक हमला गरेको पत्रकार महासंघ सुनसरीका अध्यक्ष राजेश विद्रोहीले बताएका छन् ।
अध्यक्ष विद्रोहीका अनुसार आँखा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका पत्रकार घिमिरेको हाल पनि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
पत्रकार महासंघले एसएसपी लामालाई निलम्वन गरी दोषीमाथि कडा कानूनी कारवाहीको माग गरेको छ । सुनसरीका पत्रकारहरुले एकसातादेखि लगातार सडक संघर्ष गरिरहेका छन् । उनीहरुले जुलुस धर्ना र ज्ञापनपत्रमार्फत सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गरिसेकका छन् ।
पछिल्लो दुई दिन पत्रकारहरुले एसएसपी लामाविरुद्ध दिएको उजुरी इलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय इनरुवाले दर्ता गर्न मानेनन् । जिल्ला प्रहरी कार्यालय आइतबार उजुरी लिन नमिल्ने भन्दै दरपीठ समेत गरेको थियो ।
महासंघका पूर्वाञ्चल संयोजक किशोरकुमार कार्कीले पूर्वाञ्चलका सबै शाखाहरुलाई ऐक्यवद्धताका लागि आन्दोलित हुन आह्वान गरेका छन् ।
झापामा आज प्रदर्शन
विर्तामोड, ७ भदौ / पत्रकार पिटाएको आरोप लागेका कोशी अञ्चलका एसएसपी मिङ्मार लामामाथि कानूनी कारवाहीको माग गर्दै झापाका पत्रकारहरु समेत आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघ झापाको आह्वानमा सोमबार काँकरभिट्टामा जुलुस प्रदर्शन र जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा विरोध ज्ञापनत्र बुझाउने कार्यक्रम तय गरिएको महासंघका जिल्ला अध्यक्ष मोहन काजीले बताए ।
सोमबार विहान १० बजे काँकरभिट्टामा जुलुस प्रर्दशन गरेपछि ११ बजे जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम राखिएको हो ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed