सरकार चीन पठाउने सामानको सूची तयार पार्दै
मेचीनगर अनलाइन
|
Saturday, August 14, 2010
|
0 comments
खिलानाथ ढकाल,
साउन २९- वाणिज्य तथा आपूर्ति मन्त्रालयले पूर्वका उद्योगी व्यवसायीलाई चीन निर्यात गर्न सकिने वस्तु छनोट गरी सोको सूची मन्त्रालयमा पठाउन अनुरोध गरेको छ। चाँडै बेइजिङमा हुन लागेको नेपाल-चीन व्यापार सम्झौताबारेको छलफलका लागि निर्यात गर्न सक्ने वस्तुहरुको लिष्ट पेश गर्नुपर्ने भएकोले मन्त्रालयले उद्योगीहरुसँग तथ्यांक मागेको हो।शुक्रबार साँझ विराटनगरमा भएको छलफलमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले नेपालबाट निर्यात गर्न सकिने वस्तुहरुको तथ्यांक लिएर वाणिज्य टोली बेइजिङ जान लागेको जानकारी दिएका हुन्। उनले भने, 'छलफलमा पूर्वबाट निकासी गर्न सकिने वस्तु र यसका अवरोधहरु हटाउने विषयले प्रवेश पाउने भएपछि तथ्यांक मागिएको हो।'वाणिज्य मन्त्रालयले चीनसँग भएको सम्झौता अनुरुप उत्पादन र निर्यात बढाउन समेत उद्योगीलाई आग्रह गरेको छ। उत्पादनमा तेस्रो मुलुकबाट आयात गरिएको सामानलाई १५ प्रतिशतभन्दा बढी महत्व नदिन समेत सुझाव दिएको छ।चीन सरकारले विश्वका अल्पविकासित मुलुकहरुमा उत्पादन भएका ४ हजार ७ सय २१ वस्तुहरुलाई शून्य भन्सार दरमा आयात सुविधा प्रदान गर्ने निर्णय गरेको छ। यो सुविधा अनुसार १७ देखि नेपालबाट चीन निकासी सुरु भइसकेको छ।नेपालको कुल निकासीमा चीनको सहभागिता निकै न्युन रहँदै आएको र पैठारीमा भने चीन भारतपछि दोस्रो स्थानमा रहेको वाणिज्य अधिकारीले बताए। वाणिज्य सचिव ओझाले यातायातको सुविधा नभएसम्म भने चीनसँग व्यापार सम्भव नहुने उल्लेख गरे। 'यातायातको सुविधाबिना व्यापार सम्भव छैन', उनले भने, 'त्यसैले राजमार्गको विकास गर्न आवश्यक छ।' वाणिज्य सहसचिव सुर्यप्रसाद सिलवालले बेइजिङ छलफलमा नेपाल-चीन व्यापारको अवरोध हटाउने र निर्यात सहज बनाउन नेपालले आग्रह गर्ने बताए।
छलफलमा सहभागी उद्योगी व्यापारीहरुले विराटनगर-किमाथांका सडक चाँडो पूरा गर्न माग गरे। सुनसरी-मोरङका करिडोरमा उत्पादित वस्तुहरु चीनसम्म पुर्याउने एक मात्र बाटो हो किमाथांका। मोरङबाट संखुवासभा हुँदै तिब्बत पुग्ने यो बाटो निर्माण भने चुस्त हुन सकेको छैन।
उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छाले किमाथांका विकसित नभए चीनसँगको व्यापार बढाउन नसकिने बताए। उनले भने, 'सरकारले चाँडो किमाथांका सडक पूरा गराउनुपर्छ।' सार्क राष्ट्रहरुसँगको व्यापार (साफ्टा) चुनौतीबारे समेत उद्योगी र मन्त्रालयका अधिकारीबीच छलफल भएको थियो।
उद्योगी व्यापारीहरुले यहाँ उत्पादित ४ सय ९७ वस्तुमध्ये १ सय ३६ वस्तुले चीन प्रवेश नपाएकोले बेइजिङ छलफलमा यी वस्तुहरुको निर्यातमा पहल गरिदिन मन्त्रालय अधिकारीलाई आग्रह गरे। मन्त्रालय अधिकारीले व्यापार घाटा बढेको, निर्यात अपेक्षा अनुरुप नभएको र निर्यात बढाउन निजी क्षेत्र नै सक्रिय नभएको आरोप लगाए। 'व्यापार बढाउन निजी क्षेत्र नै उदासिन छ', सचिव ओझाले भने।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed