कालोबजारीमा भारतिय रुपैया
मेचीनगर अनलाइन
|
Saturday, August 21, 2010
|
0 comments
काँकरभिट्टा, ५ भदौ / सीमावर्ती नेपाली बजारमा भारतीय मुद्राको चर्काे अभाव भएको छ । नेपाल राष्ट्र बैंकले चाहिए जति भारु दिन नसकेपछि उपभोक्ताहरु निजी सटही काउन्टर र झोले व्यापारीबाट चर्काे वट्टा (कमिशन) बुझाएर ‘ब्ल्याक’मा भारु किन्न बाध्य भएका छन् ।
नेपालको पूर्वी नाका काँकरभिट्टामा विगत चार महिनादेखि भारुको अभाव भइरहेको मेची उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष प्रल्हादमणि ओलीले बताए ।
भारतको दार्जीलिङ, सिक्किम, आसाम, मेघालय, सिलगडी र कलकत्तासम्म व्यापार गर्ने पूर्वी व्यापारिक नाका काँकरभिट्टामा नेपाल राष्ट्र बैंकले नेपाल बैंक लिमिटेडको सटही काउण्टर मार्फत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउँदै आएको छ । नेबैलिको सटही काउण्टरले भारु अभावको कारण देखाउँदै व्यक्तिलाई २ हजारका दरले भारु बेच्ने गरेको छ । बैंकका प्रबन्धक सुभाष झाले नेपाल राष्ट्र बैंकबाट दैनिक ३ लाख भारु मात्र आउने गरेकाले चाहिए जति उपलब्ध गराउन नसकिएको स्वीकार गरे ।
‘यहाँको दैनिक माग ५० लाख बढी छ’, प्रबन्धक झाले समस्याको समाधान आफ्नो तहबाट असम्भव रहेको बताउँदै भने –‘हामीले कहाँबाट ल्याएर बाँड्नु ?’
भारु अभावको मौकामा निजी सटही काउण्टर र झोले व्यापारीले अचाक्ली वट्टा असुलेर सर्वसाधारणलाई ठगी गर्न थालेको गुनासो बढेको छ । काँकरभिट्टाका दर्जन जति निजी सटही काउण्टरले प्रति हजारमा ४० देखि ६० रुपैयाँसम्म वट्टा काटेर भारु बेचिरहेका छन् ।
सरकारी सटही काउण्टर वरपरका खुद्रा पसले र झोलामा पैसा बोकेर आउने व्यक्तिहरुले अझ बढी प्रति हजार ६० देखि १ सय २० रुपैयाँसम्म वट्टा असुल्ने गरेका छन् ।
नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखाका प्रबन्धक झाले चर्काे वट्टा असुलेर झोले व्यापारीले भारु साटिरहेको थापा पाए पनि केही गर्न नसकिएको बताए ।
नेपाल राष्ट्र बैंकले प्रति हजार डेढ रुपैयाँ वट्टा लिएर भारु विक्री गर्ने दररेट तोकेको छ । तर, निजी सटही काउण्टरले ३० गुणा बढी वट्टा असुल्ने गरेका छन् ।
निजी सटही काउण्टरले बढी वट्टा असुल्ने आफ्नो बाध्यता भएको बताएका छन् । ‘बैंकले नदिएपछि इण्डियाबाट महंगो दरमा किनेर ल्याउनु परेको छ’, काँकरभिट्टा बसपार्कमा रहेको एक मनी चेञ्जर व्यवसायी आफ्नो बाध्यता यसरी सुनाउँछन् – ‘अनि कसरी घाटा खाएर सस्तोमा बेच्ने र ।’
मनी चेञ्जरहरुले भारतीय व्यापारीबाट प्रति हजार २० देखि ४० रुपैयाँ वट्टा तिरेर भारु किनेर ल्याउने गरेको बताए । ‘त्यसमा अलिकति नाफा त राख्नै पर्यो नि’, नाम नछापिदिन आग्रह गर्दै ती मनी चेञ्जर व्यवसायीले भने – ‘महंगैमा भए पनि भारु उपलब्ध गराएर सरकारले दिन नसकेको सेवा पो दिइरहेका छौं त ।’
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed