पूर्वराजा ज्ञानेन्द्र आज विराटनगरमा
मेचीनगर अनलाइन
|
Friday, September 10, 2010
|
0 comments
विराटनगर, भाद्र २६ - गणपति महोत्सवमा मूर्ति दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार विराटनगर आउने भएका छन् । महोत्सव समिति सदस्य रामेश्वर थापाले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् । पूर्वराजाको भ्रमण आयोजक समितिको आग्रहमा हुन लागेको दाबी गर्दै उनले भने, 'यो विशुद्ध धार्मिक भ्रमण हो ।' गणपति महोत्सव बर्सेनि यहाँस्थित सरस्वती माविको प्रांगणमा मूर्ति राखेर आयोजना हुने गरेको छ ।
धार्मिक भ्रमणका लागि विभिन्न जिल्लाका देवालयमा पूर्वराजाले भ्रमण गर्न रुचाएकाले यहाँ आउन अनुरोध गरिएको बताउँदै उनले भने 'कसैबाट पनि विरोध हुँदैन भन्ने लागेको छ । विरोध भयो भने हामी सामना गर्न तयार छौं ।'
पूर्वराजा आउने खबर स्थानीय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि एकीकृत माओवादीसम्बद्ध विभिन्न संगठनले उनलाई नल्याउन चेतावनी दिँदै गत मंगलबार विज्ञप्ति जारी गरेका थिए । त्यसको जवाफमा महोत्सवको आयोजना सामाजिक ढाँचामा खलल पुर्याउन नभएको दाबी आयोजक पक्षले गरेका थिए । शनिबार बिहान १० बजे आइपुग्ने पूर्वराजा शाहले रामजानकी मन्दिरपछि गणपति महोत्सवस्थल जाने र केहीबेर जनआन्दोलन चोकस्थित होटल रत्नामा विश्राम गर्ने कार्यक्रम रहेको थापाले बताए ।
उनको भ्रमणलाई ध्यानमा राख्दै नगर क्षेत्रमा प्रहरी र सेनाको तैनाथी बढाइएको छ । पूर्वराजाका विशेष सुरक्षा दस्ता पनि सादा पोसाकमा सक्रिय भएको छ । उनीहरूले विमानस्थलदेखि होटल र बजार हुँदै महोत्सव स्थलसम्मको निगरानीबढाएका छन् |
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed