बाजागाजा जुटाउने चिन्तामा सन्थाल जाति
मेचीनगर अनलाइन
|
Monday, September 13, 2010
|
0 comments
दमक भदौ २९/ पूर्वी नेपालमा बसोबास गर्ने सन्थाल समुदायमा चाडपर्व नजिकिँदै जाँदा चिन्ता छाएको छ । चाडपर्व कसरी मान्ने भन्दा पनि बाजागाजा कसरी जुटाउने भन्ने चिन्ताले उनीहरुलाई पिरोलेको छ ।
विशेषगरी दशैंमा सन्थाल नृत्य गरेर आप्mनो परम्परालाई जीवित राखेका सन्थाललाई यस वर्ष बाजाको अभाव खड्किएको छ ।
सन्थालहरुले दशैंको एक महिनाअघिदेखि नै दशैंमा देखाउने सन्थाल नृत्यको तयारी गर्ने गरेका छन् ।
यसपालि बाजा र नृत्य गर्दा लगाउने कपडा किन्ने रकम नहुँदा सन्थाल नृत्य देखाउन समस्या आउन लागेको सन्थाल क्लबका सचिव लखिराम मुर्मुले बताउनुभयो ।
![]() |
| अघिल्लो वर्ष झापाको चारआलीमा नृत्य गर्दै सन्थाल जातिहरु फाइल तस्विर/ मेचीनगर अनलाईन |
झापा जिल्लाको लखनपुर, चारआली, गरामनी, पथरिया लगायतका गाविसका विभिन्न स्थानमा दशैंको एक हप्ताअघिदेखि नै मेला लाग्ने गर्दछ । मेलामा सन्थाल नृत्य निकै आकर्षक हुने गर्दछ ।
उनीहरुले यसका लागि निक्कै लामो समयसम्मको तयारी पनि गर्ने गरेका छन् । लखिरामका अनुसार नृत्य तयारी गर्न सुरु गर्ने बेला भएतापनि सन्थाल बस्तीमा यसको तयारी गर्न सकिएको छैन ।
साहुमहाजनको घरमा नगई पेट भर्न नपाउने अवस्थाका सन्थाल दिउँसोभरि अर्काको घरमा काम गर्न जाने गर्छन् र रातभर सन्थाल नृत्यको तयारी गर्ने गर्छन् ।
वर्षौदेखिको परम्परालाई बचाई राख्नको लागि सन्थालहरुलाई आर्थिक समस्या परेको छ । उनीहरुको यो समस्या टार्नको लागि कसैले पहलसम्म गरेको छैन । पुराना बाजागाजा काम नलाग्ने भएको र कपडा पनि फाटी सकेकोले नयाँ बाजा र कपडाको जोहो हुन नसक्दा अब के गर्ने भनेर सन्थाल समुदायमा छलफल भए पनि बाजा र कपडा किन्ने स्रोत फेला पार्न नसकिएको लखिरामले बताउनुभयो । उहाँले भन्नुभयो यदि यसको जोहो १५ दिनभित्रमा गर्न नसके सन्थाल नृत्यको तयारी गर्न नपाइने र यस वर्षको दशैं खल्लो हुनेछ ।
दशैंमा विभिन्न बाजागाजा र रङ्गिविरङ्गी कपडामा सजिएर सन्थालहरुले परम्परागत सन्थाल नृत्य झापा र मोरङमा लाग्ने प्रायः सबै मेलामा देखाउने गरेका छन् । सन्थाल वृद्ध बडा मुर्मुका अनुसार सन्थालले सन्थाल नृत्य मात्र देखाउने नभएर दैवी शक्तिसमेत देखाइने गरेको छ । यसले गर्दा पनि नृत्यप्रति आकर्षण गरेको पाइन्छ ।
Filed Under: रिपोर्ट


0 comments
Trackback URL | Comments RSS Feed