पोलिथिन झोलामुक्त नगर घोषणा
मेचीनगर अनलाइन
|
Monday, September 13, 2010
|
0 comments
रोशन साँवा, इलाम, भदौ २९ - इलाम नगरपालिका क्षेत्रलाई पोलिथिन झोलामुक्त क्षेत्र घोषणा गरिएको छ। वातावरणसम्बन्धी संस्थाहरूको समन्वयमा नगरपालिकाले सोमबार नगर क्षेत्रलाई पोलिथिन झोलामुक्त घोषणा गरेको हो।
पर्यटन वर्ष २०११ लाई लक्षित गरी उक्त घोषणा गरिएको नगरपालिकाले जनाएको छ। 'स्वास्थ्य र वातावरणीय दृष्टिले खराब पोलिथिन झोला हटाउँदै स्वच्छ, समृद्ध र सुसंस्कृत इलामको पहिचान कायम गर्न यस्तो घोषणा गरेका हौं,- नगरपालिका कार्यकारी अधिकृत युवराज दाहालले भने। कार्यक्रममा सहभागी सबैले घोषणा पत्रमा हस्ताक्षर गर्दै सफल कार्यान्वयनको कामनासमेत गरे। सात वर्षअघि पोलिथिन झोला हटाउन सञ्चालन गरेको यस्तै अभियान असफल भएपनि यसपटक सफल पार्ने दाबी नगरपालिकाको छ। यसपटकको अभियानमा इलाम उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, सीम-एन आयोजना, नामसालिङ सामुदायिक विकास केन्द्र र सुनगाभा विकास संस्थाले साथ दिएका छन्। नगरपालिकाले नगर क्षेत्रबाट पोलिथिन झोला प्रयोगमा निषेध भने तीन सातापछि मात्र गर्ने जनाएको छ। 'एकैचोटी सम्भव नहुने भएकाले अहिले न्यूनीकरण अभियानमा छौं- दाहालले भने,'प्रचारप्रसार गर्न थालेपछि व्यवसायीले पनि कागज र कपडाको झोला प्रयोग गर्ने क्रम बढेको छ।
बजारका पसलमा अहिले राखिएको सबै पोलिथिन झोला नगरपालिकाले नै खरीद गरेर थन्क्याउने उनले बताए । इलाम उद्योग वाणिज्य संघले दुई सातादेखि नै पोलिथिन प्रयोग नगर्न आग्रह गर्दै हटियाको दिन १५ रुपैयाँ पर्ने जुटको झोला बिक्री गरिरहेको छ।
यसैगरी कागजको थुङा, जुट र कपडाको झोला उत्पादन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न नगरपालिकाले दुई व्यवसायीलाई ५० हजार रुपैयाँको दरले ऋण सुविधा पनि उपलब्ध गराएको छ। नगरभित्रका खोल्सा, सडक र नालीमा जथाभावी फ्याँकिएको प्लास्टिक संकलन गर्ने काम पनि सुरु भएको छ।
पोलिथिन झोलामुक्त गर्ने अभियानले इलामको पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा टेवा पुग्ने जिल्ला विकास समितिको पर्यटन उपसमितिका धर्म गौतमले बताए।
अन्यभन्दा बढी हानिकारक मानिने कालो पोलिथिनमा प्रोपेलिन, बेनजिन, फेनोल, इथिलिनजस्ता रसायन हुन्छ। यी रसायनबाट क्यान्सर, एलर्जी, पेट तथा फोक्सोको समस्या देखा पर्ने नगरपालिकाले जनाएको छ। पोलिथिन सड्न ५० वर्षभन्दा बढी लाग्ने र जलाउँदा हाइड्रोकार्बन र क्लोरोफोरो कार्बनजस्ता विषालु ग्याँस निस्कने गर्दछ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed