चाउरी परेको अनुहार क्यामेराले खिचेन !!
मेचीनगर अनलाइन
|
Tuesday, September 14, 2010
|
0 comments
धनकुटा, भाद्र २९ - चौहत्तर वर्षीया बालश्वरी राईको तस्बिर खिच्न खोज्दा क्यामेराले क्लिक गरेन । घन्टौं प्रयास गर्दा पनि खिचेन । केही उमेरदारको प्रयास गरियो, सजिलै खिच्यो । कस्तो आश्चर्य !
निर्वाचन आयोगले सञ्चालन गरेको पहिलो चरणको तस्बिरसहितको मतदाता नामावली संकलन कार्यस्थल धनकुटा-७ स्थित त्रिवेणी उमावि केन्द्रमा सोमबार यस्तै भयो । जति वृद्धवृद्धाको तस्बिर लिन खोजे पनि क्यामेराले साथै दिएन । अरूको खट्खट् खिच्यो ।बालश्वरीको खिच्दा 'फेस इरर' भन्ने संकेत आएपछि छानिए धनकुटा-७ का अनुहार चाउरी परेका वृद्ध लाखमान राई । उनकोमा पनि त्यसै भन्यो । यसले नामावली कार्यक्रमसमेत प्रभावित भएको केन्द्रका संयोजक डम्बर रोगुले बताए । 'वृद्धवृद्धाको तस्बिरै नखिचिएपछि भोलिदेखि के गर्ने भन्ने अन्योलमा परिएको छ,' क्यामेरा पर्सन अर्थात् दर्ता कर्मचारी प्रमिला भुजेलले भनिन्, 'यस्तो समस्या तत्काल समाधान नभए काम गर्न कठिनाइ हुनेछ ।' नामावली संकलन कार्यमा प्रयोग गरिएको सफ्टवेयरमा समस्या उब्जिएर यस्तो घटना भएको अभियानमा खटिएका प्राविधिक अधिकृत शरदकुमार दाहालले अनुमान गरे ।
घटनाबारे अनुगमन गर्न निर्वाचन आयुक्त अयोधिप्रसाद यादव स्वयं पनि संकलनस्थल पुगे । घटनालाई 'प्राविधिक समस्या' भन्दै उनले तत्काल समाधान हुनुपर्नेमा जोड दिए । 'समाधान नभए अभियानै प्रभावित नहोला भन्न सकिन्न,' उनले भने, '२५ प्रतिशत वृद्धवृद्धा छन्, उनीहरूलाई छाडेर अरूको मात्र फोटो खिच्दा अभियान सफल हुँदैन ।' वृद्धवृद्धाले आफूहरूलाई तस्बिर खिच्ने भन्दै निकै सास्ती दिएको गुनासोसमेत गरे । ७४ वर्षीया रानुमायाले हैरान मान्दै भनिन्, 'मर्ने बेलामा बरु फोटो खिच्नु पर्दैन, मलाई घर जान देऊ ।' उनलाई तस्बिर खिच्न करिब २ घन्टा एकै ठाउँ राखिएको थियो ।
Source :- Ekantipur
Filed Under: फिचर

0 comments
Trackback URL | Comments RSS Feed