गर्मी महसुस हुन नदिने कतारको दाबी
मेचीनगर अनलाइन
|
Tuesday, September 14, 2010
|
0 comments
दोहा/ कतारले २०२२ को विश्वकप फुटबल आयोजना गर्न पाएको खण्डमा दर्शक तथा खेलाडीलाई गर्मीको अनुभूति हुन नदिने वाचा गरेको छ । कतारले यसै साता सो वाचा पूरा गराउने मौका पनि पाउनेछ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को अध्ययन टोलीले मंगलबारदेखि कतारको भ्रमण गर्दै छ । त्यसवेला विशेष रूपमा फाइव ए साइड फुटबलका लागि बनाइएको रंगशालाको पनि भ्रमण गर्नेछ । जुन, जुलाई तथा अगस्टमा कतारको औसत तापक्रम ४१ डिग्री सेल्सियस हुने भए पनि सो समयमा त्यस रंगशालाको मैदान तथा प्याराफिडको तापमान २७ डिग्री सेल्सियसमा राखिने गरिन्छ ।सौर्य ऊर्जाको मद्दतबाट सो रंगशालामा निरन्तर चिसो हावा बहने गर्छ । आयोजक समितिका प्रमुख कार्यकारी हसन अल थवाडीले आगामी दिनमा सो प्रविधि दर्शकदीर्घाका लागि छुट्याइएको स्थान तथा अभ्यासस्थलमा पुर्याइने दाबी गरे ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, यस वर्षको गर्मी महिनामा कीर्तिमानी तातो महसुस गरिएको तथा जुलाईमा त तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी मापिएको थियो । मध्यपूर्वको सो सानो मुलुकमा अल्कोहलमाथि लगाइएको कडा कानुनले विश्वकप आयोजनामा नकारात्मक असर पुग्न सक्नेछ । साथै २०२२ को आयोजनाको दाबीमा उत्रिएका अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया र जापानले विश्वकप वा ओलम्पिक्सको आयोजना गरिसकेकाले पनि कतारको दाबीलाई कमजोर बनाएको छ ।
भौगोलिक आधारमा सानो भए पनि धनी भएको तथा आगामी दिन अझै आर्थिक उन्नति गर्ने सम्भावना बोक्नु भने कतारको पक्षमा छ । कतारले आप\mनो योजनामा चार अर्ब अमेरिकी डलरको लगानीमा थप नौ रंगशाला बनाउने तथा अन्य तीन रंगशालाको मर्मत गर्ने तथा ती सबैमा कुलिङ सिस्टम जडान गर्ने उल्लेख गरेको छ । साथै सो मुलुकले आयोजना पाएको खण्डमा थप ४२ अर्ब ९० करोड अमेरिकी डलरको लगानीमा पूर्वाधार सुधार गर्ने जनाएको छ ।
कतारले सो आयोजना पाएको खण्डमा सम्मानित प्रतियोगिता आयोजना गर्ने पहिलो मध्यपूर्वी मुलुक बन्नेछ । 'कतारले आयोजना पाउने राम्रो मौका छ तथा यो कतारको मात्र नभएर सम्पूर्ण मध्यपूर्वको आयोजना हुनेछ । हाम्रो चाहना विश्वको सबैभन्दा सम्मानित फुटबल प्रतियोगिता पहिलोपटक मध्यपूर्वमा गराउने हो,' कतार २०२२ बिड कमिटीका सञ्चार निर्देशक नासेर अल खातेरले भने, 'हामी सकारात्मक जवाफको पर्खाइमा छौँ । कतारसँग आयोजना गर्नसक्ने सबै क्षमता छ तथा हामी अन्य दाबेदारसँगै अघिल्लो पंक्तिमा उभिएका छौँ ।'
फिफाका अध्यक्ष सेप ब्लाटरले समेत यसै वर्षको सुरुवातमा अरब मुलुकले विश्वकप आयोजना गर्न पाउनुपर्ने धारणा राखेपछि कतारको दाबेदारी बलियो बनेको थियो । ब्लाटरले नै अपि|mकी मुलुकमा पनि विश्वकप गराउने चाहना देखाएकै कारण दक्षिण अपि|mकाले विश्वकप आयोजना गर्न पाएको थियो ।
साथै ब्लाटरले कतारले २००६ मा एसियाली खेलकुदको सफल आयोजना गरेर कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको पुष्टि गरेको धारणा राखेका छन् । कतारले आगामी २०१७ सम्म नयाँ अन्तर्राष्ट्रिय विमानस्थल तथा एयरकन्डिसनयुक्त सार्वजनिक यातायात सञ्चालन गर्न लागेको छ । तर, आलोचकहरू कतारको चिसो पार्ने प्रविधिको परीक्षण नभएको तथा त्यहाँको कट्टर सोचाइले पश्चिमालाई आकषिर्त पार्न नसक्ने दाबी पनि गर्छन् । विश्वकप फुटबल हेर्न आउने दर्शकलाई बाटोमा मादक पदार्थ सेवन गर्ने छुट दिन कतार सक्षम नहुने दाबी पनि उनीहरूको छ । विश्वकपमा मदिरा सेवन परम्परा नै बनिसकेको छ ।
दौत्य सम्बन्ध नभएका कारण कतारले इजरायली दर्शकलाई प्रवेशाज्ञा दिन्छ कि दिँदैन भन्ने अर्को प्रश्न पनि उठाइएको छ । साथै चीनले २०२६ को आयोजनाको दाबी गर्ने बताइसकेका कारण पनि २०२२ को आयोजना एसियाले पाउने सम्भावना कमजोर बनेको छ । तर, ब्लाटरलाई फेरि फिफा अध्यक्ष बनाउन समय खर्चिरहेका एसियाली फुबटल महासंघका अध्यक्ष मोहम्मद बिन हमामका कारण कतारले आयोजना पाउन सक्छ । किनभने हमाम कतारका नागरिक हुन् ।
चीनको दाबेदारीपछि फिफा कार्यकारी समितिका सदस्यहरूबीच एसियालाई आयोजनाको मौका दिन २०२२ का लागि एसियाका कतारजस्ता मुलुकलाई मत हाल्ने कि २०२६ सम्म पर्खने भन्ने विवाद पनि देखिएको छ । नियमानुसार एकै महादेशले लगातार दुईपटक विश्वकपको आयोजना गर्न पाउँदैन ।
फिफा कार्यकारी समितिले आगामी २ डिसेम्बरमा २०१८ र २०२२ को विश्वकप आयोजक मुलुकको चयन गर्नेछ । फिफाको अध्ययन टोलीले यसअघि नै जापान, दक्षिण कोरिया, अस्ट्रेलिया तथा अमेरिकाको भ्रमण गरिसकेका छन् ।
Source : Nayapatika
Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed