सुनसरीका २ निजी विद्यालयमा तोडफोड
मेचीनगर अनलाइन
|
Monday, September 13, 2010
|
0 comments
इटहरी, भदौ २९- सुनसरीका सम्पूर्ण निजी विद्यालय खोल्न ४८ घण्टे अल्टिमेटम दिएर माओवादीको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताले सोमबार दुई विद्यालय तोडफोड गरेका छन्।
निजी विद्यालयमा कार्यरत् शिक्षक युनियन (इस्टु) ले आफ्ना माग पूरा नभएको भन्दै बिहीबारदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको र सञ्चाकलले असुरक्षाका कारण देखाएर सम्पूर्ण निजी विद्यालयका साँचो आइतबार जिल्ला शिक्षा कार्यालयलाई जिम्मा लगाएका थिए।
सञ्चालकले साँचो शिक्षा कार्यालयमा बुझाएपछि क्रान्तिकारीका कार्यकर्ताले शिक्षक र सञ्चालकबीचको विवादले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेका भनेर अल्टिमेटम दिई इटहरीको नर्थ प्वाइन्ट र धरानको सुनसरी टेक्निकल स्कूल तोडफोड गरेका हुन।
तोडफोडबाट विद्यालयको कार्यालयका सिसा, टेवल र सवारी साधनमा क्षति पुगेको प्याब्सन सुनसरीका अध्यक्ष दिलकुमार वनले बताए। क्रान्तिकारीका केन्द्रीय सदस्य मदन चुडालले सञ्चालकले कामदार शिक्षकको चित्त बुझाउन नसकेर विद्यालयको साँचो शिक्षा कार्यालयलाई बुझाएकाले विद्यार्थीको भविष्यमाथि खेलबाड भयो, त्यसैले यसको विरोध गर्न साङ्केतिकरुपमा तोडफोड गरेको बताए।
उनले अल्टिमेटम दिएको समयभित्र विद्यालय नखोले सशक्त कारबाही थाल्ने चेतावानी पनि दिए। उनले भने- निजी विद्यालय सरकारका होइनन्। व्यापार गर्न खोलिएका हुन्। आफ्ना कामदार शिक्षकलाई चित्त बुझाएर तलब दिन नसक्दा साँचो बुझाउनु न्यायसङ्गत छैन्। युनियनले दुई दिने बन्दपछि अनिश्चितकालीन बन्द आह्वान गरेको र पटक–पटकको वार्ता निष्कर्षमा पुग्न नसकेकाले असुरक्षा बढेर गएपछि बाध्य भएर विद्यालयको साँचो शिक्षा कार्यालयलाई जिम्मा दिइएको वनले जानकारी दिए।
सुनसरीका जिल्ला शिक्षा अधिकारी हरि वस्तीले पहिला शिक्षक युनियनले अनिश्चितकालीन विद्यालय बन्द गरेपछि सञ्चालकले पनि शिक्षा कार्यालयमा साँचो बुझाएर पठनपाठन ठप्प भएको विषयमा गम्भीर रहेको बताए। उनले भने- विद्यालय बन्द गर्ने र साँचो बुझाउने दुवै पक्ष सार्थक निष्कर्षमा पुग्न गम्भीर नभएकाले भने अप्ठयारो छ।'
अनिश्चितकालीन विद्यालय बन्दले जिल्लामा ३ सयभन्दा बढी निजी विद्यालयका २५ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प छ।
Source : Nagariknews
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed