• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

खेलकूद क्षेत्रबाट उदाएका युवा समाजसेवी

कोकिला ढकाल इलाम, १३ असोज
२०६१ सालमा इलामको प्याङ्गमा भएको एक खुल्ला फूटबल प्रतियोगितामा सहभागी हुँदा आफ्नै गाउँको विपक्षी टिमका खेलाडी उमेश राईलाई बलले हानेर पेट नै फुटाएपछि सोयाङ्ग–२ का प्रवीन राई एकाएक चर्चामा आए । 
प्रवीनले प्रहार गरेको बल समात्ने क्रममा गम्भीर भएका बल रक्षक उमेश धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकमहिना लामो उपचार गरेपछि मात्र घर फर्किए । ‘बाफ् रे कस्तो प्रहार ? को हुन् ती प्रहारकर्ता’ धेरैको यो जिज्ञासामा तिनै प्रवीन राई उत्तर बनेर उभिएका छन् ।
प्रवीनले खेलकै दौरानमा जिल्लामा खेलाडीको छाप कमाए । स्थानीयदेखि जिल्ला, क्षेत्रीय र राष्ट्रियस्तरका एथलेटिक्स प्रतियोगितामासमेत सहभागी भइसकेका प्रवीन अहिले गाउँमा एक युवा समाजसेवीका रुपमा उदाएका छन् । खेल उनको जीवनको प्रमुख पाटो हो तर, शिक्षा क्षेत्र होस् या त राजनीति, गाउँको कृषि र पशुपालन नै किन नहोस्, सवै क्षेत्रका करिव दर्जन संघसंस्थामा आवद्ध प्रवीनलाई समाजसेवाकै काम गर्न भ्याइनभ्याइ छ यतिबेला । 

प्रवीणलाई चिनाउने र समाजसेवाको क्षेत्रमा लाग्न प्रेरित गरेको खेलले नै हो । ‘म फूटबल खेलाडी भएकाले त्यसकै माध्यमबाट गाउँ जिल्ला र राष्ट्रियस्तरका खेलाडीसंग परिचित भएँ,’ उनले भने ‘खेलसंगसंगै अन्य काम पनि गर्ने सोच भएकाले धेरै क्षेत्रमा आवद्ध हुन पुगियो ।’ फुटबलका अतिरिक्त भलिबल, एथलेटिक्सलगायतमा पनि उनी एक कुशल खेलाडीका रुपमा चिनिन्छन् । जिल्लास्तरको टीममा सहभागी भएर फुटबल खेल्न काठमाडौंसम्म पुगेका उनले विराटनगर, विर्तामोड र चन्द्रगढीमा भएका क्षेत्रीयस्तरका एथलेटिक्स प्रतियोगितामा सहभागी भएर आफ्नो बहुमुखी कला प्रदर्शन गरिसकेका छन् । 
पछिल्लो समयमा उनले फुटबल र भलिबलका दर्जनौं खेलहरुमा अम्पायरको रुपमा पनि काम गरिरहेका छन् । झापाका विभिन्न फूटबल टीममा सहभागी भएर नयाँबजारमा आएका खेलाडीहरुमाझ समेत अम्पायरको काम गरिसकेका छन् प्रवीणले । ‘राष्ट्रियस्तरका खेलाडी सहभागी भएका टिममा खेल खेलाउँदा मैले धेरै कुरा सिक्ने र अनुभव गर्ने मौका पनि पाएको छु,’ उनले भने ‘यसले मलाई भविष्यमा पनि प्रगतितिर लम्किने अवसर दिएको छ ।’ 
खेलकुदका क्षेत्रमा काम गरिहँदा उनले यसभित्रका सकारात्मक र नकारात्मक पक्षकोसमेत पहिचान गरेका छन् । राष्ट्रपति कप फुटबल प्रतियोगितामा होस् या अन्य क्षेत्रीयस्तरका प्रतियोगिता, त्यसमा शहर बजारका तुलनामा गाउँका खेलाडीलाई अवसर नदिइने गरेको प्रवीण बताउँछन् । कतिपय खेलमा नियमभन्दा बाहिरका खेलाडी समावेश गरिएकाले पनि गाउँका खेलाडीलाई हराउने काम भइरहेको उनले सुनाए । 
‘राष्ट्रपति कप फूटबलमा पनि विद्यालयभन्दा बाहिरका खेलाडी मिसाएर खेलाउने गरेको पाइयो,’ उनले पुरानो गुनासो पोखे ‘त्यसमा हामीले नयाँबजारबाट ६० हजार रुपैयाँ खर्चमा खान बस्नको प्रबन्ध मिलाएर ल्याएका विद्यार्थीहरुलाई विद्यार्थीको नाम गरेर आएका बाहिरका खेलाडीले हराए ।’ नयाँ बजार यसरी पराजित हुनेको उदाहरण मात्र भएको ठहर गरेका उनले बाहिरका खेलाडी ल्याएर खेलाउने भए बरु खुल्ला प्रतियोगिता नै गर्न आयोजक जिल्ला खेलकुद विकास समितिलाई चुनौतिसमेत दिए ।
विभिन्न प्रतियोगितामा खेलाडी  छनौट गर्ने क्रममा पनि जिल्लामा रहेकाहरुले गाउँका प्रतिभाहरुलाई उजागर गर्ने मौका नै नदिने गरेकोमा पनि उनी चिन्तित छन् । ‘खेलाडी नै खोज्ने हो भने गाउँमा ७० र शहरी क्षेत्रमा ३० प्रतिशत मात्र छन्,’ उनी भन्छन् ‘खेलाडी छनौट नै गर्ने हो भने बजारमा बसेर टाउको गन्ने होइन गाउँमै जानुपर्छ ।’ 
आफूजस्ता धेरैजना खेल क्षेत्रमा अगाडि बढ्न नसक्नुमा लगानीकै अभाव भएको प्रवीण बताउँछन् । खेलका क्षेत्रमा काम गर्ने जिल्ला खेलकूद विकास समितिले गाउँका प्रतिभा उजागर गर्न विभिन्न प्रशिक्षण कार्यक्रमको आयोजना गर्नु आवश्यक रहेको देखेका प्रवीण खेलको विकासमा प्रेरणा र अवसर दुवै हुनपर्ने बताउँछन् । 
अमरकल्याण उच्च माध्यमिक विद्यालय नयाँबजारका खेलकूद शिक्षक रहेका उनी सोयाङ्ग खेलकूद विकास समितिको अध्यक्ष, नयाँबजार खेलकूद विकास समितिको सचिव र सोयाङ्ग–नयाँबजार(एसएन) क्लबको सचिवका रुपमा कार्यरत छन् । धोद्रे दुग्ध सहकारी संस्थाका अध्यक्ष रहेका उनी अमरकल्याण उमावि र नयाँबजारको बजार व्यवस्थापन समितिको सदस्यका रुपमा पनि क्रियाशील छन् । युथफोर्स सोयाङ्गको संयोजक प्रवीन राजनीतिमा माध्यमबाट समाज बुझ्न र समाजसेवाको भावनाले राजनीतिमा प्रवेश गरेको बताउँछन् । ‘राजनीति एउटा सागर हो, जति भित्र जानसक्यो उत्ति नै मोतिको नजिक पुगिन्छ,’ उनी भन्छन् ‘अहिले राष्ट्रिय राजनीतिमा भइरहेको उथलपुथलले संविधान निर्माणमा प्रभाव पारिरहेको छ, यसलाई दलहरुकै सहमतिमा अन्त्य गर्नुपर्छ भन्ने लाग्छ ।’
वर्तमान खेलकूद विकास समिति इलामका कोषाध्यक्ष उमेश गुरुङ्ग, फूटबल प्रशिक्षक दर्शन भक्तराज, आफ्नै दाइहरु प्रेम र राजेशको प्रेरणा तथा सहयोगले खेल क्षेत्रमा उदाएका प्रवीनलाई अहिले भने खेलका लागि समय छुट्याउन नै मुस्किल छ । विहानदेखि बेलुकासम्म हरेक काममा खट्नुपर्दा खेलक्षेत्र चाही ओझेलमै पार्न आँटेको अनुभव सुनाउँछन् उनी । सोयाङ्ग–नयाँबजार क्लबले दशैंको अवसर पारेर आगामी २५ गतेदेखि सोयाङ्गस्थित शिरिशेमा आयोजना गर्न लागेको खेलकूद महोत्सवको तयारीमा अहिले आफू व्यस्त रहेको उनले बताए । आफ्नो औपचारिक अध्ययनबारे बताउन नचाहेका प्रवीण भन्छन् ‘कहिले खेल, कहिले राजनीति र कहिले गाउँघरका कृषकहरुसंगको सहकार्य नै मेरो लागि पाठशाला हो, यहाँबाट खारिएपछि आफैं दक्ष बनिने रहेछ ।’  

 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply