मकै पाक्न नपाउँदै सखाप
मेचीनगर अनलाइन
|
Wednesday, September 15, 2010
|
0 comments
| बोट सुकेको मकै |
इलाम, ३० भदौ/ पाक्ने बेलाको मकैमा रोगका कारण बोट नै सुकेपछि इलामका किसान चिन्तित बनेका छन् । धानजमरा निस्किसकेका र कतिपय घोगा लागिसकेका मकैका बोटका पात, डाँठ र जरा सवै सुक्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । हरियो मकैको पातमा खैरो थेग्ला बस्ने, थेग्लाहरु जोडिएर बोट नै खैरो हुने अनि केही दिनमा बोट नै सुक्ने रोग देखिएपछि अहिले जिल्लाका सोयाङ्ग, नयाँबजार, नामसालिङ्ग, मंगलबारे, आमचोक, जोगमाईलगायतका गाउँका किसान समस्यामा परेका छन् ।
जिल्लाको सवैधन्दा बढी क्षेत्रफलमा लगाइने गरेको मकै बोट सुकेर सखाप भएपछि वर्षभरी खानाको अभाव हुनसक्ने किसानको गुनासो छ । घोगा लागिसकेका रोगी मकैमा पनि दाना नभएको र दाना भएको मकै खल्लो हुने गरेको आमचोकका किसान जीवन सुवेदीले बताए । ‘पाक्ने बेलाको मकै बारीमै सखाप भो,’ उनले भने ‘वर्षेनी रोगकै कारण मकै आधाभन्दा कम उत्पादन भइरहेको छ ।’
मकैमा यस्तो रोग सर्काेस्पोरा जिया मेडिज नामक ढुसीबाट लाग्ने र बीउबाट नसरेपनि माटोमा गल्न नसकेको ढुसीबाटै यसले बालीमा आक्रमण गर्ने विज्ञहरुको भनाइ छ ।
मकै आफूहरुको मुख्य बाली भएपनि सरकारी उदासिनताका कारण हरेकवर्ष मकैमा रोग लाग्ने गरेकोले सोचेअनुरुपको आम्दानी लिन नसकेको किसानले बताएका छन् । सम्बन्धित पक्षले यो रोगको तत्काल नियन्त्रणका लागि पहल गर्न उनीहरुको माग छ । ‘सरकारले रोगको उपाय तत्काल खोजेर किसानलाई सहयोग नगरे अव केही वर्षमै सवै मकै सकिन्छ,’ चमैताका किसान अटल सारुपारुले भने ।
Filed Under: रिपोर्ट

0 comments
Trackback URL | Comments RSS Feed