विर्तामोडबाट फुटपाथ हटाईने
मेचीनगर अनलाइन
|
Friday, September 3, 2010
|
0 comments
विर्तामोड, १९ भदौ / विर्तामोड बजारक्षेत्र दिन प्रतिदिन सवारीसाधनको जथाभावी पार्किङ र अव्यवस्थित फुटपाथ व्यवसायले गर्दा अस्तव्यस्त भएको भन्दै त्यहाँका फुटपाथ पसललाई तत्काल हटाइने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनमा समेत प्रतिकूल असर परी जनगुनासो समेत आएको भन्दै सो समस्यालाई क्रमशः व्यवस्थापन गर्दै जाने शुक्रबार विर्तामोडमा ट्राफिक व्यवस्थापन र विभिन्न यातायात व्यवसायी संघ संस्थाहरुको भेलाले सो निर्णय गरेको हो । भेलाले भदौ २१ गतेबाट विशेष ट्राफिक अभियान सञ्चालन गरी चालक सहचालक, सवारी धनी, फुटपाथ व्यवसायीलगायत सर्वसाधारण सबैमा अनिवार्य नियम पालना गर्न समेत आग्रह गरेको छ । सो आग्रहलाई नमान्ने व्यवसायी र चालकलाई कानून बमोजिम कारवाही समेत गरिने जनाएको छ ।
भेलाले मुक्तिचोकबाट १ सय मिटर दायाँ बायाँ कुनै सवारी साधन पार्किङ तथा फुटपाथ व्यवसाय सञ्चालन निषेध गर्ने साथै निर्माण सामग्रीलाई लोड अनलोड गर्दा सकभर रातको समयमा मात्रै गर्न दिने निर्णय गरेको छ । माइक्रोबसको छतमा सामान लोड गर्न पूर्ण निषेध गर्ने, भाडाका सवारी साधनले जथाभावी यात्रु ओराल्ने वा चढाउने, छत तथा झुण्डिएर यात्रा गर्न पूर्ण निषेध गरिने सहमति समेत भएको छ ।
सवारी तथा फुटपाथ नियन्त्रण गर्न एउटा संयुक्त संयन्त्र बनाइ फिल्डमा संयुक्त रुपमा काम गर्ने समेत ट्राफिक प्रहरी निरीक्षक शान्तिराज कोइरालाले बताए । उनले जनचेतनामुलक र्याली, चालक र सहचालकलाई प्रशिक्षण समेत दिइने बताएका छन् । उक्त सर्वपक्षीय भेलामा नेपाल यातायात स्वतन्त्र मजदूर संघका अध्यक्ष हस्तराज राई, मेची ट्याक्सी परिवारका अध्यक्ष सूर्यप्रताप नेम्वाङ्ग, मेची पहाडी यातायात संघका सभापति बालकृष्ण रिजाल, मेची बस व्यवसायी संघका सभापति राजेन्द्रकुमार बस्नेतलगायत ११ वटा यातायात व्यवसायी संघका प्रतिनिधिको उपस्थिति रहेको थियो । विर्तामोड क्षेत्रमा दिनानुदिन दुर्घटना बढ्दै गएपछि यसरी योजना बनाई काम गरिएको हो ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed