मेची पेट्रोलियमको अध्यक्षमा भण्डारी
मेचीनगर अनलाइन
|
Saturday, September 18, 2010
|
0 comments
असोज २/मेची पेट्रोलियम डिलर्स एशोसिएसनको छैटौं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै आज विर्तामोडमा सम्पन्न भएको छ ।
साधारण सभाले तीन वर्षे कार्यकालका लागि एशोसिएसनको अध्यक्षमा लयप्रसाद भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । भण्डारीले यसअघि कार्यवहाक अध्यक्षको जिम्मेवारसमेत सम्हाल्दै आउनुभएको थियो । त्यस्तै प्रथम उपाध्यक्षमा माक्स प्रसाईं, द्वितीय उपाध्यक्षमा नवीन कोइराला, महासचिवमा भूपाल कटुवाल, सचिवमा सागरबाबु उप्रेती र कोषाध्यक्षमा टीका पिठाकोटी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा विनोद बस्नेत, प्रकाश सरिया, मदन राई, किशोर खत्री र उत्तम श्रेष्ठ चयन हुनुभएको छ ।
साधारणसभाको बन्दसत्र अघि सम्पन्न उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष सरोज पाण्डेले द्वन्द्व, अराजकता, दण्डहीनताले पेट्रोलियमसँगै मुलुकको समग्र व्यवसाय घरासायी भन्दै गएको बताउनुभयो । यसको सम्पूर्ण दोषी राजनीतिक दलहरु रहेको दावी गर्दै पाण्डेले अहिलेको स्थितिमा सुधार नआए मुलुक असफल राष्ट्र घोषित हुने बताउनुभयो ।
नेपाल आयल निगमका पूर्वाञ्चल क्षेत्रीय प्रमुख मुकुन्द घिमिरेले मेची अञ्चल सहित पूर्वका जिल्लाका लागि आउँदो अक्टोबर महिनादेखि नै शिलगढीबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने तयारी भइरहेको बताउनुभयो ।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले चन्दा र धम्कीविरुद्ध संगठित रुपमा आवाज उठाउनु पर्ने बताउनुभयो ।
झापा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र घिमिरेले आयल निगमबाट तेल वितरणमा हुने गरेको विभेदपूर्ण व्यवहार अन्त्य गर्न माग गर्दै चन्दा आतंकबाट व्यवसायी आक्रान्त बनेको बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख कृष्णप्रसाद भण्डारी, सगरमाथा पेट्रोलियम व्यवसायी संघका
हरिकृष्णप्रसाद सिंह, नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष चतुर्भुज सरिया, एशोसिएसनका पूर्वाञ्चल संयोजक रामचन्द्र साह, सगरमाथा अञ्चलका बलराम दास, एशोसिएसनका केन्द्रीय सल्लाहकार नवीनचन्द्र श्रेष्ठ, झापाका अग्रज व्यवसायी महावीर अग्रवाल, नेपाल पेट्रोलियम ढुवानी संघका गुणलाल
निरौला, मेची बस व्यवसायी संघका अध्यक्ष श्रीप्रसाद मैनाली लगायतले शुभकामना मन्तव्य राख्दै व्यवसायीको हकहितका पक्षमा संगठित भई सामुहिक रुपमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
मेची पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष चन्द्र डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष डाँगीसहितका पदाधिकारीले अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो । एशोसिएसनका लयप्रसाद भण्डारीले स्वागत गरेको कार्यक्रम लिला अनमोलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको सुरुमा गतवर्ष निधन भएका एशोसिएसनका पदाधिकारी रमेश अग्रवालको सम्झनामा एक मिनेट मौन धारण
गरिएको थियो ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed