आपराधिक घटनामा वृद्धि
मेचीनगर अनलाइन
|
Wednesday, September 29, 2010
|
0 comments
प्रकाश पौडेल झापा सरकारले शान्ति सुरक्षा दिन नसक्दा तथा खुल्ला सीमानाका कारण पूर्वाेत्तर झापामा अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षमा आपराधिक घटनामा अत्यधिक वृद्धि भएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा, अपराध अनुसन्धान तथा कार्वाही शाखामा उल्लेख भएको तथ्यांक अनुसार आव २०६६/०६७ मा आपराधिक घटना वृद्धि भएको छ । सो अपराध तथ्यांक विवरणमा विभिन्न २४ वटा शीर्षक अन्तर्गत १ सय ७८ वटा आपराधिक घटनासम्बन्धी मुद्दा दर्ता भएको छ । अघिल्लो आव २०६५/०६६ मा भने १ सय २८ वटा मात्र यस्ता मुद्दा दर्ता भएको मुद्दा शाखाका प्रमुख राजकुमार थापाले जनाएका छन् । विगतको भन्दा तुलनात्मक रुपमा यो आवमा ५० वटा अपराधका घटना बढेका छन् ।
चालू आ.व २०६६/०६७मा झुण्डिएर आत्महत्या गर्ने ३९ वटा, केही सार्वजनिक अपराध सम्बन्धी २७ वटा, सवारी दुर्घटनासम्बन्धी २४ वटा, अन्य भवितव्य सम्बन्धी १३ वटा, कर्तव्य ज्यान, खुनडाका सम्बन्धी १÷१ वटा, ज्यान मार्ने उद्योग अन्तर्गत ७ वटा, वेवारिसे शव सम्बन्धी ४ वटा, विष सेवन गरी आत्महत्या २२ वटा, आगो लगाई आत्महत्या गरेको ४ वटा हातहतियार तथा खरखजना अपराधबारे १ वटा हाम फालेर आत्महत्या ३ वटा, डुबेरआत्महत्या २ वटा, डाका सम्बन्धी २ वटा, चोरी सम्बन्धी २ वटा, प्राचीन स्मारक सम्बन्धी १ वटा, ठगी सम्बन्धी १ वटा, लागू औषध ओसारपसार सम्बन्धी ६ वटा, चन्दा संकलन सम्बन्धी ९ वटा, बहुविवाह १ वटा, जवरजस्ती करणीका १३ वटा, मानव अपहरणको २ वटा, विष्फोटक पदार्थ सम्बन्धी १ वटा र आगो लगाउने ४ वटागरी जम्मा १ सय ७८ वटा अपराधका मुद्दाहरु दर्ता भइसकेको कार्यालयको मुद्दा फाँटले जनाएको छ । दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने ३९ वटा रहेका छन् ।
जिल्लाको सुरक्षा अवस्था कमजोर भइरहेको बेला चौतर्फी खुल्ला सीमा नाकाकै कारण आपराधिक गिरोहलाई अपराध सम्बन्धी गतिविधि गर्न अुनकुल हुने हुँदा मौकाको फाइदा उठाएर त्यस्ता गिरोहबाट अपराधका घटना बढ्दै गएको र नियन्त्रण गर्न आफूहरु क्रियाशील रहेको इप्रका काँकरभिट्टाका प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताए ।
झापाको मेचीनगर नगरपालिका तथा बाहुण्डागी, शान्तिनगर, बुधबारे, दुहागढी र धाइजन गाविस क्षेत्रमा यस्ता आपराधिक घटना वृद्धि भएका हुन् । अपराध न्यूनीकरणका लागि सो क्षेत्रमा इप्रका काँकरभिट्टाको मातहतमा एउटा इप्रका र ७ वटा प्रहरी चौकीहरु रहेका छन् ।
Filed Under: रिपोर्ट


0 comments
Trackback URL | Comments RSS Feed