मेचीनगरको वार्षिक बजेट रु.११,५६,२७,१५२|-
मेचीनगर अनलाइन
|
Tuesday, September 7, 2010
|
0 comments
इटाभट्टा, २२ भदौ / जिल्लाको कान्छो नगर मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०६७/०६८ का लागि ११ करोड ५६ लाख १७ हजार १ सय ५२ रुपैयाँको वार्षिक बजेट पारित गरेको छ ।
नगरपालिकाद्वारा सोमबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा कार्यकारी अधिकृत टिकादत्त राईले नगरको बजेट सार्वजनिक गरेका हुन् ।
गत आ.व. २०६६/०६७ को यथार्थ आयव्यय रु १० करोड ३५ लाख ११ हजार ७ सय ९० मा रु. १ करोड ९४ लाख ७२ हजार ८ सयको घाटा बजेट समावेशी गरी ११ करोड ५६ लाख २७ हजार १ सय ५२ रुपैयाँको नयाँ बजेट प्रस्तावित गरिएको अधिकृत राईले बताए । नयाँ बजेटमा चालु खर्चतर्फ २ करोड २९ लाख ३६ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ ९ करोड २६ लाख ९१ हजार १ सय ५२ रुपैयाँ रकम विनियोजन गरिएको छ
त्यस्तै, आयतर्फ आन्तरिक श्रोतबाट ६ करोड ४१ लाख ४४ हजार ९ सय ९९ रुपैयाँ र केन्द्रीय अनुदानबाट ४ करोड ८२ लाख ७२ हजार ८ सय रुपैयाँ जुटाइने प्रस्तावित बजेटमा उल्लेख छ ।
नगरपालिकाले स्थापनाको १४ वर्षपछि आवधिक योजना समेत तर्जुमा गर्दैछ भने यसै आर्थिक वर्षदेखि नगर विकासका नौला र राम्रा योजनाहरु लागू गर्ने जनाएको छ ।
शैक्षिक क्षेत्रतर्फ मेचीनगरका सामुदायिक माध्यमिक विद्यालयहरुबाट एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्र–छात्रालाई यसै आर्थिक वर्षदेखि पुरस्कृत गर्ने निर्णय गरेको कार्यकारी अधिकृत राईले जानकारी दिएका छन् ।
नगरभित्र सबैभन्दा बढी अंक ल्याउने एक जनालाई १० हजार, छात्रातर्फ बढी अंक ल्याउने एक जनालाई ७ हजार, आदिवासी जनजातिलाई ५ हजार र दलितलाई ५ हजार नगदै पुरस्कार दिइने भएको हो ।
नगरपालिकाले उच्च माविहरुमध्येबाट सर्वाेत्कृष्ट स्थान प्राप्त गर्ने एक विद्यार्थीलाई पनि १० हजार नगद पुरस्कार दिने भएको छ ।
यसै आर्थिक वर्षदेखि नपाले ५० हजारभन्दा माथिका प्रत्येक योजनाहरुको कूल लागत रकमबाट २ प्रतिशत रकम मर्मत सम्भार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
नगरलाई पर्यटकीय एवम् वातावरणीय दृष्टिले सुन्दर बनाउन यसै आवबाट नगरद्वारा निर्मित सडकका किनारमा वृक्षारोपण गर्ने, नगरपालिका भित्रको उत्कृष्ट टोल छनौट गरी वातावरण मैत्री टोलको रुपमा विकास गर्न नमुना कार्यक्रम लागू गर्ने र फोहोर गर्नेले नै सफा गर्न सहयोग गर्नु पर्छ भन्ने मान्यता अनुरुप बजार क्षेत्रका बासिन्दाबाट सरसफाई शुल्क असुल्ने नीति लिइएको कार्यकारी अधिकृत राईले बताए ।
धुलाबारी क्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि १० लाख ७५ हजार रुपैयाँमा धुलाबारी खानेपानी उपभोक्ता समितिसंग आव २०६७÷०६८ का लागि नगरपालिकाले साझेदारी कार्यक्रममा हस्ताक्षर गरेको छ । जसमा ९ लाख ५४ हजार नगरपालिकाले र १ लाख २१ हजार समितिले व्यहोर्ने भएका छन् ।
कार्यकारी अधिकृत राईकै सभापतित्वमा भएको समीक्षा गोष्ठीमा प्रमुख अतिथि एवम् एमाले जिल्ला अध्यक्ष रविन कोइराला, नेपाली कांग्रेसका नगर सभापति प्रेम सम्बाहाम्फे, पत्रकार महासंघका जिल्ला अध्यक्ष मोहन काजीलगायतले मन्तव्य राखेका थिए भने मोहन निरौला, सुकमाया लिम्बू, कृष्णप्रसाद उप्रेती, पुष्पराज पौडेल, विष्णु श्रेष्ठ, तेजप्रसाद चम्लागाई, माया गुरुङ, रुपनारायण भट्टराई, पुण्यप्रसाद खरेललगायतले समसामयिक टिप्पणी गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका अनुशासित एवम् उत्कृष्ट कर्मचारीको रुपमा जीवनाथ रेग्मी, अर्जुनकुमार थापा, शान्ता आचार्य, तुलबहादुर राजवंशी र चुन्नुकुमारी नेपाललाई पुरस्कृत गरिएको थियो ।
नपाका अनन्तप्रकाश वस्तीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed