मेचीनगरमा साना दलको गुनासो
मेचीनगर अनलाइन
|
Tuesday, September 7, 2010
|
0 comments
धुलाबारी, २२ भदौ / मेचीनगर नगरपालिकाले उपेक्षा गरेको भन्दै साना तीन दलले आपत्ति जनाएका छन् ।
नगरपालिकाको सोमबार आयोजित आ.व. २०६७/६८ को वार्षिक समीक्षा गोष्ठीमा आमन्त्रित तराई मधेश लोकतान्त्रिक पार्टी मेचीनगरका सभापति अशोक कामतलाई मञ्चमा आसनग्रहण नगराइएको कामतले बताए ।
कांग्रेस–एमाले लगायतका अन्य दलका नगर नेतृत्वलाई झंै नगरपालिकाले साना तथा मधेशी दलहरुप्रति समान व्यवहार कहिल्यै नगरेको मधेशी जनअधिकार फोरम संस्थापनका मेचीनगर अध्यक्ष भानु चौधरीले गुनासो गरेका छन् ।
तमलोपा र फोरम दुवै दल संविधानसभामा रहेका ठूला क्षेत्रीय राजनीतिक दल हुन् । ती दलहरुलाई जिल्ला, नगर र गाविस संयन्त्रमा प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था छ ।
‘मञ्चमा बस्न पाइएन वा भाषण गर्न दिइएन भन्नेमा हाम्रो गुनासो सीमित छैन’, फोरमका नगर अध्यक्ष चौधरीले भने – ‘साना भनेर हेपिएकोमा हाम्रो गम्भीर आपत्ति हो ।’
तमलोपाका सभापति कामतले नगरपालिकाले विभिन्न बैठक तथा गोष्ठीमा निम्तोपत्र पठाउँदा कहिले जनमोर्चा र कहिले जनशक्ति पार्टी भनेर गलत विवरण उल्लेख गर्ने गरेकोमा समेत आपत्ति जनाएका छन् ।
‘कांग्रेस, एमाले र माओवादी मात्र भए पुग्छ भन्ने सोचाई देखियो’, कामतले जन–संसद्सँग भने – ‘हामी पनि दलका नगर नेतृत्वमा छांै । यसरी बारम्बार अपमान गर्न मिल्दैन नि !’
सोमबार दिउँसो नगरपालिकामा आयोजित गोष्ठीमा अरु दललाई मञ्चमा निम्त्याइँदा आफ्नो दलको नाम नआएको जनाउँदै कामत गोष्ठी बीचैमा छाडेर बाहिरिएका थिए ।
कार्यक्रममा उद्घोषक रहेका अधिकृत दिपेन्द्र कार्कीले धेरैजसो दलका प्रमुखहरुलाई माइकबाटै सम्बोधन गरेर आसनग्रहणका लागि आग्रह गरेका थिए । तर, प्रमुख अतिथि एवम् पूर्व मेयर समेत रहेका एमाले जिल्ला अध्यक्ष रविन कोइराला, नेपाली कांग्रेसका सभापति प्रेम सम्बाहाम्फे, एकीकृत माओवादीका अध्यक्ष बुद्धिनाथ पौडेल, नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई र सद्भावना पार्टीका एक नगर नेता मात्र मञ्चमा बसेका थिए ।
राप्रपाका नगर अध्यक्ष गोविन्द ओली, एकीकृत माओवादीका नगर सेक्रेटरी वीरु श्रेष्ठ, नेकपा (माओवादी) का नगर सेक्रेटरी भोजराज कोइराला लगायत अन्य दलका नेताहरु उद्घोषकले आग्रह गरे पनि मञ्चमा गएनन् । सबैजनालाई मञ्चमा अट्ने स्थान पनि थिएन ।
बोल्ने क्रममा राप्रपाकी महिला नेतृ माया गुरुङले पनि नगरपालिकाले साना दलका नेताप्रति उपेक्षापूर्ण व्यवहार गर्ने गरेको आरोप लगाइन् । उनले कांग्रेस र एमालेका नेताको निर्देशनमा नगरपालिकाका कर्मचारी चल्ने गरेको र बजेट बाँडफाँडमा समेत साना दलको मागको सुनुवाई नभएको गुनासो गरेकी थिइन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed