नेपाली बोल्दा विद्यार्थीमाथि निर्घात कुटपिट
मेचीनगर अनलाइन
|
Sunday, September 5, 2010
|
0 comments
पाँचथर, २० भदौ सदरमुकाम फिदिमस्थित एक निजी विद्यालयका शिक्षकले नेपाली बोलेको निहँुमा एक छात्रालाई बेहोस हुनेगरी कुटेका छन् । स्कुलपरिसरमा ती छात्राले साना भाइबहिनीलाई नेपाली भाषाबाट बोलाएको भन्दै कुटपिट गरिएको हो ।
सदरमुकाम फिदिमबजारदेखि एक किलोमिटर दूरीमा रहेको फिदिम-२ स्थित शुक्रतारा बोर्डिङ स्कुल कक्षा-७ मा पढ्ने १३ वषर्ीया अस्मिता तुम्ब्रोक लिम्बू शिक्षक बुद्ध थाम्सुहाङले निर्घात कुटेपछि बेहास भएर ढलेकी थिइन् । उनी अहिले पनि ओछ्यानमै थला परेकी छन् ।सिवा-१ स्थायी घर भई हाल सदरमुकाममा परिवारसँग बस्दै आएकी तुम्ब्रोकले २ भदौको टिफिन समयमा सोही स्कुलमा पढ्ने भाइबहिनीलाई स्कुलपरिसरमा खाजा खुवाउने क्रममा नेपाली र लिम्बू भाषाबाट बोलाएकी हुन् । सो कुरा थाम्सुहाङले थाहा पाएपछि बाँसको लौरोले अस्मिताको खुट्टा, डाढ र शरीरको विभिन्न भागमा निलडाम हुनेगरी कुटेको कक्षा ७ मा पढ्ने प्रत्यक्षदर्शी एक छात्राले बताइन् ।
शिक्षकको कुटाइबाट बेहोस भएकी उनलाई तत्काल पाँचथर जिल्ला अस्पताल भर्ना गरिएको थियो । तर, अस्पतालले उपचार गर्न नसक्ने भन्दै बाहिर रिफर गरेपछि बोर्डिङ स्कुलका पि्रन्सिपल आफँले विराटनगरस्थित न्युरो अस्पताल लगी उपचार गरेका थिए । तीन दिन विराटनगरमा राखी घरमा ल्याइएकी छात्रा अझै स्कुल जान सक्ने अवस्था नरहेको उनकी आमा बिमला लिम्बूले नयाँ पत्रिकालाई जानकारी दिइन् । 'घरमै हिँडडुल गर्न सक्दिन,' लिम्बूले भनिन्, 'यस्तो मान्छे कसरी स्कुल जान सक्छे ।'
आक्रोशित अभिभावकले शिक्षकलाई कारबाही र पीडित छात्राको भरपर्दो उपचार हुनुपर्ने माग गर्दै स्कुल घेराउसमेत गरेका थिए । उता, बोर्डिङका पि्रन्सिपल नवीन ओझाले घटना सामान्य रहेको प्रतिक्रिया दिँदै पीडित छात्राको उपचारको जिम्मा स्कुलले लिएको र शिक्षकलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको बताएका छन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed